राष्ट्रिय जनमोर्चा फलेवास नगर कमिटी पर्वतका अध्यक्ष भरतकुमार श्रेष्ठ नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । रक्तिम सांस्कृतिक अभियानको केन्द्रिय कोषाध्यक्ष समेत रहेका श्रेष्ठलाई शुक्रबार समाजवादीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष मोती पौडेलले खादा र टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।
श्रेष्ठसँगै मोती कुँवर, नारायण कुँवर लगायतका नेताहरू पनि जनमोर्चा परित्याग गरि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई पार्टी प्रवेश गराई सदस्यता समेत प्रदान गरिएको थियो । केन्द्रिय सदस्य पौडेलले संविधानको रक्षा गर्दै देश र जनताको हितमा काम गर्ने अठोटका साथ एकीकृत समाजवादी जन्मिएकाले सबै बौद्धिक ब्यक्तित्वहरु एकीकृत समाजवादीमा आवद्ध हुने बताए । एकीकृत समाजवादी गण्डकी प्रदेश सदस्य तथा फलेवास नगरकमिटी अध्यक्ष कृष्णप्रसाद लम्सालले नवप्रवेशी सदस्यहरुलाई पार्टीले उचित जिम्मेवारी दिने बताए । नवप्रवेशी श्रेष्ठले एकीकृत समाजवादीका नीति, सिद्धान्त र कार्ययोजनाहरु उत्कृष्ट लागेको र देश विकास साथै संविधान र लोकतन्त्रको रक्षा गर्ने पार्टी समाजवादी भएकाले आफू लगायत अन्य साथीहरु यो पार्टीमा प्रवेश गरेको बताए । “अबको आफ्नो राजनीति समाजवादीमा रहेर समाजसेवा गर्ने धोका रहेको छ” श्रेष्ठले भने । अब देशलाई निकास दिने पार्टी भनेको एकीकृत समाजवादी भएकाले अन्य सहकर्मीलाई पनि एकीकृत समाजवादीमा लाग्न श्रेष्ठले अनुरोध गरे ।
एकीकृत समाजवादी फलेवास-६ देविस्थानका कार्यबाहक वडा कमिटी अध्यक्ष शिव श्रेष्ठको अध्यक्षतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रमको संचालन वडा कमिटी सचिव सुरज श्रेष्ठले गरेका थिए ।