सुनिल उलाक
साच्चै भनौ भने नेपाली कांग्रेस अहिले चारतारे झण्डामा रमिरहेको छ । तल माथि क्रान्तीको प्रतिक रातो रङ र बिचमा शान्तीको प्रतिक सेतो रङमा फेरी चार तारा पनि राखिएको थियो । यो झण्डा नेपाली राष्ट्रिय कांग्रेसको थिएन । राणाशासन बिरुद्ध क्रान्तीको घोषणा सहित राणाशासनकालमा जुद्धशम्शेरले भीमशम्शेरका तामाङ तिरका सन्तानलाई सि क्लासमा बिभाजन गराइ रोलक्रमबाट निष्काशित सुवर्णशम्शेर र महावीर शम्शेरको सक्रियतामा स्थापना गरिएको नेपाल प्रजातन्त्र कांग्रेसको झण्डा थियो । बि.सं. २००५ साल साउन १ गते केही जुझारु तर राणाशासनका बिरोधीहरुको सानो समुह कलकत्तामा रहेको टाइगर सिनेमा हलमा जम्मा भएका थिए । तिनमा प्रमुख थिए – सुवर्णशम्शेर, महावीरशम्शेर, सूर्यप्रसाद उपाध्याय, महेन्द्र बिक्रम शाह तथा राजेश्वरीप्रसाद उपाध्याय थिए । यो समुहको मुख्य उद्धेश्य नेपाली राष्ट्रिय कांग्रेससंग एकताबद्ध भइ अन्य राणाशासन बिरुद्ध लाग्नेहरुलाई पनि एकत्रित गर्ने थियो । तर २००५ साल कार्तिक २ गते अर्थात कोजाग्रत पूर्णिमाको दिन बिधिवत रुपमा पार्टीको घोषणा भयो र नाम राखियो – नेपाली प्रजातन्त्र कांग्रेस । बि.सं. २००५ पौष १५ गते यसको प्रथम अधिवेशन कलकत्तामा रहेको टाइगर सिनेमा हलमा सम्पन्न भयो । टाइगर सिनेमा हल वास्तवमा महावीरशम्शेरको नीजि सिनेमा हल थियो ।
यस पार्टीमा अगुवा रहेका सुवर्णशम्शेर तथा महावीर शम्शेर श्री ३ भीमशम्शेरका ल्याइते तिरका नातिहरु थिए । २००५ पौष १५ को महाधिवेशनले महेन्द्र बिक्रम शाहलाई सभापति, सूर्यप्रसाद उपाध्यायलाई महामन्त्री, राजेश्वरीप्रसाद उपाध्यायलाई कोषाध्यक्ष र प्रेमबहादुर कंसाकारलाई सहायक महामन्त्री चयन गरेको थियो । तथा सदस्यहरुमा सुवर्णशम्शेर, महावीरशम्शेर, सुन्दरराज चालिसे, लक्ष्मीदत्त उपाध्याय, भीमभक्तमानसिंह बस्नेत, आरबी गहतराज, श्रीमती माया शाह तथा बाबुलाल मोक्तान चयन भएको थियो ।
तर नेपाली राष्ट्रिय कांग्रेसको जन्म भने धेरै अगाडि नै भइसकेको थियो । बिसं २००३ कार्तिक १५ गते गठित अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस नै पछि माघ १२ र १३ गते कलकत्तामा भएको प्रथम महाधिवेशनले अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसलाई बिधिवत रुपमा नेपाली राष्ट्रिय कांग्रेस नामाकरण गरि गोपाल प्रसाद भट्टराई, देवब्रत परियार तथा डि. एन. प्रधानलाई झण्डा निर्माणको जिम्मा दिइएको थियो । अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको गठन भएको केही दिन पछि बनारसमा तैयार गरिएको झण्डामा गाढा रङमा तीनवटा सेतो तारा अंकित थियो । तर यस झण्डालाई स्विकार गरिएन । जसले गर्दा नयाँ झण्डाको प्रारुप तैयार भयो । यस आयताकार झण्डामा तीन बराबर भाग विभाजन गरिएको थियो । जसमा हिमाली क्षेत्रको प्रतिकात्मक रुपमा सबैभन्दा माथिल्लो भागलाई सेतो रङ बनाइएको थियो । बिचको भाग डाँडाकाँडा सहितको पहाडी भाग भएको हुँदा हरियो रङ बनाइएको थियो । भने तराइको उर्वर भूमीको प्रतिकात्मक रुपमा तलको भाग पहेंलो बनाइएको थियो । साथै नयाँ युगको आगमनको रुपमा हिमाली क्षेत्रमा उदाउँदो सूर्यको रुपमा माथिल्लो सेतो भागको बाँया तर्फ उदाइरहेको सूर्य अंकित गरिएको थियो ।
उता सुवर्ण शम्शेर सहितको नेपाल प्रजातन्त्र कांग्रेसको झण्डा भने आयताकारमा बिभाजित तीन बराबर भागमा माथिल्लो र तल्लोमा रातो रङ राखिएको थियो भने बिचको सेतो भागको बिचमा चार तारा बनाइएको थियो । यो चार तारा सम्बन्धमा दुइ किसिमको अभिमत छ । यसमा राखिएको चार तारा सुवर्ण कांग्रेसका चार हस्ती सुवर्ण, महावीर, महेन्द्र बिक्रम शाह तथा सूर्यप्रसाद उपाध्याय हुन भन्ने पनि तर्क दिनेहरु छन् ।
बि.सं. २००६ चैत्र २७ गते नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको संयुक्त सम्मेलन कलकत्तामा शुरु भयो । यो पटक पनि सम्मेलन महावीर शम्शेरको टाइगर सिनेमाहलमा नै भएको थियो । यहि सम्मेलनमा संयुक्त भइसकेपछिको नेपाली कांग्रेसको झण्डा कुन हुने भन्ने तय भएको थिएन ।तर अचानक बिपीले नेपाल प्रजातन्त्र कांग्रेसको झण्डा नै नेपाली कांग्रेसको झण्डाको प्रस्ताव राखे । अचानक आएको यो प्रस्तावले नेपाली राष्ट्रिय कांग्रेसका तर्फबाट सहभागीहरुमा हल्लाखल्ला मच्चियो । आखिर बिपीले किन सुवर्ण शम्शेरको कांग्रेसको झण्डालाई नै स्विकार्ने प्रस्ताव ल्याए भन्ने प्रश्न सबैले राखे । यसको जवाफमा बिपीले जे जवाफ दिए त्यो हास्यास्पद थियो । सुवर्णशम्शेरको झण्डा अपनाउनुको कारण बिपीले जे भने त्यसबेला त्यो भने केही अस्वभाविक तर्क लाग्दछ । सुवर्ण शम्शेरले एकता प्रयास अगाडि नै लाखौ रुपैया खर्चेर हजारौ चार तारे झण्डा बनाइसकेको हुँदा सुवर्ण शम्शेरको नेपाल प्रजातन्त्र कांग्रेसको झण्डालाई नै नेपाली राष्ट्रिय कांग्रेसले स्विकार्न बाध्य भएको हो ।