सपना क्षेत्री
“पञ्चासे सामाजिक उद्यमी महिला सहकारी”को साधारण सभा सम्पन्न भएको छ । “उद्यमी बनौं, उद्यम गरौं सहकारी मार्फत गरिवी निवारण गरौं” भन्ने नारालाई मूल मन्त्र मान्दै आएको सहकारीले आफ्नो सातौं साधारण सभा मोदी गाउँपालिका-८ चित्रेको तमु बहुउद्देश्यीय सामुदायिक भवनमा सम्पन्न गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मोदी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पौडेलले सामाजिक विकासमा सहकारीको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो “सहकारीले गाउँगाउँमा विकास र चेतना वृद्धिका लागि ठूलो भूमिका खेलेको छ । त्यसमा पनि महिलाहरुको सक्रियतामा खोलिएको यस “पञ्चासे सामाजिक उद्यमी महिला सहकारी”को भूमिका फरक रहेको छ ।” आगामी दिनमा अझै सक्रियताका साथ अगाडि बढ्न समेत पौडेलले आग्रह गर्नुभयो ।
विशिष्ट अतिथि इन्प्रेड नेपालका अधिकृत टुकप्रसाद शर्माले समाज रुपान्तरणका लागि महिलाहरुको भूमिका उल्लेखनीय रहेको बताउँदै अब देस बनाउने जिम्मेवारी आएको बताउनुभयो । सहकारीको अध्यक्ष सुशिलादेवी गुरुङ्ले दिनरात नभनी सहकारीलाई यो अवस्थामा ल्याइपुर्याएको र भोलिका दिनहरुमा गर्नुपर्ने काम अझै धेरै रहेकाले सबैले साथ र सहयोग गरिदिन आग्रह गर्नुभयो । २०६९ सालमा स्थापना भएको सहकारीको हाल १९० जना सेयर सदस्य रहेको जानकारी दिँदै महिला तथा दिदीबहिनीहरुको जीवन स्तर उकास्न विभिन्न कार्यक्रम समेत संचालन गरेको बताउँनुभयो । कार्यक्रममा वाड अध्यक्ष सुकबहादुर गुरुङ, वाड सचिव कमल पौडेल, संस्थाकी उपाध्यक्ष मीठु क्षेत्री लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो भने कार्यक्रममा स्थानीय कलाकारहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।
संस्थाकी अध्यक्ष सुशिलादेवी गुरुङको अध्यक्षता, मोदी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पौडेलको प्रमुख आतिथ्यता, संस्थाकी उपाध्यक्ष मीठु क्षेत्रीको स्वागत र संचालन सचिव सविना केसीले गर्नुभएको थियो ।