१५ चैत २०७९, बुधवार

बाबाको “दोसाँध” लोकार्पण !


कवि एवं गीतकार दुर्गाबहादुर शाह “बाबा” द्वारा रचना गरिएका कविताहरूको सँगालो “दोसाँध” पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षामा एक समारोहबिच नेपाली साहित्यका बहुप्रतिभाशाली व्यक्तित्व प्रकाश सायमीले लोकार्पण गरे ।
लोकार्पण कार्यक्रमका प्रमुख अतिथि प्रस्तोता, साहित्यकार एवं चलचित्र निर्देशक सायमीले कुनै पनि साहित्यिक कृति कुनै पनि पाठकका लागि सुन्दर हुन सक्छ र त्यो कृति निश्चित मापदण्डभित्र पर्नै पर्छ भन्ने हुँदैन भन्दै प्राज्ञिक समूहभित्र पर्न कविता लेखन अनिवार्य भएको बताए । हरेक स्रष्टा र कृतिका आ–आफ्नै पाठक हुने भएकाले कृति सर्वप्रिय हुनैपर्छ भन्ने मान्यतासमेत राख्न नहुने विचार व्यक्त गरे । पुरस्कृत कृति मात्रै सर्वोत्कृष्ट हुने र अन्य कृति निकृष्ट हुने धारणा पनि गलत हो भन्ने तर्क राख्दै उहाँले कविता सर्वाधिक लोकप्रिय साहित्यिक विधा हो भने ।
कार्यक्रमका विशिष्ट अतिथि उच्च अदातल कास्की,पोखराका मुख्य न्यायधिश डिल्लीराज आचार्य,अतिथि विम्बकवि रमेश श्रेष्ठ,प्रा।डा।रामनाथ ओझा,पद्म किरण रानालगायतले शुभकामनासहित आफ्नो मन्तव्य राखेका थिए ।

लोकार्पित कृति “दोसाँध” को समीक्षा रूपिन्द्र प्रभावीले गरेका थिए भने स्रष्टाको कृतिगत परिचय नगेन्द्रप्रसाद पौडेलले दिएका थिए। लीली अधिकारीले “दोसाँध”बाट आफूलाई मनपरेको एक कविता वाचन गरेकी थिइन् । कवि एवं गीतकार दुर्गाबहादुर शाह “बाबा” लाई सार्क राष्ट्रका महासचिवद्वारा पठाइएको शुभकामना पत्र समेत वाचन गरेर सुनाइएको थियो ।
स्रष्टा दुर्गाबहादुर शाह “बाबा”ले आफ्नो उपनाम “बाबा” को अर्थ फराकिलो सोंच,शैक्षिक,विश्वासयोग्य र उपलब्धिमूलक (Broad, Academic, Believable and Achievable) व्यक्ति भएको हो भनी स्पष्ट पार्दै आफूले लामो समयको अन्तरालपछि कवितागत दोस्रो कृति पाठकमाझ ल्याएको भए तापनि साहित्यका अन्य विधामा समेत कलम चलाउँदै आएको बताए । हालसम्म कविता र गीतका समेत गरी पाँचवटा कृति पाठक तथा दर्शकसामु पस्किसकेको बताउँदै आगामी दिनमा समेत यसलाई निरन्तरता दिँदै जाने बताए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,नेपाल गण्डकी प्रदेशको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता दुर्गा न्यौपाने र सञ्चालन असफल गौतमले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *