२३ जेठ २०८०, मंगलबार

माङ्गलिक योगको निवारण !

माङ्गलिक योगको दोष व्यहोर्नु नपरोस् भन्ने उद्देश्य लिएका वरबधू वा अभिभावकले यस्तो योग भएका व्यक्तिको विवाह त्यस्तै योग भएका व्यक्तिसित गरिदिनु नै यसको वास्तविक निदान हो । त्यस्तै माङ्गलिक योग भएका व्यक्तिहरू हठी, जिद्दी, अव्यवहारिक र एकोहोरा हुने सम्भावना हुन्छ । त्यसैले माङ्गलिक र गैरमाङ्गलिकका बीचमा विवाह हुने भएमा दुबैमा परिपक्वता आउनु अनिवार्य हुन्छ, त्यसैले मङ्गल ग्रहको कारक वर्ष २८ वा त्यसभन्दा बढी उमेरको नहुन्जेल विवाह नगर्नु पनि यस योगको दुष्प्रभावको निवारण गर्ने अर्को उपाय हो । तर कथंकदाचित्, माथिको प्रतिबन्ध हुँदाहुँदै कारणवश माङ्गलिक र अमाङ्गलिकका बीचमा विवाह भइहालेको परिस्थिति छ भनेमात्र यसको निवारणका लागि सुझाइएका अरु उपायहरूको अवलम्बन गर्नु पर्दछ ।

अहिले टाठाबाठाको समय छ, साँच्चिकै टाठो होस् वा नहोस् हिजोआज हरेक व्यक्ति मैले सबै बुझेको छु र जानेको छु भन्न छाड्दैन । त्यसैले कतिपय अभिभावक र गुरुपुरोहितले कुनै बालक वा बालिकाको कुण्डलीमा माङ्गलिक योग रहेछ भने विवाह हुनु कता हो कता ? विवाहयोग्य उमेर नै नपुगी माङ्गलिक शान्ति पनि गरेको देखिन्छ र सुन्न पाइन्छ । यसरी विवाह सम्पन्न भएर वा टुङ्गो लागेर दुबै वरबधूको कुण्डलीमा माङ्गलिक र अमाङ्गलिक अवस्था सिर्जना नहुन्जेल माङ्गलिक योगको शान्ति गर्नाले कुनै किसिमको लाभ हुन सक्दैन । त्यसो गर्नु भनेको टाउको भोलि दुख्छ, तर सिटामोलको ट्याब्लेट आजै खाएजस्तै हो । त्यसैले माङ्गलिक शान्ति कमसे कम विवाहको टुङ्गो लागेपछि वा विवाह भएपछि गरेको फलदायी हुन्छ । पुनश्च, माङ्गलिक निदानका लागि ज्योतिषीय प्रविधिको लेखाजोखा गरी हुन्छ हुँदैन टुङ्गो गरी विवाह गर्नु निदान हो, शान्तिद्वारा निदान गर्न खोज्नु केवल न्यूनीकरण हो भन्ने बुझ्नु पर्दछ । निदान भनेको रोगलाई जरैबाट उखेलेर फ्याल्नु हो भने न्यूनीकरण भनेको रोगलाई रोकथाम गर्नुमात्र हो । विपरीत ग्रहयोग वा महादशामा न्यूनीकृत दुष्प्रभाव बल्झने खतरा हरहमेशा विद्यमान नै रहन्छ भन्ने कुरा पनि बुझ्नु आवश्यक छ । यहाँ माङ्गलिक दोषको शान्ति हुने केही उपायहरू लेखिएका छन्, जसलाई अनुकूलता र इच्छानुसार प्रयोग गर्न सकिन्छ । विवाहको निधो भइसकेपछि विवाह हुनपूर्व माङ्गलिक योग भएको वर वा बधूले मङ्गल ग्रहको १० हजारको सङ्ख््यामा जाप र हवन गराउने अनि विवाहपछि सकेसम्म दुबै दम्पतीले एकसाथ, नत्र जसको कुण्डलीमा माङ्गलिक योग देखिएको छ, उसको जीवनसाथीले आजीवन मङ्गलबारको व्रत लिई गणेशजीको उपासना गर्ने, व्रत लिन असमर्थ व्यक्तिले लग्नअनुकूल भएमा मात्र कम्तीमा ८ क्यारेटको मुगा रत्न धारण गर्ने । माङ्गलिक योग भएका व्यक्तिको शमी विवाह, घट विवाह, अर्क विवाह आदि विवाह विवाहोपरान्त वा निधो भएपछि गोप्य रूपमा गरिदिने । प्रत्येक वर्ष दुबै दम्पतीले मङ्गलागौरीको उपासना र व्रत सम्पादन गर्ने । पुरुष जातकको माङ्गलिक योग भएमा उसले विवाहोपरान्त निरन्तर बिहिबार व्रत बसेर कात्यायनी भगवती वा बगलामुखी देवीको पूजा गर्ने तथा उसको लग्नअनुकूल रहेछ भने कम्तीमा पाँच क्यारेटको पुष्पराजको औंठी प्राणप्रतिष्ठा गराएर निरन्तर दाहिने हातको चोर औंलामा धारण गर्ने ।

स्त्री जातकले निरन्तर ज्येष्ठ महिनामा पर्ने बटसावित्री व्रत सम्पादन गरेमा पनि पतिको सुस्वास्थ्य र आयु पक्ष बलियो बनाउन सक्दछन् । दुबै दम्पतीले निरन्तर सोमबारको व्रत बस्ने र शिवजीलाई पञ्चामृतले स्नान गराउने । प्रत्येक वर्षको दुर्गापक्ष (चैते दशैं वा बडा दशैं) मा पतिको कुण्डलीमा माङ्गलिक योग भएको अवस्थामा पत्नीं मनोरमांदेहि मनोवृत्तानुसारिणीम् । तारिणीं दुर्गसंसारसागरस्य कुलोद्भवाम्।।  भन्ने मन्त्रले र पत्नीको कुण्डलीमा माङ्गलिक योग भएको अवस्थामा 

कात्यायनी महामाये महायोगिन्यधीश्वरी । 

नन्दगोपसुतं देवी पतिं मे कुरुते नमः।। 

भन्ने मन्त्रले दुर्गासप्तशती (चण्डी) को सम्पुट पाठ गर्नाले पनि माङ्गलिक योगको दुष्प्रभावको नाश हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *