३ चैत २०७९, शुक्रवार

माटेदेवल जनसहयोगी माविको ६२ औं वार्षिकोत्सब सम्पन्न !


फलेवास नगरपालिका-४ मुडिकुवा पर्वतको माटेदेवल जनसहयोगी प्राबिधिक तथा व्यवसायिक माविको ६२ औं वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । विविध शैक्षिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरि उत्सव सम्पन्न गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले २१ औं शताब्दी विज्ञान र प्रविधिको युग भएको बताए । “समयसापेक्ष शिक्षामा जोड दिनु अहिलेको आवस्यकता हो” अधिकारीले भने ।विद्यालयहरु भौतिक संरचनाले मात्र सम्पन्न हुँदैन, गुणस्तरीय शिक्षातर्फ ध्यान दिनुपर्दछ । प्रदेश सरकारले ११ वटै जिल्लामा नागरिकका मौलिक हकहरु सुनिश्चित गर्ने कामहरूलाई प्राथमिकता दिएको र शिक्षा, स्वास्थ्य, सडक, सिंचाई, विद्युत ,कृषि, पर्यटन लगायतका क्षेत्रमा उल्लेखनीय विकास भएको अधिकारीको भनाई रहेको थियो । फलेवास नगरपालिका प्रमुख पदमपाणि शर्माले नगरपालिका भरिका विद्यालयको शैक्षिक स्तर सुधारका लागि इसिडी कक्षाबाट नै अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने पद्धति लागु गरेको बताए । फलेवास नगरका प्रवक्ता तथा मुडिकुवाका वडा अध्यक्ष टिकाराम गौडेलले विद्यालयमा राजनीतिको रंग नमिसाई हाम्रोलाई भन्दा राम्रो शिक्षकलाई नियुक्ति गरि विद्यालयलाई नमुना र उत्कृष्ट बनाउनुपर्नेमा जोड दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद लम्सालले सबैको सहयोग र सहकार्यले विद्यालय नमुना बनाउन सफल भएको बताउँदै सबैलाई सकारात्मक सहयोगका लागि आग्रह गरे । देशमै नमुना बिद्यालयको रुपमा प्राबिधिक विषययर्फ कृषि अध्ययन हुने विद्यालय पछिल्लो समय सबैको रोजाईमा पर्न सफल भएको लम्सालको भनाइ रहेको थियो ।

विद्यालयको स्थापना कालमा छात्रबास तथा टहरा निर्माण गरि पठनपाठन सुरु गर्न श्रमदान गरि सहयोग गर्नुभएका स्वर्गीय व्यक्तिहरुको सम्मान स्वरुप विभिन्न व्यक्तहरुलाई मरणोपरान्त सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रअ रामप्रसाद रिजालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा विद्यार्थीहरुको सिकाइलाई समयसापेक्ष प्रविधिसँग जोड्नका लागि एक शिक्षक एक ल्यापटप अभियान अन्तर्गत शिक्षहरुलाई ल्यापटप हस्तान्तरण गरिएको थियो । प्राविधिकतर्फ उत्कृष्ट अंक ल्याउने कक्षा ९ का विद्यार्थीलाई लिलाधर गौडेलको परिवारले छात्रवृत्ति वितरण गरेका थिए साथै विद्यार्थीहरुलाई गजाधर स्मृति प्रतिष्ठान, स्वर्गीय रामचन्द्र गौडेल स्मृति पुरस्कार, देविदत्त बटुदेवी गौडेल स्मृति पुरस्कार, दुर्गादत्त हरिकला जैसी स्मृति पुरस्कार लगायतका पुरस्कार वितरण गरिएको कार्यक्रममा भुपु विद्यार्थी अर्जुन गौडेलले विद्यालयका शिक्षक तथा विभिन्न व्यक्तिहरुलाई दोसल्लाद्वारा सम्मान गरेका थिए ।
कार्यक्रममा विद्यालयका भुपु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनेश्वर रेग्मी, गहते अम्बोट आधारभुत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ कुँवर, विद्यालयका भुपु प्रअ रमाकन्त आत्रेय, भवानी विद्यापिठ माविका प्रअ अर्जुन कुमार रेग्मी, गहते अम्बोट आधारभूत विद्यालयका प्रअ ओमकार पौडेल, समाजसेवी कृष्ण गौडेल, गुगनाथ गौडेल रेग्मी, देविप्रसाद विलासी, मोती शर्मा घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रममा विद्यार्थीहरुले साहित्य रचना, नृत्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक अर्जुन क्षेत्रीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *