१७ चैत २०७९, शुक्रवार

माधवको त्यो रामवाण जसले सत्ताको भर्‍याङ चढ्नै लागेका ओली फेरि पछारिए !

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन भएपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को स्थिति टिठलाग्दो भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पास गरिदिने नाममा प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर आफूअनुकूलको सत्ता राजनीति चलाउने अन्तिम प्रयास गरे । तर, त्यो भताभुंग भएको छ । फलतः एकीकृत समाजवादी र माओवादीलाई सडकमा पुर्याउने योजना विफल हुँदा ओली आफैँ हारेको सेनाझैँ लम्पसार परेका छन् ।

उदाहरणका लागि, ओलीकै शब्दमा एउटा जुवाको खाल । चल्नुसम्मको दाऊ चलाएकै हो । तर, कुनै दाऊ आफू बाठो भएर, कुनै दाऊ अर्कोले संयमता अपनाउनाले बिग्रिए । जुवामा यसपछि चल्ने हो, च्याँखे दाऊ । त्यो पनि चलेन । त्यसैले अहिले ओली च्याँखे दाऊमा समेत केही सीप नचलेपछि रन्थनिएका छन् ।

देउवाको कानमा चिनी
फागुन १६ को समयसीमा तोकेर एमसीसी पारित गर्नैैपर्ने अमेरिकी सरकारको अनुरोध थियो । यो मिति नजिकिँदै गएपछि शुरु भएको ओलीका अनेकन भित्री रुपहरू अचम्मलाग्दा थिए ।

ओलीले यसबीचमा जे–जे तानाबाना बुन्न भ्याए, ती सन्दर्भमा आफूबाहेक अरु कसैलाई विश्वास गरेनन् । ओलीले दुई साताअघि नै फोन संवादका क्रममा देउवाको कानमा चिनी हाल्न भ्याएका थिए । उनले एमसीसी अनुमोदनकै सन्दर्भलाई लिएर भनेका थिए– ‘एमसीसीको कुरामा तपाईं किन धेरै भागदौड गर्नुहुन्छ ? केही गर्नै पर्दैन । सरकार तपाईंकै रहन्छ, साथ हामी दिउँला । तर, हाम्रा केही कुरा मानिदिनुपर्छ ।’

देउवालाई एमालेले एमसीसी पास गर्न सहयोग गर्दा पनि ‘सरकार आफ्नै रहन्छ’ भन्ने कुराले बढी नै उक्काएको थियो । ओलीले शुरुमा देउवालाई माओवादीप्रति वितृष्णा जगाएका थिए । भनेका थिए– ‘मैले प्रचण्डलाई तीनपल्ट झेलेको छु । ०७२ सालको सरकार बनाउँदा र ०७५ सालमा पार्टी एकता गरेपछि सबभन्दा बढी झेलेँ ।’ प्रचण्डबारे उनको दावी थियो– ‘जति गरे पनि चित्त बुझाउन नसकिने मान्छे हो ।’ यसरी फोन संवादका क्रममा एमालेबाट साथ मिल्ने, सरकार पनि आफ्नै रहने भएपछि देउवा सपत्नी बालकोट पुगेका हुन् ।

बालकोट भेटका क्रममा ओलीले देउवासँग एउटै माग गरे, सभामुख अग्नी सापकोटा हटाउनेबारे । ‘यति गर्नुस्, एमसीसी पास भयो भन्ने ठान्नुस्’, ओलीको अफर थियो । किनभने, त्यतिबेलासम्म माओवादी केन्द्र र एकीकृत समाजवादी सहमतिमा नआएका कारण उक्त एमसीसी सम्झौतालाई संसदमा टेबुल गर्न सकिएको थिएन । त्यसैले देउवाले बुझे सभामुख हटायो भने कम्तीमा टेबुल गर्न सकिन्छ ।

बालकोट जानुअघि देउवाले प्रचण्डलाई एमसीसीका विषयमा छलफल गर्न बालुवाटारमा बोलाएका थिए । एउटा भेटमा उनी एक्लै गए । उक्त भेटमा देउवाले भनेका थिए– ‘तपाईंहरूलाई अप्ठेरो छ भने चूप लागेर बस्नुस्, टेबुल गर्न दिनुस्, पास गर्ने काम म गरौँला ।’

प्रचण्डले त्यसो गर्दा पार्टी फुट्नेसम्मको खतरा देखेपछि अहिल्यै भन्न नसकिने बताएका थिए । त्यसपछि प्रधानमन्त्री देउवाले माधवकुमार नेपाललाई पनि बालुवाटार बोलाए । उनले पनि यथास्थितिमा टेबुल गर्न दिनु भनेको पास हुन दिनुजत्तिकै हुने कारण आफ्नो पार्टी त्यस्तो जोखिम मोल्न तयार नहुने बताए ।

बालकोट स्रोतका अनुसार ओलीले माधवकुमार नेपाल र प्रचण्डहरू अप्ठेरोमा झन्, अप्ठ्यारो पार्ने चरित्रका मान्छे हुन् भन्दै उनीहरूको साथ लागेर केही पार नलाग्ने कुरा देउवालाई सुनाएका थिए । ओलीको कुरा सुनेपछि देउवाले भने, ‘त्यसो भए उपाय चाहियो ।’

ओलीले सभामुखमात्रै हटाएपछि एमालेको तर्फबाट संसदको अवरोध खुल्ने र त्यसपछि सबै काम अगाडि बढ्ने बताए । देउवाको प्रश्न थियो– ‘तपाईंहरू माधव नेपाल सहित १४ सांसद हटाउने भन्नुहुन्थ्यो, अहिले सभामुखमात्रै भन्दै हुनुहुन्छ । त्यो (१४ सांसदको) कुरा मिल्छ र ?’ ओलीले भने– ‘१४ जनाको चिन्ता तपाईंले र मैले गर्ने होइन, भोलि आउने सभामुखले गर्ने हो ।’ अर्थात्, अग्नी सापकोटा सभामुख नरहेपछि अर्को सभामुख चयन नहुञ्जेलका लागि संसद बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने व्यवस्थाअनुसार महन्थ ठाकुर आउने भए । महन्थसँग एमालेको कुरा भइरहेकै छ । उनले १४ जनालाई संसद सदस्य नरहेको भनी सूचना टाँसिदिन्थे ।

स्रोतका अनुसार, बालकोट पुग्दा देउवा एमालेसँग लिखित सम्झौता गरेरै फर्किन चाहन्थे । तर, उनले माधव नेपालसहितका १४ जनालाई कारवाही गर्ने कुरामा सहमति जनाएनन् । ओली भन्दै थिए– ‘यो कुरामा अहिले जानै पर्र्दैन । पछि जे हुन्छ, हुन्छ । तपाईंलाई एमसीसी पास गर्नुछ भने सभामुख हटाउनेमा सहमति गरौँ न ।’ तर, ओलीको बाङ्गो चाला बुझेपछि ‘भोलि भेटौँ, भोलि–भोलि’ भन्दै देउवा बालकोटबाट निस्किएका थिए ।

प्रचण्डको अत्यास
एमाले सभामुख अग्नी सापकोटालाई महाभियोग लगाएर हटाउने शर्तसहित कांग्रेससँग मिल्न खोजेको सूचना पाएलगत्तै प्रचण्डले माधव नेपालसँग पनि सल्लाह नगरी दुईपटक केपी ओलीसँग भेट गरेका थिए ।

उक्त भेटमा सभामुखलक्षित शर्तले मुठभेड निम्त्याउने भन्दै प्रचण्डले कांग्रेसको भर परेर हैन, भोलिका चुनावी तालमेलहरू सम्झिएर चल्नका लागि अनुरोध गरेका थिए । ओलीले माधव नेपालसहित १४ जनालाई हटाएको सूचना टाँस्ने हो भने सभामुखको शर्त छाड्न सकिने बताएका थिए । तर, कुरा मिलेन ।

ओलीसँग प्रचण्डको पटक–पटकको संवादबारे थाहा पाएपछि माधव नेपालले फोनमा सोधे, ‘कुरा के हो ? केही नभनी जानुभयो नि ।’ प्रचण्डले सभामुखबारे ओलीले देउवासँग राखेको शर्तका विषयमा कुरा गर्न गएको सुनाए । उनले भने, ‘तपाईंसहित आउँछु भन्यो भने ओलीले टाइम दिँदैनन्, अनि एक्लै जानु परेन ?’

बालकोटबाट फर्किएको भोलिपल्ट देउवाले पाँच दलका शीर्ष नेतासँग गरेको छलफलका क्रममा एमसीसी पास गर्नका लागि कि मलाई एमालेसँग मिल्न दिनुस्, कि टेबुल गर्न दिनुस् भनेका थिए । अघिल्लो दिन बालकोटमा ओलीसँग भएको कुराकानीलाई आधा–आधामात्रै सुनाएका देउवाले उक्त छलफलका क्रममा भनेका थिए, ‘एमसीसी टेबुल गरौँ, पास, फेल जे हुन्छ, संसदमै हुन्छ । संसदले पास गरेन भने मेरो के लाग्छ ? हैन, भने एमालेले सभामुख हटाए पास गरिदिन्छु भनेको छ । म त्यतै जानुपर्छ ।’

चार दलका चिन्ता
देउवा एमालेसँग मिल्ने बाटोमा हिँडेपछि कसरी अगाडि बढ्ने भन्नेमा सत्ता गठबन्धनका चार दलबीच अलग्गै छलफल भयो । उक्त छलफलका क्रममा एमालेले विशेषतः एकीकृत समाजवादी र माओवादी केन्द्रलाई निशाना बनाउँदै गठबन्धन भत्काउन खोजेको र फेरि पनि ०७७ पुस ५ पछिको शैलीमा अगाडि बढ्ने नियत त्यसभित्र लुकेको विषयमा चर्चा भयो ।

त्यसैले निर्णय प्रक्रियामा बाहिरिएर वा विपक्षमा मतदान गर्ने गरी भए पनि देउवालाई एमसीसी टेबुल गर्न दिनुपर्ने स्थिति आएको प्रचण्डले भनेपछि जनमोर्चाबाहेक अरुले सहमति जनाए ।

यसपछि सबै दलले एमसीसी टेबुल गर्नेबारे आ–आफ्नो पार्टीमा छलफल गर्ने निर्णय गरेका थिए । सोही निर्णयका आधारमा शुरुमा एकीकृत समाजवादी र त्यसपछि माओवादी केन्द्रले विपक्षमा मतदान गर्ने गरी एमसीसी टेबुल हुन दिने निर्णय गरेका थिए ।

देउवाको दोस्रो दाउ
शुरुमा एमसीसी टेबुल हुन मात्रै दिनुपर्यो भन्ने प्रधानमन्त्री देउवा एमसीसी टेबुल भइसकेपछि अर्कै रुपमा प्रस्तुत भएको गठबन्धनका नेताहरू बताउँछन् । त्यसो हुनुको कारण हो, ओली आफैँ बालुवाटार पुगेर प्रधानमन्त्रीसँग गरेको कुराकानी ।

सत्तासाझेदार दलहरू एमसीसी टेबुल हुन दिने निर्णयमा पुगेपछि एमालेले नयाँ नीति लियो । बालुवाटार पुगेर ओलीले देउवालाई भनेका थिए– ‘चार दलले विपक्षमा मतदान गर्ने, हामीले उपस्थित जनाएर कतै पनि मतदान नगर्ने अवस्था भयो भने एमसीसी फेल हुन्छ । त्यसैले हामीसँगको कुरा टुंगो लगाउनुस् ।’

त्यसबेला देउवाले एक दिनको समय मागेर खबर गर्ने बताए । यद्यपि, भित्री रुपमा एमालेको तर्फबाट महासचिव शंकर पोखरेल र नेपाली कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्काले दुई दलको साझा समझदारी बनाइसकेको सूचना गठबन्धनका अन्य दलले पाएका थिए । त्यसलाई देउवाले गलत भनी गठबन्धनका नेताबीचको छलफलमा दाबी गरे ।

देउवा जसरी पनि एमसीसी पारित गर्ने दिशातर्फ लाग्ने, त्यसका लागि एमालेको साथ लिने स्थिति भएपछि पाँचदलीय गठबन्धन टुट्ने पक्कापक्की हुन पुग्यो । कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार, पहिलो नम्बरमा सभामुखविरुद्ध दर्ता हुने महाभियोग प्रस्ताव निर्णयार्थ प्रस्तुत गरी त्यही बैठकको दुईतिहाई बहुमतले पारित गरी महन्थ ठाकुरलाई संसद बैठकको अध्यक्षता गराउने र दोस्रो नम्बरमा १३ गते शुक्रबारको संसद बैठकबाट एमसीसी पारित गर्ने कुरा थियो ।

माधवको रामबाण
यो सूचना पाएपछि धनगढीबाट फर्किएर माधव नेपालले देउवालाई एकचोटिका लागि संसद बैठक स्थगित गराउन लगाए । शुरुमा नमानेका देउवाले गठबन्धन जोगाउने र राष्ट्रिय राजनीतिलाई नगिजोल्ने शर्तमा १३ गतेको बैठक १५ गतेलाई सार्ने अनुमति दिएका थिए ।

बैठक सरेपछि एमसीसीबारे अहमतिका बुँदालाई संसदमा व्याख्यात्मक घोषणाका रुपमा प्रस्तुत गर्ने र ती विषयको स्पष्टतासहित पारित गर्ने माधव नेपालको लाइनअनुसार माओवादी अगाडि बढ्न तयार भयो । अन्ततः त्यही रामबाण नै एमसीसी पारित हुने अस्त्र बन्यो । व्याख्यात्मक घोषणामार्फत एमसीसी अनुमोदन हुने स्थिति भएपछि एमालेले दुई हप्तादेखि लगाएको सम्पूर्ण बल खेर गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *