९ चैत २०७९, बिहिवार

मेरो सपनामा धौलागिरि गाउँपालिका !

अरुण श्रीपाली 

पोखराबाट बेनी र बेनीबाट दरबाङसम्म जाँदा सबकुरा ठिकै थियो । मैले बाटामा केही त्यस्तो नौलो कुरा देखिनँ । दरबाङ काटेपछि फेदी आयो, फेदीदेखि उकालो लाग्दै गर्दा मेरो आँखाले अचानक अनौठा चीजहरु देख्न थाल्यो। त्यो थियो मोटर बाटो कालोपत्रे भएको दुई लेनको बाटो । बेनीदेखि दरबाङसम्मको कच्ची बाटोले थकित बनाएको मेरो शरीरलाई कालोपत्रे गरेको बाटो देख्दा र त्यसैमा यात्रा गर्दा मलाई केही सकुन् मिले जस्तो भइरहेको थियो । हामी बिस्तारै बादीका उकालो चढ्दै थियौं । सरर हावा चलेको थियो गाडी कुदिरहेको थियो । अलि माथि आएपछि हामी बागराज थानको दर्शन गर्न भनी गाडी रोक्यौँ । त्यहाँ भव्य मन्दिर बनेको रहेछ । हामी बागराज थानको दर्शन गरेर अलि माथि पहिले पानीको धारा भएको ठाँउ नेर आएपछि केही अनौठा चीजहरू देखियो । त्यहाँ बडेमानको पंखा जस्तो चीज देखिएको थियो । नजिकै गएर हेरेको त त्यो हावाबाट चल्ने बिजुली पो रहेछ ।

अरुण श्रीपाली

आहा हाम्रो गाउँपालिका पनि विकासको गतितिर जाँदै रहेछ, अझै अघि बढ्दै जाँदा के के देख्न पाइन्छ होला ? भनेर मनमा बडो उत्सुकता जागिरहेको थियो । हावाबाट बिजुली चल्ने Air Electric Plant बाट हामी अलिकति उकालो लागेपछि बादीका उकालो सिद्धियो । त्यसपछि हामी सीधा बाटोमा प्रवेश गर्‍यौं । सीधा बाटो चाहिँ चार लेनको रहेछ, साइडमा बगैंचा, फुट्पाट, ट्राफिक चिन्ह लाइट, सडक बत्ती सहितको सुविधा सम्पन्न बाटो बनेको रहेछ । गाडी तेर्सो लाग्यो,  फेदी देखिको यात्रा बहुत आनन्दमय बन्दै गइरहेको थियो । जीवनमा त्यति खुसी सायद म कहिल्यै पनि भएको थिइनँ । मन फुरुङ्ग भएको थियो । पहिलो पटक साउदी जादा त्यहाँको बाटोघाटो देख्दा नेपालमा पनि यस्तै भइदिए हुन्थ्यो भनेर सोचेको मेरो सपना पूरा भएको जस्तो भइरहेको थियो । कति छिटो धारापानी गाउँमा पुगिएछ पत्तै भएन । घारापानी प्रवेश गर्ने बित्तिकै धारापानीको धारालाई कलात्मक ढंगले सिँगारिएको रहेछ । वरिपरि बगैंचा, ढुंगाबाट बनेको अति आकर्षित ढुँडहरुबाट पानी बगिरहेको देख्दा विकाससँंग सँगै कला र संस्कृतिको पनि जगेर्ना गरेकोमा धौलागिरि गाउँपालिकाका जनप्रतिनिधिहरुलाई मन मनै धन्यबाद दिएँ ।   तीनचार अञ्जुली पानी पिएँ र बगैंचा र धारा छेऊ बसेर केही थान फोटो खिचेपछि हामी धारापानी गाउँमा आयौँ । के गाउँ के सहर ! एका दुई घरहरु बाहेक सबै पक्की घरहरु बनिसकेका रहेछन् ।  मनमनै सोचेँ, ओहो यत्रो परिवर्तन भै सकेको रहेछ । दङ्ग पर्दै अझै अगाडि जादा अझै के के देख्न पाइने हो भनेर उत्सुक पनि भएको थिएँ ।

हामी धारापानी गाउँको इतिहासको बारे गन्थन गर्दै तल्लो दाचौरको ढिकमा आई पुग्यौं । मान्छेहरु बसेर आराम गर्न र धारापानी गाउँको अवलोकन गर्न मिल्ने गर View Point बनाइएको रहेछ। एकछिन त्यहाँ बसेर हामी अघि बढ्दै ताकम गाउँ प्रवेश गर्‍यौँ । अहो, ताकमको पनि पुरै स्वरूप परिवर्तन भएको रहेछ । सबै पक्कि घरहरु बनेका रहेछन् ।सोचेँ, ताकमलाई  पर्यटकीय हब बनाउनका लागि ताकमबासीले यसरी सिमेन्टको घर बनाउनुभन्दा बरु भक्तपुरतिर हुने पहिलेका मल्ल कालिन वास्तुकलाले सजिएका घरहरु बनाएको भए अझै सुन्दर देखिने मात्र होइन कला र संस्कृतिको जगेर्ना हुन्थ्यो । मन एक्कासी पारी कल्लेनिको भीरलाई सम्झयो । ताकमदेखि माफलाको धुरीसम्म केवलकार चलेको रहेछ । धुरीमा भव्य मन्दिर पनि बनाइएको रहेछ । ताकम बजारमा जतासुकै आन्तरिक तथा बाह्य पर्यटकहरु हातमा डिएसएलआर क्यामेरा बोकेर हिँडेका देखिन्थे । ठूलाठूला होटल रेस्टुरेन्टहरु पनि बनेका रहेछन् । ताकम गाउँलाई व्यवस्थित सहर बनाइएको रहेछ ।

हामी रत्नेगैरामा आयौ सुविधा सम्पन्न अस्पताल, विद्यालयमा टाई/सर्ट र टिलिक्क परेको जुत्ता लगाएका विद्यार्थीहरुलाई देख्दा मलाई आफ्नो बाल्यकालको याद आयोः आकासे कलरको फाटेको   कमिज, पछिबाट च्यातिएर चस्मा लगाएको जस्तो देखिने पाइन्ट लगाएर हामी स्कुल जान्थ्यौं । जमाना कति छिट्टै फेरिएछ भनेर एकछिन विगतलाई सम्झिएर भावुक हुँदै थिएँ, म ओर्लने ठाउँ पनि आएछ । गाडीको कण्डक्टरलाई गाडी रोक्न इसारा गरेँ । कण्डक्टरले ड्राइभरलाई गाडी रोक्न गाडी ध्याप्ध्याप्  गरें ।


गाडी रोकियो गाडीबाट झरेपछि घर जान केही बेर अल्मलिएको थिएँ । यतिकैमा एकजना काकाले मलाई देख्नु भो र भन्नुभयो- “बाबु तिमी त फलानाका छोरा हैनौ र ? साउदी गएर उतै जेल परेका छन् रे,  मृत्युदण्ड सुनाएको छ रे भन्ने खबर सुनेर दुःख लागेको थियो । खासमा के कारणले तिमी  जेल परेको थियौं र?” काकालाई मैले भनेँ- “मसँगै काम गर्ने बंगाली साथी दुई तलाबाट खसेर रगताम्य भएको थियो  मैले उसलाई बचाउन हर कोसिस गरेँ तर ऊ बाँच्न सकेन । दुर्घटनामा घाइते भएको मान्छेहरूलाई छुनु हुन्न रहेछ । केही गरि ऊ मर्‍यो भने साउदी अरबको कानुन अनुसार लासलाई छोएको मान्छेलाई मृत्यु दण्ड हुन्छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि किनकिन चुपचाप टुलुटुलु हेरेर बस्न सकिन म । उसलाई बचाउन धेरै कोसिस गरेँ तर बचाउन नसकेपछि साउदी प्रहरीको टोलीले लासको परिक्षण गर्दा मेरा ाष्लनभच देखाएछ । मलाई समातेर जेल लगियो । मलाई मृत्युदण्डको सजाय सुनाइयो । मृत्युदण्ड सुनाए पनि दस वर्षसम्म बाँच्न पाएँ । अनि अलिअस्ति साउदी अरबको राजाको डिसेम्बर ३१ को दिन जन्मदिन परेको र केही कैदीहरुलाई माफी दिने क्रममा भाग्यले मैले पनि माफ पाएकोले नेपाल आउन पाएको काका, नत्र त यो जुनीमा तपाईं र मेरो भेट हुँदैन थियो होला ।” यस्तैयस्तै गफ गर्दै अलि माथि आइएछ । काकाले “ल बाबु म घर तिर लागे भोलि तिर बसौला नि है” भन्दै आफ्नौ घरतिर लाग्नुभयो । जाँदै गर्दा उहाँले “ऊ त्यहा गएर बस, एकछिनमा नगर बस आउँछ र त्यसैमा घर जानू, उकालो धेरै छ” भन्नुभयो । मैले “हस्” भन्दै उहाँले देखाएको ठाउँमा गएर बसें । नभन्दै एकैछिनमा पहुलथोक, काथ्चौर भन्दै एउटा गाडी आयो । म त्यही गाडीमा बसें । गाडी ताकम बजारभन्दा माथिमाथि जाँदै थियो । जति माथि गयो ताकम बजार उति नै राम्रो देखिँदै थियो । पारी कल्लेनीको भीरमा सररर केबुलकार तलमाथि गरेको दृश्यले मनै लोभ्याएको थियो । माथिबाट हेर्दा चाक्ला बाटाहरु देखिन्थे । अग्लाअग्ला घरहरु देखिन्थे । गाडी त लोसेपाखामा आइपुगेछ । अनि मेरो नजर चिप्लेटीतिर गयो । चिप्लेटीमा पुरानो स्कुल भत्काएर दुई तले प्याराफिट सहितको भव्य स्टेडियम बनेको रहेछ । लोसे पाखाबाट गाडीले टर्निङ लियो । हल्का उकालो हुँदै मेरो घरतिर गाडी अघि बढ्यो । पुरै ताकम बजार छर्लङ्ग देखिएको थियो । हिलापोखरीदेखि पचमाने हुँदै भुइँपुज्नासम्म सहर बनेको रहेछ । ताकम बजार बहुत मनमोहक देखिएको थियो । त्यतिबेलासम्म गाडी मेरो घर नजिकै आइपुगेछ । गाडी रोक्न  भनेर भाडा तिरेर म गाडीबाट झरेर घरतिर लागेँ । छिमेकी सबैको पक्की घर बनेका रहेछन् । त्यहाँ त मेरो मात्रै पुरानो खरले छाएको घर थियो । खर पुरानो भएर कालो पनि भएको रहेछ । पानी नचुहियोस् भनेर होला प्लास्टिक र पालले छानो छोपिएको थियो । आमालाई कति खेर देख्न पाइएला भनेर बहुत उत्सुक हुँदै घरमा गएँ । घरमा ताला लागेको रहेछ । घर र पिँढी हेर्दा मान्छे नबसेको जस्तो देखिन्थ्यो । मन डराइरहेको थियो । मेरी आमालाई कतै केही त भएको होइन ? भनेर झोला फ्यात्त पिँढीमा फालेर हतारहतार छिमेकीको घरमा गएँ । छिमेकीहरुले “अहो अरुण पनि विदेशबाट आएछन्” भन्दै हल्लाखल्ला चल्न सुरु भयो । हालखबर सोधासोध भएपछि उहाँहरुले म जेल परेको कुरा निकाल्न खोज्नु भएको थियो । मैले त्यसको जवाफ नदिई आमाको बारेमा सोधेँ । गाउँलेहरुले भने-“तिम्री आमा ऊ त्यो देखिने परको घरमा बस्छिन् । छोराले साउदीमा मृत्युदण्ड पाएको भनेर एकल वृद्धको हेरचाह गर्ने योजना अनुसार गाउँपालिकाको सहयोगमा घर र बाचुञ्जेल निःशुल्क खाद्यान्न उपलब्ध गराइएको छ । अहिले तिम्री आमा त्यहीँ छन् होला ।” म हतारहतार आमा भएको घरमा गएँ । बिचरी आमा त बुढी हुनुभएको रहेछ । कपाल सेतै फुलेका, गाला चाउरी परेका, आँखा पनि बसि सकेको रहेछ क्यारे, मलाई चिन्नसक्नु भएन । म गएर आमालाई ढोगेँ अनि भनेँ “म तपाईंको छोरा अरुण, चिन्नु भो?” आमा भक्कानिँदै मलाई अँगालोमा हालेर रुन थाल्नुभयो । “मेरो बाबु, मेरो छोरा बाँचेर आयौ मेरो मुटुको टुक्रा” भन्दै आमा रोएको देख्दा मैले पनि आँसु थाम्नै सकिनँ । आमा छोरा धेरैबेर रोयौँ । केही समयपछि भित्र पस्याँँ । आमाले खाना पकाउन थाल्नु भयो । मैले एक गिलास पानी पिएर पुरानो घरमा छोडेको झोला लिन जाने बेला मनमनै भोलि छिवाङ, मच्छिम, मुना, लुलाङ, लम्सुङ, गुर्जा, मुदी घुम्न जाने योजना बनाएँ । क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *