१५ चैत २०७९, बुधवार

शिक्षित युवा म्यादी प्रहरीमा !

 राखु पिप्लेकी सम्झना मल्ल बेनी बजारमा बस्छिन् । प्लस टु पास गरेकी उनी जापान जाने तयारीमा छन् । बेनी बजारको एक भाषा कक्षामा बिहानी कक्षमा जापानिज भाषा अध्ययन गर्दै गरेकी उनको ध्यान आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि खोलिएको म्यादी प्रहरीको सूचनाले तानेको छ । जागीर खाने रहर भएर पनि अहिलेसम्म उनले कुनै जागीर खाएकी छैनन् । हुनत बेनी बजार त्यसैपनि सानो छ, भनेको बेलामा जागीर पाउनै मुश्किल । अनुभव बटुल्न र खाली समय सदुपयोग गर्नका लागि पनि उनी भर्ना हुन चाहान्छिन् । “घरको आर्थिक अवस्था मध्यम भएको र जापानमा नाम ननिस्किञ्जेलको खाली समयलाई सदुपयोग गर्नका लागि भर्ना हुन आएकी हुँ” आगामी स्थानीय तह निर्वाचन २०७९ को म्याग्दीमा भर्ना हुने म्यादी प्रहरीमा आवेदन दिन आइतबार जिल्ला प्रहरी कार्यालय परिसरमा भेटिएकी मल्लले भनिन् । “उमेर बढ्दै गएपछि जिम्मेवारी पनि बढ्ने रहेछ । खाली समय केही कमाएर घरमा सहयोग गर्न चाहान्छु । थोरै भएपनि बाबुआमालाई आर्थिक सहयोग होस् भनेर यता आएकी हुँ” उनले भनिन् । म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक द्वितीय वर्षमा अध्ययनरत जीवन विकलाई पनि यतिखेर कामको आवस्यकता छ । घरमा बाबुआमाले ज्याला मजदुरी गरेर पठाएको पैसाले बजार बसेर पढ्न उनलाई गाह्रो भएको छ । बेनी बजार बस्ने भएपछि पैसा चाहिने भएकाले पढाईसँगसँगै अन्य काम गर्नुपर्ने बाध्यता उनीसँग छ । “नाम निस्किनु ननिस्किनु आफ्नो ठाउँमा छ तर पनि यसपटक म्यादीमा भर्ना हुने विचार गरेँ” प्रहरी परिसरकै लाइनमा उभिएका २१ वर्षीय जीवनले भने । “अन्यत्र जागीर नभेटेपछि म यहाँ आएको हुँ । पहुँच र आफन्त छन् भने जुनसुकै समयमा पनि जागिर पाइन्छ नत्र निकै गाह्रो रहेछ” हाँस्दै जीवनले बताए । उनी हाँस्दै गर्दा उनको पीडा भने निधारमा टिलपिलाएको पसिनाले ब्यक्त गरिरहेको थियो ।  सम्झना र जीवन प्रतिनिधि पात्रहरु मात्र हुन् । बैशाख ३० गते हुने भनिएको चुनावका लागि म्यादी प्रहरीमा धेरै शिक्षित तर बेरोजगार युवाहरु सहभागी हुँदैछन् । कोही रहर त कोही बाध्यतावश भर्ना हुन आएका युवाहरुले चुनावलाई ब्यवस्थित गर्ने मात्र होइन सुरक्षा पनि प्रदान गर्नेछन् । चैत ६ गतेदेखि सुरु भएको आवेदन संकलनका क्रममा दुई दिनमा नै साढे ५ सय बढीले म्यादी प्रहरीमा भर्ना हुनको लागि आवेदन दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा कुल ६५३ जना म्यादी प्रहरी भर्ना हुने भएपनि आवेदककोे संख्या अत्यन्त्यै बढी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले जानकारी दिनुभयो । राईका अनुसार, सार्वजनिक बिदा बाहेक यही चैत ६ देखि ११ गतेसम्म भर्नाका लागि दरखास्त दिन सकिनेछ ।दरखास्तका लागि नेपाली नागरिक भएको, नैतिक पतन देखिने फौजदारी अभियोग नलागेका, कसुरदार ठहर नभएका, शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त, साधारण लेखपढ गर्न जान्ने तथा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को अनुसूची ३ मा उल्लेख भए बमोजिमको हुनुपर्ने उल्लेख छ । मुख्यगरी सुरक्षा निकायमा गत साउनदेखि विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीणर् भई प्रवेशपत्रको प्रतिलिपि पेस गर्ने, पूर्वसुरक्षाकर्मी तथा पूर्वबनरक्षक, विगतका निर्वाचनमा म्यादी प्रहरीको रुपमा भर्ना भई सन्तोषजनक कार्य गरेकालाई प्राथमिकता दिइने भएको छ । म्यादी प्रहरीको कार्यावधि ४० दिनको हुनेछ । उनीहरुलाई जम्मा तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्नबापतको एकमुष्ट सात हजार २०० र अन्य पोसाक तथा सामान खरिद गर्नेगरी प्रतिव्यक्ति ६ हजार रुपैयाँ उपलब्ध गराइने छ । आवेदन दिएकाहरु मध्येबाट छनौट भएकाहरुलाई आवस्यक तालिम र प्रशिक्षण दिएर निर्वाचन सुरक्षा प्रयोजनका लागि खटाइने जनाइएको छ । म्यादी प्रहरीमा एक लाख भर्ना गरिने बताइएको छ । बुलबुल साप्ताहिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *