१२ असार २०७९, आइतवार

शैक्षिक थलोमा दलितमाथि विभेद !

अशोक विश्वकर्मा, पर्वत
कानुनतः बन्देज गरिएको जातीय भेदभाव अझै पनि ब्यवहारबाट भने हट्न सकेको छैन । दलित समुदायमाथि वषौँदेखि हुँदै आएको उत्पिडन हटाउन पुराना पुस्तालाई बाधक देखाउने गरिएता पनि पछिल्लो र शिक्षित पुस्तामा पनि विभेदकारी मानसिकता हाबी भएको देखिन्छ । यसको गतिलो उदाहरण हो पर्वत जिल्लाको महाशिला गाउँपालिका-४ मा रहेको स्वधर्म माध्यामिक विद्यालयको प्रध्यानाध्यापक नियुक्तिको प्रक्रिया ।

शिक्षा नियामावली अनुसार विद्यालयका प्रधानाध्यापक हुन योग्य शिक्षक दलित भएकै कारण यहाँ अवसरबाट बञ्चित गराइएको पाइएको छ । प्रध्यानाध्यापक पद रिक्त भएको खण्डमा मावि तहका स्थायी शिक्षकलाई निमित्त प्रअको जिम्मेवारी दिनुपर्ने नियमावलीमा उल्लेख छ । यो विद्यालयमा कार्यरत एक मात्र स्थायी मावि तहका शिक्षक लालबहादुर विकलाई अवसरबाट बञ्चित गराएर राहत कोटामा कार्यरत शिक्षक शेषकान्त शर्मालाई जिम्मेवारी प्रदान गरिएको छ ।

आफुमा सबै योग्यता हुँदासमेत अवसरबाट बञ्चित गराउनुलाई शिक्षक विकले दलित समुदायमाथि गरिएको अन्यायका रूपमा बुझेका छन् । ‘मैले यहाँ निकै अपमान सहेर काम गर्नु परेको छ ।’ शिक्षक विकले भने, ‘एउटा समुदायको प्रतिनिधिले जातीयताकै आधारमा कहिलेसम्म अन्याय सहनुपर्ने ?’ अवसरबाट बञ्चित हुनुपरेको गुनासो गर्दै विकले विद्यालयमा कार्यरत शिक्षकहरूको ब्यवहार समेत आफूमाथि समान नभएको जानकारी दिए ।

प्रधानाध्यापक नियुक्तिका विषयलाई लिएर गाउँपालिकाका शिक्षा शाखा र अख्तियारसम्म पुगेका विकले न्यायको महसूस गर्न पाएका छैनन् । अख्तियारले समेत अवैधानिक रूपमा प्रअ नियुक्त गरिएकाले तत्काल विकलाई जिम्मेवारी दिन परिपत्र गरेको छ तर गाउँपालिका र विद्यालयसँग सरोकार राख्ने ब्यक्तिहरूले अटेर गर्दै आएका छन् । विद्यालय ब्यवस्थापन समिति गठनलाई पुर्णता नदिने र निमित्तको जिम्मेवारी दिन समितिले पुर्णता पाउनुपर्ने भन्दै शिक्षक विकलाई शिक्षा शाखाले बताउँदै आएको छ । यता पीडित विकले भने अपुर्ण विब्यसले राहत कोटाका शिक्षकलाई ‘निमित्त’को जिम्मेवारी दिन मिल्ने तर आफ्नो हकमा समिति पुर्ण हुनुपर्ने आश्वासनले सम्बन्धित निकायमा एकल जातीय प्रभाव देखिएको बताउँछन् ।

शिक्षा शाखाका प्रमुख दिनेश शर्माले भने शिक्षक विकलाई जातीय कारणले अवसरबाट बञ्चित गराइएको भन्ने आधार नभएको जिकिर गरे । उनले लामो समयदेखि कार्यरत शिक्षकलाई ‘निमित्त’को जिम्मेवारी दिइएको जानकारी प्राप्त गरेको बताउँदै शिक्षा शाखाले चासो दिइरहेको बताए । उनले विद्यालय ब्यवस्थापन समिति गठनलाई पुर्णता दिएर प्रअको नियुक्ति गर्न परिपत्र भइसकेको जानकारी दिए । शर्माका अनुसार विद्यालयमा प्रअ नियुक्त नहुँदासम्मका लागि विद्यालयका खाता बन्द गर्ने निर्णयसमेत भएको खुलासा गरे ।

अवैध रूपमा निमित्त प्रअको जिम्मेवारी सम्हालेका शर्मा जिल्लाकै फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माका भाइसमेत हुन् । एमालेनिकट नगरप्रमुखले विद्यालयमा भएको अवैधानिक निर्णयका विरुद्धमा समाचार लेख्ने पत्रकारहरूलाई समाचार नलेख्न र प्रकाशित सामाग्री हटाउन दबाब दिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published.