८ जेठ २०८०, सोमवार

अभावको जिन्दगी बाँचेकी लालमाया !


अमित बिश्वकर्मा

ढुंगा र काठले बनेको एउटा निकै पुरानो घर, झयालहरु बिहिन उडाङगो बस्नै नमिल्ने तला, नपोतिएका भित्ता संगै ढुङगाको गारो, सानो पिढी, अनि घरभित्र पस्ने मुल ढोका नजिकै झुन्ड्याइएका फाटेका अनि मैलो बनेका कपडाहरु । 
म्याग्दीको धवलागिरी गाउँपालिका ५ भेडिखाल्टाकी लालमायाँ बिश्वकर्मा आफ्नो ५ जनाको परिवार सहित बस्ने घर हो यो । लालमाया उमेरले ३५ बर्षको हुनुभयो । जन्मिदै शारीरिक रुपमा अशक्त उहाँको जीवन अभावै अभावमा बितेको छ । 
आफु कमजोर भएपछि लालमायालाई परिवारले रघुगंगा गाउँपालिका ८ कुइनेखानी निवासी बसविर बिश्वकर्मा संग विवाह गराईदिए । श्रीमान वसविर उहाँ भन्दा दोब्बर उमेरले जेठो हुनुहुन्छ । हाल बसविर ७४ बर्ष पुग्नुभयो । १८ बर्षकै कलिलो उमेर विवाह गर्नु भएकी लाममायाका ४ वटा सन्तान छन् । 
३ छोरा र १ छोरीलाई जन्म दिएकी लालमाया आँखा कम देख्नुहुन्छ, जसका कारण खेतबारीको काम गर्न त परको कुरा भयो हिँडडुल गर्न समेत उहाँलाई समस्या हुने गरेको छ । ७४ बर्षका श्रीमानसंग दु:खी जीवन बिताईरहेका लालमायाको परिवार १२ बर्ष अघिनै कुईनेखानीेबाट भेडिखाल्टा आएर बस्न थालेको हो । 


अहिले लालमायाको परिवार बस्ने घर उहाँको माइती ( कान्छा बुवा) को हो । माइतीले बस्न दिएको त्यही पुरानो भत्किनै लागेको घरबाहेक लालमाया र बसविरको परिवारको अरु केही पनि छैन । 
साहुको मेलापात गर्दै जीवनयापन गर्ने बसविरको परिवारमा अर्को बज्रपात आइपर्‍यो, तिन बर्ष अगाडि काम गर्ने क्रममा बसविरको दाहिने आँखामा ढुङगा पर्‍यो । आर्थिक अभावका कारण समयमै अस्पताल पुग्न नसक्दा उहाँको एउटा आँखाको ज्योति गुमेको छ । अर्को आँखा पनि कम देख्ने ७४ बर्षका बसविरले घरभित्रका सामान्य कामधन्दा पनि मुस्किलले गर्नुहुन्छ । 
‘कुइनेखानीमा भएको सानो बास पनि भत्किसकेको छ । त्यहाँ भएको थोरै जग्गा जमिन पनि पहिरोले लगिदियो अहिले न वस्ने बास छ न खेतीपाति गरेर खाने जग्गा जमिन छ’ बसविरले भन्नुभयो, “माइतीको घरमा बसेको छु, काम गरेर खाने उमेर गयो, न आँखा देख्न सक्छु,बच्चा साना छन निकै दुखका दिन काटेको छु” ।  

 जेठो छोरा सुविन्द्र १५ बर्षका भए, हाल उनलाई काठमाडौँको एक संस्थाले निशुल्क रुपमा पढाईदिएको छ । सुविन्द्रले कक्षा ६ मा अध्ययन गर्दै छन् ।  माइलो छोरा राजेन्द्र ११ बर्षको छन, स्थानीय जनज्योति आधारभूत बिद्यालयमा कक्षा ४ मा पढ्दापढ्दै राजेन्द्रले स्कुल जान छोडेका छन्।
 घरको आर्थिक अबस्था कमजोर भएको र कापी, कलम तथा पोसाक व्यवस्था गर्न नसकेपछि राजेन्द्रले स्कुल जान छोडेर छिमेकमा आफुले सक्ने काम गर्न थालेका छन । शुक्रबार जनसन्देश अनलाईनको टिम त्यहाँ पुग्दा राजेन्द्र दिनको ५० रुपैयाँ पाउने गरि पाखामा बाख्रा चराउँदै थिए । 
लालमायाकी १० बर्षिय छोरी शुशिलालाई पनि पढ्ने निकै रुचि छ । उहाँको कान्छो छोरा तेजिन्द्र भने भर्खर २ बर्ष भएका छन । लालमाया र बसवीरको परिवारको आम्दानीको श्रोत भनेको नेपाल सरकारले उपलव्ध गराउने बृद्धा भत्ता हो ।
 श्रीमानले पाउने मासिक चार हजार भत्ताबाटै चामल, नुनतेल खाने तथा औसधिउपचार गर्ने गरिएको लालमायाँले बताउनुभयो । ‘छोराछोरी साना छन, बुढा ७४ बर्ष पुग्नुभयो, काम गर्न सक्नुहुन्न म पनि कमजोरी छु, लाउने खाने देखि लिएर पढाउन पनि धरै समस्या भएको छ’ लालमायाले भन्नुभयो, “ कपडा त मोगेर लगाउँछौ, बरु कुनै छाक भोकै बस्छौँ, छोराछोरीको पढाईका लागि कसैले सहयोग गरिदिए हुन्थ्यो।”

बसविरलाई आफू जन्मेको हुर्केको ठाउँ कुइनेखानी गएर बस्ने निकै ठुलो इच्छा छ । कसैको सहयोगमा कुईनेखानीमा सानो घर बनाईदिए उतै गएर बाँकी जीवन बिताउने धोका छ, बसविरले भन्नुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *