नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन दक्षिणपन्थी अवसरवाद विरुद्ध भएको बताएका छन् । साथै आफ्नो लडाइँ केपी ओलीको प्रवृत्ति विरुद्ध रहेको बताएका छन् । सोमबार बागलुङमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेपालले यस्तो बताउनु भएको हो । आसन्न निर्वाचनमा गठबन्धन मार्फत निरंकुशतन्त्र पराजित गर्ने लक्षमा रहेको बताउनु भयो ।
नेपाललले आफूहरुले जित्न र केपी प्रवृत्ति हराउन पनि गठबन्धन आवश्यक परेको बताउनु भयो । नेपालले जनमतको कदर नगर्ने, एकपटक नभइ दुइपटक सम्म संसद भंग गर्ने र अदालतको आदेश समेत नमान्ने नेता निरंकुशवादी र अराजक भएको टिप्पणी गर्नुभयो । केपी ओली चाकरीबाजहरुको कोटरीमा रमाउने नेता भएको आरोप लगाउनु भयो । बयलगाढा चढेर अमेरिका पुग्न सकिंदैन भन्ने केपीबाट संविधान र गणतन्त्रको रक्षा समेत संभव नभएको नेता नेपालको भनाई छ । पटक पटक संविधान असफल पार्ने ओलीको प्रयासबाट उनको प्रवृत्ति उदांगो भएको भन्दै अझैपनि ओलीलाई सत्तामा ल्याए देश बर्बाद हुने बताउनु भयो ।
कार्यक्रममा एकीकृत समाजवादी गण्डकी प्रदेशका उपाध्यक्ष श्रीनाथ बराल, एकीकृत समाजवादी म्याग्दीका अध्यक्ष कृष्ण कुमार विक ,एकीकृत समाजवादी बागलुङका ईन्चार्ज श्रीप्रसाद शर्मा लगायतका वक्ताहरूले धारणा राखेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी बागलुङ जिल्ला कमिटीका अध्यक्ष लालबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम संचालन सचिव भरत पुरीले गर्नु भएको थियो । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजनीति पार्टीका नेताहरूको दौडधुप तिब्रगतिमा चलिरहेको छ ।