नेकपा एकीकृत समाजवादीको तर्फबाट फलेवास नगरपालिका-४, मुडिकुवाको वाड अध्यक्षमा लोकनाथ भुसाल “घायलश्री” चयन भएका छन् । आज बसेको नगर कमिटीको बैठकले घायलश्रीलाई पार्टीको तर्फवाट वाड अध्यक्षमा सिफारिस गरेको हो ।
त्यसैगरी पार्टीको तर्फबाट सदस्यहरुमा काशिराम गौडेल, कमला कुवँर, टिकाराम नेपाली र कुमारी नेपाली चयन भएका छन् । बैठकलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला अध्यक्ष मोतीप्रसाद पौडेलले पार्टीका तर्फबाट उम्मेद्वारको रुपमा अगाडि सारिएका सदस्यहरुलाई पार्टीको नीति र अनुशासनमा रहेर काम गर्न निर्देशन दिनुभयो । पौडेलले भन्नुभयो “पार्टीको नीति र नियमको पालना गर्दै जनताको सेवामा निरन्तर लाग्नुहुनेछ भन्नेमा पार्टी र सम्पूर्ण पार्टी सदस्यहरुको बिश्वास रहेको छ ।” साथै गठबन्धका विषयहरुमा आफ्नो पार्टी सबै विकल्पहरुमा समेत खुला रहेको समेत पौडेलले जानकारी दिनुभयो । फलेवास नगरकमिटी अध्यक्ष कृष्णप्रसाद लम्सालले गठबन्धनको मर्म र औचित्य अनुसार नै आफूहरु अगाडि बढ्ने भएको हुँदा गठबन्धन गर्ने कुरामा एकीकृत समाजवादीबाट धोका हुने कुरा सोच्न पनि नसकिने बताउँनुभयो ।
प्रदेस सदस्य चिरञ्जीवि शर्मा, छवि गौडेल, जिल्ला सचिवालय सदस्य रामेश्वर गौतम, फलेवास नगरपालिका-६ देविस्थानका कमिटी सचिव सुरजकुमार श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।
जिल्ला अध्यक्ष मोती पौडेलको प्रमुख आतिथ्यता, नगर अध्यक्ष कृष्णप्रसाद लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नगर सचिव विष्णु रिजालले गर्नुभएको थियो ।