आइतबार कांग्रेस नेतृत्वमा सत्ता गठबन्धनले जिल्लामा पनि मिलेर निर्वाचनमा जाने सार्वजनिक गरेपछि एमाले बागलुङले बाम गठबन्धनको संभावना कायम रहेको बताएको छ । सत्ता गठबन्धनबिपरित बागलुङमा भने बाम गठबन्धन गरेर जानेमा एमालेका नेताहरुले सक्रियता समेत देखाएका हुन् ।
सोमबार पत्रकार सम्मेलन गरेर एमाले अध्यक्ष हिराबहादुर केसीले अहिले सम्मको चलनअनुसार बाम गठबन्धनकै संभावना रहेको बताए । ‘अहिले सम्मको अभ्यास पनि बाम गठबन्धनकै हो, अब पनि त्यही दिशामा काम भैरहेको छ’ केसीले भने, ‘स्थानीय कार्यकर्ताको पनि त्यस्तै चाहना छ ।’ बामपन्थी शक्तीहरुमा यो छलफल भैरहेको समेत उनले बताए ।
आइतबार भएको एमालेको बैठकपछि पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराइएको हो । आसन्न बैसाख ३० को निर्वाचनका लागि अध्यक्ष केसीकै संयोजकत्वमा ५ हजार ५ सय ५५ सदस्य रहेको मुल निर्वाचन परिचालन कमिटि गठन गरेको पार्टी सचिव बिष्णु भूषालले जानकारी दिए ।
सचिव भुषालकै संयोजकत्वमा १० वटै पालिकाका कमिटि अध्यक्ष रहने गरी संयोजन समिति गठन भएको समेत बताइएको छ । प्रचार बिभाग प्रमुख चन्द्रप्रकाश पौडेलको संयोजकत्वमा ५ सय १ सदस्य रहेको प्रचार प्रसार उपसमिति गठन भएको समेत बताइएको छ । बैठकले निर्वाचन परिचालनलाई प्रभावकारी बनाएर आफ्नो पक्षमा निर्वाचन परिणाम ल्याउने गरी काम थाल्ने निर्ण गरेको छ ।