खेम भण्डारी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बीच २०७४ सालको चुनावी गठबन्धन र तत्पश्चातको पार्टी एकीकरण ऐतिहासिक परिघटना थियो । एकीकरणले ४ दशकदेखि छिन्नभिन्न भएको कम्युनिट आन्दोलन एकसूत्रमा बाँधिएर अगाडि बढ्ने सम्भावनाका सबै ढोका खोलिदिएको थियो भने चुनावी गठबन्धनले बामपन्थी रुझानका नेपाली मतदाताको वास्तविक शक्ति आकलनको अभूतपूर्व मौका उपलब्ध गराएको थियो ।गठबन्धनबाट निर्वाचनमा पाइएको सफलता र एकीकरणबाट प्राप्त भएको शक्तिको सदुपयोग गर्ने इच्छाशक्ति र त्याग नेताहरूमा भइदिएको भए नेपाली समाजको रूपान्तरण प्रक्रियाको प्रवेग पनि ऐतिहासिक नै हुने थियो ।तर, राजनीतिको सबैभन्दा निकृष्टतम् चलाबाजी र तिकडम, कुरुप राजनीतिक महत्वाकाङ्कक्षा र लालसा तथा व्यक्तिवादको भद्दा प्रदर्शनले निर्वाचनबाट पाएको मौका र एकीकरणबाट प्राप्त शक्ति प्रत्युत्पादक मात्रै बनेन आत्मघाती पनि बन्यो । एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको दम्भ, अहङ्कार र व्यक्तिवादको ज्वालामा भष्म त भयो नै दशकौंको अनुभव र लगनबाट उदाहरणीय लोकतान्त्रिक पार्टीका रुपमा विकसित नेकपा (एमाले) पनि चकनाचुर भयो ।नेपाली कम्युनिष्ट आन्दोलनलाई एकीकृत र बलियो बनाउन गठबन्धन गरिएको थिएन बरु केपी ओलीले सत्तारोहणको भर्याङ खोजिरहँदा नेकपा जन्मेको थियो ।फेरि एकपटक नेपालको कम्युनिष्ट आन्दोलन भएको छ । त्यसको दुष्परिणामस्वरूप नेपाली लोकतन्त्रको आधारशिला पनि हल्लिएको छ । यो क्षति एउटा घातक प्रवृत्तिले छद्म रूप धारण गरेर कम्युनिष्ट आन्दोलनको मूलप्रवाह कब्जा गर्न खोज्दा हुन गयो । अबका केही दशक नेपाली कम्युनिष्टहरूले फेरि त्यो मूल प्रवाहको मर्मत सम्भारमै लगाउनुपर्ने बाध्यकारी अवस्था आइलागेको छ । एमाले र माओवादी केन्द्रबीचको चुनावी गठबन्धन र पार्टी एकीकरण ऐतिहासिक आवश्यकता थिए भन्नेमा कुनै विमति छैन । निर्वाचनमा गठबन्धनले दुबै दललाई फाइदा पुग्यो । देश र जनतालाई पनि नाफा नै हुने देखियो । निर्वाचन परिणामले स्थिर सरकारको जनआकाङ्क्क्षा पूरा हुने प्रवल सम्भावना देखायो ।तर, ठोस वस्तुगत आधार र धरातलविना एमाले अध्यक्ष खड्गप्रसाद ओली (केपी ओली) र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को पहलमा भएको एकीकरण भने प्रत्युत्पादक नै रह्यो। एकीकरणले निर्वाचनबाट प्राप्त उपलब्धि मात्रै स्वाहा पारेन एमालेजस्तो आसलाग्दो लोकतान्त्रिक पार्टीलाई समेत नष्ट गरिदियो ।तालमेल र एकीकरणका झण्डै ४ वर्षका घटनाक्रमको अध्ययन र विश्लेषणबाट केपी ओली नै यो समग्र विध्वंशका एकल दोषी हुन् भन्ने देखिन्छ । उनले पालेको रहस्यमयी महत्वाकाङ्क्क्षाले कुनै पनि विषय र मुद्दालाई सरल र सामयिक रेखामा हिँड्न दिएन । घटना र परिघटनाको मनोगत विश्लेषण गरेर ओलीले कम्युनिष्ट आन्दोलनले ७ दशकमा प्राप्त गरेका उपलब्धिमा पनि आन्दोलन नभई आफूलाई कारक देखे । व्यक्तिवादले जन्माएको अहङ्कार र दम्भलाई उनले आन्दोलन हाँक्ने उर्जा ठाने र आफूविना आन्दोलनको अस्तित्व नरहने भ्रम पाले ।ओलीले गठबन्धनको शक्तिबाट निर्वाचनमा प्राप्त सफलतालाई आफ्नो निजी उपलब्धि ठाने। एकीकरणपछिको नेकपामा आफू सर्वेसर्वा हुनुपर्छ भन्दै तद्अनुसारको व्यवहार गरिरहे । यसकारण गठबन्धनको चुनावी सफलताले न कुनै परिणाम दियो, न त एकीकरण दिगो रहनसक्यो ।किन गठबन्धन ?चुनावी राजनीतिमा जित्नु जरुरी हुन्छ । नेकपा (एमाले)ले पनि चुनाव जित्नु आवश्यक थियो स्थानीय तह निर्वाचनमा एमालेले देशव्यापी रूपमा सफलता प्राप्त गर्यो तर संसदीय र प्रदेशसभा निर्वाचनमा त्यस्तो सफलताको सम्भावना कम थियो । स्थानीय तह निर्वाचनमा पालिका प्रमुख / अध्यक्ष र उपप्रमुख/उपाध्यक्षमा एमालेले उल्लेखनीय जीत हासिल गरे पनि निर्वाचनको समग्र परिणामले भने संसदीय निर्वाचनमा बहुमत पाउन कठीन हुने सङ्केत गरेको थियो ।स्थानीय तहमा एमालेले २९४ पालिकामा प्रमुख /अध्यक्ष तथा ३३१ पालिकामा उपप्रमुख /उपाध्यक्ष जितेको थियो भने निकटतम् प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसले क्रमशः २६६ र २२३ पालिकामा प्रमुख /अध्यक्ष र उपप्रमुख /उपाध्यक्ष जितेको थियो । २ पदको नतिजा हेर्दा एमाले काङ्ग्रेसभन्दा ठूलो पार्टी देखिन्थ्यो तर एमाले धेरै अगाडि थिएन । एमालेले देशभर १४५८६ स्थानमा जितेको थियो भने नेपाली काङ्ग्रेसले ११४५४ स्थानमा विजय हासिल गरेको थियो थियो ।एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रष्ट बहुमत प्राप्त गर्ने सम्भावना अत्यन्त न्यून रहेको आँकडाहरूले देखाइरहेका थिए त्यसैले जीतका लागि अरू राजनीतिक दलसँग चुनावी तालमेल गर्न जरुरी थियो एमालेले नेकपा (माओवादी केन्द्र) का लागि त चुनावी तालमेल बाध्यता नै थियो । स्थानीय तहका कतिपय स्थानमा नेपाली काङ्ग्रेससँग तालमेल गर्दा पनि माओवादी केन्द्रले उत्साहजनक नतिजा प्राप्त गरेको थिएन । स्थानीय तह निर्वाचनमा ९८ प्रमुख /अध्यक्ष र १११ उपप्रमुख /उपाध्यक्ष जितेको सो पार्टीले कूल ५४४० स्थानमा विजय प्राप्त गरेको थियो । चुनावी तालमेलविना प्रतिनिधिसभा र स्थानीय तह निर्वाचनमा एमाले जीतबारे ठूलै हल्ला गरिएपनि त्यो जीतले संसदीय निर्वाचनमा बहुमत प्राप्त गर्न असम्भव थियो । प्रदेशसभाको निर्वाचनमा जाँदा अस्तित्व नै संकटमा पर्ने खतरा उभिएको थियो माओवादी केन्द्रसामु एमाले र माओवादी केन्द्रबीचको चुनावी तालमेल उनीहरूको आवश्यकता र बाध्यताकै उपज थियो । एमालेलाई बहुमत चालिएको थियो, माओवादी केन्द्रलाई अस्तित्व । परिणामले देखाउँछ, तालमेल नहुँदो हो त एमाले बहुमतभन्दा धेरै तल हुन्थ्यो भने माओवादी केन्द्रले सर्वस्व गुमाएको अवस्था पनि हुनसक्थ्यो । तालमेलको परिणामचुनावी तालमेलले एमाले र माओवादी केन्द्र दुबैलाई अनपेक्षित फाइदा भयो । प्रत्यक्षतर्फको निर्वाचनमा नेपाली काङ्ग्रेसलाई तेस्रो स्थानमा राख्दै एमाले ठूलो अन्तर सहितको पहिलो पार्टी बन्यो । उसले ८० स्थान जित्यो। अस्तित्वको चिन्ता गरिरहेको माओवादी केन्द्र ३६ स्थानसहित प्रत्यक्ष निर्वाचनमा दोस्रो ठूलो पार्टी बन्यो भने गठबन्धनको धक्काका कारण नेपाली काङ्ग्रेसले प्रत्यक्षतर्फ २३ सिट मात्रै जित्नसक्यो । समानुपातिक निर्वाचन परिणामले भने सबै पार्टीको आ-आफ्नो वास्तविक आकार नै देखायो । एमालेले ३३.२६ प्रतिशत मत पाएर ४१ सिट हासिल गर्यो। नेपाली काङ्ग्रेसले ३२.७४ प्रतिशत मत र ४० स्थान प्राप्त गयो । माओवादी केन्द्रले १३.६३ प्रतिशत मतसहित १७ सिट पायो ।एमालेलाई धेरै फाइदागठबन्धनविना एमालेले एक्लै चुनाव लडेको भए काङ्ग्रेसकै हाराहारीको पार्टी बन्ने तथ्याङ्कले देखाउँछ । माओवादी केन्द्रसँगको चुनावी तालमेलले माओवादी केन्द्रभन्दा एमालेलाई धेरै फाइदा भएको चुनावी परिणामले देखाउँछ । कूल २७५ सदस्य रहने प्रतिनिधिसभामा एमालेले १२१ स्थान प्राप्त गर्यो । प्रष्ट बहुमतको धेरै नजिक पुग्यो एमाले । ५ वर्ष सरकार चलाउनका लागि उसलाई १७ सिटको मात्रै कमी थियो । एकल सरकार बनाउन नसके पनि एमालेका अगाडि ५ वर्ष मिलिजुली सरकार चलाउन सक्ने ४ विकल्प उपलब्ध भए । पहिलो, चुनावी गठबन्धनको साझेदार माओवादी केन्द्रसँग संयुक्त सरकार बनाउने । दोस्रो, नेपाली काङ्ग्रेससँग मिलेर सरकार चलाउने । तेस्रो, १७ स्थान पाएको राष्ट्रिय जनता पार्टी (राजपा) सँग सहकार्य गर्ने । र चौथो, राष्ट्रिय जनमोर्चा वा अन्य साना दलसहित १६ स्थान पाएको संघीय समाजवादी फोरमसँग मिलेर गठबन्धन सरकारको नेतृत्व गर्ने । माओवादी केन्द्रसितको चुनावी तालमेलबाट पूरै ५ वर्ष सरकारको नेतृत्व गर्न सक्ने अवस्थामा पुगेको थियो एमाले गठबन्धन नभए एमालेको अवस्था के हुन्थ्यो ?अहिले आएर अदालतको उत्प्रेषणबाट ब्युँतिएको नेकपा (एमाले) का नेता-कार्यकर्ता २०७४ सालको आमनिर्वाचनमा चुनावी तालमेल गरेर माओवादी केन्द्रलाई बचाइदिएको धाक लगाउँछन् । माओवादी केन्द्रसँगको तालमेलले एमालेलाई भएको फाइदाबारे भने उनीहरू बोल्दैनन् । तालमेल नभएको अवस्थामा पनि एमालेको आकार र शक्तिमा कुनै फरक पर्दैनथ्यो भन्ने उनीहरूको दावी हुन्छ ।वास्तविकता भने फरक छ। माओवादी केन्द्रसँग तालमेल भएर पनि एमालेले प्रष्ट बहुमत पुग्नेगरि सफलता पाउन सकेन । तालमेल नगरेको भए एमालेले प्रत्यक्षतर्फकम्तीमा १३ सिट गुमाउने पूरापूर र १० सिट हार्ने उच्च सम्भावना रहेको निर्वाचन परिणामको सरसर्ती विश्लेषणबाट पनि देख्न सकिन्छ । माओवादी केन्द्रसँगको तालमेलका वावजुद प्रत्यक्षतर्फको निर्वाचनमा एमालेले २ देखि ५ हजारसम्मको मतान्तरले १० स्थान जितेको थियो गठबन्धन गर्दा पनि यो अन्तरले जित्नु एमाले एक्लै लडेको भए हार्ने अवस्थाको सङ्केत हो १ देखि २ हजारको अन्तरले ६ स्थान जितेको थियो । त्यस्तै ५ सयदेखि १ हजार मतको अन्तरले ३ सिट र ५ सय मतभन्दा कमको अन्तरले ४ सिट जितेको थियो । यी त्यस्ता स्थान हुन् जहाँ विगतका निर्वाचनमा एमाले अत्यन्त कमजोर थियो । गठबन्धन नहुँदो हो त ती स्थानमा एमाले जित्ने सम्भावना शून्य थियो । गठबन्धनको बलले एमालेले आफ्नो परम्परागत पकडका क्षेत्रमा भारी मतान्तरले जितेको थियो । १० हजार भन्दा बढी अन्तरले एमालेले २७ स्थान जितेको थियो भने २० हजारभन्दा बढीको अन्तरले ५ स्थानमा विजयी भएको थियो । तीमध्येका केही स्थानमा यसअघिका निर्वाचनमा मतान्तर झिनो रहने गरेको थियो ।गठबन्धनविना एमालेको आकार कस्तो हुन्थ्यो भन्ने समानुपातिक मतको परिणामले नै प्रष्ट पारिदिन्छ । समानुपातिकतर्फ एमाले र नेपाली काङ्ग्रेसबीचको अन्तर झिनो थियो । एमालेले ३३.२६ प्रतिशत (४१ सिट) र नेपाली काङ्ग्रेसले ३२.७४ प्रतिशत (४० सिट) प्राप्त गरे । समानुपातिक मतलाई पार्टीको जनाधार मान्न सकिन्छ । यसरी हेर्दा लोकप्रिय मतको आधारमा एमाले नेपाली काङ्ग्रेसभन्दा आधा प्रतिशत मात्रै बलियो देखिन्छ । तालमेलविना एमाले एक्लैले चुनाव लडेको भए प्रत्यक्षतर्फ पनि काङ्ग्रेसकै हाराहारी हुने थियो भन्न सकिन्छ, समानुपातिक मतको आधारमा । अर्थात्, एमाले एक्लै निर्वाचनमा उत्रिएको भए प्रत्यक्षतर्फ ५७ भन्दा धेरै सिटमा विजयी हुने सम्भावना नै थिएन । प्राधिकारजनित अनौठो एकीकरणनेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता अनेकौं दृष्टिकोणबाट अनौठो थियो । एकीकरणपछि जन्मेको नेपाल कम्युनिट पार्टी (नेकपा) जीउडालनमिलेको अदभूत प्राणीजस्तो देखिएकै हुनाले त्यसलाई “उंट पार्टी” पनि भनियो माक्र्सवाद-लेनिनवादलाई मार्गदर्शक सिद्धान्त भनिए पनि कार्यदिशाको सवालमा यो पार्टी “यता न उता”को अवस्थामा रह्यो । एमालेको जनताको बहुदीय जनवाद(जबज) र माओवादी केन्द्रको एक्काइसौं शताब्दीको जनवाद थाँती राखेर सुरू भएको एकीकरणका क्रममा “जनताको जनवाद” नामक खोक्रो नारा अस्तित्वमा आयो जसको अन्तरवस्तु के हो भन्ने नेतृत्वले नै खुट्याउन सकेन ।अर्कोतिर, द्वीअध्यक्षतात्मक नेतृत्व प्रणाली विचित्रको थियो । राजनीतिमा नयाँ प्रयोग भनिए पनि दुईलाइन संघर्षलाई नकारात्मक दिशामा डोर्याउने यो पद्धतिले एकीकरणलाई सार्थक तुल्याउन सक्ने कुनै सम्भावना थिएन ।नेकपा करिब ४६ महिना अस्तित्वमा रहृयो तर त्यो अवधिमा केन्द्रीय कमिटीको बैठक एक पटक मात्रै बस्यो ।दृढ सैद्धान्तिक धरातलमा नउभिएको नेकपा कुनै ठोस लक्ष्य प्राप्तिको उद्देश्यले निर्माण गरिएको थिएन । फरक स्कूलिङ र पृष्ठभूमिको सम्मिलनविना २ दल मिलेर बनेको नेकपा वास्तवमा मोर्चाभन्दा फरक थिएन । सन्निकट चुनावलाई ध्यानमा राखेर सुरू गरिएको एकता प्रक्रिया चुनावी परिणामसँगै उपयोगिताविहिन बनेको थियो तर केपी ओली र प्रचण्डको प्राधिकारबाट नेकपा जन्माइयो । एकीकरणको प्रक्रियालाई एमालेजस्तो समृद्ध पार्टीले पनि विधिवत रूपमा आत्मसात गरेको होइन ।एकीकरणका लागि एमालेले औपचारिक कर्मकाण्ड मात्रै पूरा गरेको हो, पार्टीभित्र व्यापक बहस भएन । केन्द्रीय कमिटी पनि ताली पड्काउने उद्देश्यले अन्तिम क्षणमा मात्रै उपयोग भयो ।ठोस कार्यदिशा र निश्चित लक्ष्यविनाको नेकपा भागबण्डामा आधारित हुनु स्वाभाविक थियो । पद्धति बनेको भागबण्डा प्रथाकै कारण जन्मेको ४६ महिनामैं नेकपा विभत्स हत्याको सिकार भयो ।बुलबुल साप्ताहिकबाट