२२ मंसिर २०७९, बिहिवार

“पूर्वी” भित्र पस्दा !

नवराज रिजाल
कथाकार लोकनाथ भुषाल ‘घायलश्री’द्वारा लिखित ‘पूर्वी’ कथा सङ्ग्रह २०७३ गत वैशाखमा प्रकाशनमा आएको छ । वर्तमान युगमा बढ्दो सहरीकरण, भूमण्डलीकरण, यान्त्रिक समृद्धिको भौतिक सुख सुविधा र बजारमुखी जीवनशैलीमा मानिसहरुको चाख निकै मौलाएको छ । यही र यस्तै वस्तुस्थितिमा रहेर मानिसका आन्तरिक र सूक्ष्म क्रियाकलापलाई पूर्वीमा देखाइएको छ ।
पूर्वी कथा सङ्ग्रहको बारेमा केही लेख्नुन्दा अगाडि लेखकको छोटो परिचय दिन आवश्यक ठानें, जुन यसप्रकार छ :
लेखक परिचय
पर्वतको मडिकुवा–६ श्रीसुवामा जन्मेका लोकनाथ भुषाल उपनाम घायलश्रीबाट परिचित छन् । उनको बाल्यकाल पर्वतमै बितेको र पछि बसाइँ सरेर नवलपरासीलाई स्थायी बसोबास बनाएका छन् । विगत एक दशकदेखि म्याग्दी बेनीलाई कर्मक्षेत्र बनाई म्याग्देली साहित्यको श्रीवृद्धिमा उनी निरन्तर लागि परेका छन् । उनका एक एक कृति कविता सङ्ग्रह, उपन्यास, खण्डकाव्य यसभन्दा अगाडि नै प्रकाशित भइसकेका छन् । पछिल्लो प्रकाशित कृतिका रुपमा पूर्वी उनैको पहिलो हो ।
कथातत्वका आधारमा पूर्वी कथाको विश्लेषण
पूर्वीमा जम्मा पाँच वटा कथाहरु समावेश गरिएका छन् । आयामका दृष्टिले केही लामाजस्ता लागे पनि पढ्दै जाँदा समय बितेको थाहा नै नहुने खालका छन् । सबै कथाको विश्लेषण यहाँ सम्भव नदेखिएकाले पूर्वी कथाको मात्र विश्लेषण गर्ने जमर्को गरेको छु, जुन यस प्रकार छ –
१. कथानक :
कुनै पनि साहित्यमा आवश्यक पर्ने प्रमुख घटक भनेको कथानक हो । यसलाई कथावस्तु वा विषयवस्तु पनि भन्ने गरिन्छ । कथामा के कस्तो घटना घटेको छ ? कसरी कथा अगाडि बढेको छ भन्ने कुराहरु पनि कथावस्तुमा अध्ययन गरिन्छ ।
कथावस्तुका दृष्टिले पूर्वी कथा उपयुक्त नै देखिन्छ । म पात्रले अफिसमा बसेर ल्यापटप चलाउने क्रममा आएको म्यासेजबाट कथानक सुरु भएको छ । फेसबुक र म्यासेजबाट सम्बन्ध नजिकिँदै घनिष्ट बन्न पुगेको छ । कथाको म पात्र विज्ञान यस कथाको नायक हो भने यसकी अर्की प्रमुख पात्र पूर्वी नायिकाको रुपमा देखिएकी छे । सम्पूर्ण कथा पूर्वीकै वरिपरि घुमेको छ । यता मपात्रसँग सम्बन्ध बढाउँदै जाने, उता चाहिँ बुबा बिरामी भएको निहुँमा कान्छोसँग विवाह गर्नु, पढाइको सिलसिलामा पोखरामा आएर बस्नु, कथाको गतिशील अवस्था हो । यसै क्रममा कर्मघरमा नबस्ने कान्छोसँग पतिको मात्र नाता राख्ने र अन्य सम्बन्ध म पात्रसँग अवैध नाता गाँस्नु बढ्दो आधुनिकता र भोगविलासी प्रवृत्तिको सूचक हो ।
त्यसैगरी म पनि विस्तारै विस्तारै पूर्वीसँग नजिकिँदै जानु र एक अर्काबिच भेटघाट र घुमघाम हुने कार्यले कथावस्तुलाई तीव्रता दिएको छ । त्यो सँगसँगै यता कान्छोको आमा बिरामी हुनु, मर्नु, कान्छो निरास हुनु । वैवाहिक जीवनमा बाँधिँदा पनि कान्छोमा निरासा थपिँदै जानु यसले कथालाई उत्कर्षमा पु¥याउन सहयोग गरेको छ । त्यसैगरी कान्छो मर्नु, उसको मरेको खबर सुनेर म पात्र घरमा आउनु र कान्छोको चितादहन भइसकेपछि पूर्वीसँग म पात्रको आँखा जुध्नु कथाको चरमोत्कर्ष हो साथै कथाको अन्त्य पनि हो । यसरी म पात्रले कथानकलाई अगाडि बढाएको छ ।
२. पात्र :
पात्रका दृष्टिले पूर्वी सशक्त कथा हो, यहाँ पात्रहरु धेरै छन् । ती मध्ये प्रमुख पात्र म पात्र र पूर्वी हुन् भने सहायक पात्रका रुपमा कान्छो, म पात्रकी आमा, कान्छाकी आमा हुन् । ती बाहेक कान्छाको बाबा, दाइ, डाक्टर लगायत अन्य गाउँले आदि गौण पात्रहरुका रुपमा देखा परेका छन् ।
३. दृष्टिविन्दु :
पूर्वी कथामा प्रथम पुरुष दृष्टिविन्दुको प्रयोग भएको छ । यहाँ म पात्रले फेसबुक चलाउँदाबाट कथा सुरु भएको छ । तृतीय पुरुष विन्दुमा रहेकी पूर्वीको सम्पूर्ण गतिविधि म पात्रले प्रस्तुत गरेको छ । यस मानेमा पूर्वीलाई तृतीय पुरुष मान्न पनि सकिन्छ तर कथानक अगाडि बढाउनमा म पात्र नै सक्रिय रहेकाले प्रथम पुरुष दृष्टिविन्दु मान्नुपर्ने हुन्छ । यसलाई आन्तरिक दृष्टिविन्दु पनि भन्न सकिन्छ ।
४. परिवेश :
परिवेश भन्नाले कथाले मागेको देश, काल र परिस्थितिलाई बुझाउँछ । वर्तमान समयको परिवेश पोखरा, काठमाण्डौ र म पात्र र पूर्वीको गाउँमा यो कथा प्रस्तुत भएको छ ।
५. उद्देश्य :
कुनै पनि कार्य गर्नुको एउटा उद्देश्य हुन्छ । उद्देश्य नभए कसैले केही काम गर्दैन । त्यसैले कथा लेखनको पनि एउटा उद्देश्य हुन्छ । पूर्वीभित्र पसेर कथाको उद्देश्यलाई पहिल्याउन खोज्दा आधुनिक युगमा देखिएको मानिसहरुको क्रियाकलापलाई देखाउन खोजेको छ । मान्छेले आफ्नो संस्कार र परम्परालाई भुलेर आफू अनुकूल व्यवहार गर्न थालेको छ । यहाँ न पुरुष आफ्नो ठाउँमा बसेको छ, न त महिला नै । दुबै आफ्ना भौतिक सुख भोगमा लिप्त छन् भने अर्कातिर। अवैध यौनिक क्रियाकलाप, त्यसैगरी महिलामा मातृत्वपक्ष सबल हुन्छ भन्ने कुरालाई पनि यसले सङ्केत गरेको छ । आफ्नो पतिबाट सन्तान हुँदैन भन्ने थाहा पाएपछि पूर्वीले डाक्टरको सल्लाह बमोजिम म पात्रको अवैध रुपमा गर्भधारण गरी आमा बन्न सफल भएकी छ । यो प्राकृतिक नियममा आधारित भएर हेर्दा पूर्वीले नैसर्गिक अधिकार प्राप्त त गरेकी छे तर परिणाम पतिको मृत्यु बेहोरेकी छ । त्यसैले पूर्वी कथाको उद्देश्य बदलिँदो परिवेशलाई कथामा अभिव्यक्ति गर्नु पनि हो ।
६. संवाद/ कथोवकथन :
संवादले कथालाई नाटकीयता प्रदान गरेको हुन्छ । यस कथामा पनि प्रशस्त संवादहरु भेटिन्छन् । कथाको सुरुमा नै ल्यापटपमा पूर्वीको म्यासेज आएर कथा अगाडि बढेको छ । यो बढ्दो आधुनिकताको संवादको नयाँ तरिका हो अर्थात् लिखित संवाद । त्यसैगरी आमा छोरा बिचको संवाद, पूर्वी र म पात्र बिच, म पात्र विज्ञान र कान्छो बिचको संवाद,म पात्र र कान्छाका आमा बिचको संवाद छन् । यसले कथालाई नाटकीयता प्रदान गरेको छ ।
७. भाषाशैली :
कथालाई पाठकसामु प्रस्तुत गर्ने माध्यम नै भाषा हो । यही भाषालाई लेखकले आफ्नो शैली मार्फत् प्रस्तुत गरेको हुन्छ । त्यसैलाई भाषाशैली भनिन्छ । पूर्वी कथाको भाषाशैली राम्रो हुँदाहुँदै पनि केही अपूर्णता भने पक्कै छ । भाषा सरल र सहज छ, सबैले बुझ्ने खालको छ । तर यहाँ कथामा प्रयोग हुने भाषामा एकरुपता छैन । बितेको कुरा वर्णन गर्दा भूतकालको प्रयोग हुनुपर्छ, त्यसमा सबैमा भूतकालको प्रयोग नभएर जान्छु, बस्छु, पुग्छु जस्ता वर्तमानकालिक क्रियापदको प्रयोग छ । यस्तो हुँदा पाठकको मनमा विचलन आउन सक्छ । पाठक विचलित भए भने कथाबाट आनन्द प्राप्त हुँदैन । त्यसैगरी कम्प्युटर टाइपिङमा सामान्य प्रायः गल्तीहरु देखिएका छन् । यसले पनि पढाइको तीव्रता र दौडिएको भावनालाई ठेस पुर्‍याउँछ । त्यसकारण भाषिक शुद्धता र स्पष्टतामा अझै केही सुधार गर्नुपर्ने देखिएको छ ।
निष्कर्ष :
पूर्वी कथा समग्रमा वर्तमान युग र समयसापेक्ष छ । यसले बढ्दो आधुनिकतामा देखिएको मानवीय विचलन, अवैध यौनिक क्रियाकलाप र बढी स्वतन्त्रताको आकाङ्क्षालाई प्रस्तुत गरेको छ । व्यक्ति बाहिर जति नै राम्रो र सुन्दर देखिएता पनि उसको आन्तरिक मन बुझ्न सकिँदो रहेनछ भन्ने कुरा पनि यसले व्यक्त गरेको छ । लेखकको भनाइ “कतिपय ठाउँहरुमा प्रेम र बलात्कारको उद्देश्य यौटै हुँदो रहेछ : यौन । गन्तव्य एउटै तर बाटो फरक” भन्ने उक्तिलाई पुष्टि गरेको छ ।
अन्त्यमा जे भए पनि घायलश्रीको कथा संग्रह पूर्वीले म्याग्देली साहित्य र नेपाली साहित्यको क्षेत्रमा एउटा दरिलो इटा थप्ने काम पक्कै गरेको छ । आशा छ, घायलश्रीबाट अझ यस्तै सशक्त कृतिहरु फेरि फेरि पनि जन्मने नै छन् । नेपाली साहित्यको विकासलाई अगाडि बढाउन मद्धत गर्नेछन् । इति ।
(सम्वोधित्वबाट)

(रिजाल न्यू वेष्ट प्वाइन्ट आ.मा.वि. म्याग्दी बेनीका, शिक्षक हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *