१२ मंसिर २०७९, सोमवार

बहुमुखी प्रतिभाका धनी बिखर्ची !

घायलश्री

कसैको नजरमा म दामी भएँ

कसैको नजरमा हरामी भएँ ।

जब हाँसेर सोध्यौ हालखबर तिमीले

त्यही दिनदेखि म विरामी भएँ ।।

माथि प्रस्तुत मुक्तक म्याग्दीका युवा साहित्यकार प्रेमजंग कार्की यानेकी दीपक कार्की “विखर्ची”का हुन् ।

विखर्चीले भनेजस्तै यहाँ हर व्यक्ति कसैको नजरमा नामी हुन्छन् त त्यही व्यक्ति कसैको नजरमा बदनामी हुन्छन् । सबैका मनोभाव बुझेर सबैलाई उस्तै मिल्ने गरि कति सजिलै भर्छन् हँ यी कविहरुले शव्दमार्फत जीवनका रङ्गहरु ?  पिता इमानसिंह कार्की र माता फूलकुमारी कार्कीको तेस्रो सन्तानको रुपमा २०३६ मङ्सीर १० गते रघुगंगा गाउँपालिका-३ पिप्ले (साविक पिप्ले-४ रानीपौवा) म्याग्दीमा जन्मिएका प्रेमजंग कार्की अन्ततः उनी आफैले राखेको नाम दीपक विखर्चीबाट साहित्यको क्षेत्रमा परिचित छन् । विशेष त उनी कविता, गीत, गजल र व्यङ्ग्य साहित्यमा कलम चलाउँछन् । आफ्नो प्रथम कविता बागलुङबाट प्रकाशित हुने दैनिक पत्रिका धौलाश्रीको साहित्य विशेष पाहुँरबाट प्रथम पटक प्रकाशन गरेर साहित्यको क्षेत्रमा पाइला टेकेका उनी युवा राजनीतिकर्मी पनि हुन् । बैशाख ३० गते हुने स्थानीय चुनावमा साहित्यकार बिखर्चीलाई नेकपा एमालेले रघुगंगा गाउँपालिकामा अध्यक्षका लागि उमेद्वार समेत बनाएको छ ।

विद्यार्थी जीवनबाट नै उनले साहित्यमा कलम चलाए । सँगसँगै राजनीतिमा पनि लागे । गाउँघरको उकाली ओराली गर्दा होस् या मेलाहरुमा सहभागी हुँदाको समय होस् । मौका पाउँदा साथ फूर्तीका साथ सवै सामु आफ्ना रचनाहरु सुनाउन अगाडि सर्थे र साथीहरुबाट वाह वाह बटुल्थे । त्यतिबेला उनले सोच्थे- “यसरी मेरा रचनाहरु साथीहरुले मन पराउँछन् भने रचनाहरुको सङ्ग्रह किन ननिकाल्ने !” त्यही सोचको परिणाम भन्नुपर्छ । उनको पहिलो लोकदोहोरी एल्बम “गलेश्वर मेलैमा-२०५४” बजारमा आयो । त्यसैगरि “हेछ्र्यौ भने छातिभित्र-२०५६” आधुनिक गीतहरुको सङ्ग्रह पुस्तकको रुपमा प्रकाशन भयो भने “जीन्दगीका पानाहरु-२०६२” पनि प्रकाशन भयो जुन गजल सङ्ग्रहले गर्दा उनी म्याग्दीमा गजल सङ्ग्रह प्रकाशनको सुरुवात गर्ने व्यक्तिको रुपमा समेत चिनिन्छन् । कविता, गीत तथा गजलहरुमा धेरै पटक पुरस्कृत भइसकेका उनलाई बुलबुल साहित्यिक पत्रिका म्याग्दीले २०७१ चैत्र २१ गते भव्य कार्यक्रमका माँझ गजल सङ्ग्रह प्रकाशनको सुरुवात गर्ने व्यक्तिको रुपमा सम्मान पनि गरेका थियो । विभिन्न साहित्यिक सङ्घ संस्थामा आवद्ध रहेका उनी पौलत्स्य साहित्यिक समाज म्याग्दीका वर्तमान अध्यक्ष हुन् । युवाहरु साहित्यको श्रीवृद्धिमा लाग्नुपर्छ भन्दै युवाहरुलाई हौस्याउने विखर्चीको नयाँ कृति बजारमा आउने तयारीमा रहेको छ । 

“राजनीतिमा थकाई भन्ने शव्दावली नै हुँदैन !” क. मदन भण्डारी । 

स्वर्गीय मदन भण्डारीबाट कुनै बखत प्रशिक्षणका बेला प्रस्तुत भएको माथिको वाक्य आज हरेक राजनीतिकर्मीलाई एउटा मूल मन्त्र नै सावित भएको छ । त्यही भनाईलाई मूल मन्त्र मान्दै विद्यार्थी जीवनकालदेखि नै साहित्य सँगसँगै राजनीतिमा लागेका विखर्ची विद्यार्थी राजनीति समयमा पार्टीका कामले जिल्लाका हरेक गाविस र विद्यालयमा पुगी राजनीतिक चेतना जगाउने काम गरे । उनको प्रष्ट वाकपटुताका कारण छोटो समयमा नै सबै विद्यार्थीका माझ लोकप्रिय हुन पुगे । साथीहरुको सल्लाह अनुसार २०५५ सालमा म्याग्दी बहुमुखी क्याम्पसको स्ववीयूको चुनावमा अनेरास्ववीयूको तर्फबाट सचिवको रुपमा उम्मेदवारी दिए । अन्य राजनीतिक विद्यार्थी संगठनको संयुक्त प्यानलका कारण झिनो मतले पराजित हुन पुगेका उनी २०६० सालको स्ववीयू चुनावमा भने सभापति पदमा अत्याधिक मतले विजयी हुन पुगे । त्यही समयबाट नै राजनीतिमा फड्को मारेका उनी अनेरास्ववीयूको चारवटा राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिका रुपमा सहभागी भएसँगै दुईपटक राष्ट्रिय परिषद् सदस्यको रुपमा निर्वाचित भए । पार्टीको इमान्दार कार्यकर्ताको रुपमा परिचय बनाएका विखर्ची अनेरास्ववीयू जिल्ला कमिटि अध्यक्ष २०६१, नेकपा एमाले जिल्ला कमिटि सदस्य २०६६ हुँदै हाल विद्यार्थी फाँट प्रमुख रहेका छन् ।  दीपक कार्की “विखर्ची”को परिचय यतिमा मात्रै सिमित छैन । “आजको बचत भोलिको सुरक्षित जीवन” भन्ने नारालाई आत्मसाथ गर्दै हरेक व्यक्तिलाई कमाएको केही प्रतिशत रकम बचत गर्न आग्रह गर्छन् । उनी सहकारी आन्दोलनका अभियन्ता पनि हुन् । व्यक्तिलाई आर्थिक सुरक्षा दिने गलेश्वर शिवालय बहुउद्देश्यीय सहकारी संस्थाको संस्थापक अध्यक्ष हुनुका साथै तेस्रो कार्याकालको बर्तमान अध्यक्ष रहेका उनी जिल्लामा रहेका सहकारीहरुको छाता सङ्गठन जिल्ला सहकारी सङ्घको बर्तमान अध्यक्ष समेत हुन् । उनको कार्यकालमा नै जिल्लामा अवस्थित सहकारीहरुले गति लिएको अवस्था पनि छ । आकासको जूनमा पनि दाग हुन्छ प्यारीजवानीमा पनि आफ्नै माग हुन्छ प्यारी ।मैले कहाँ पाउँला र खै तिमीसँग फुल्न ! माथिबाटै छुट्टाएको भाग हुन्छ प्यारी ।।माथिको मुक्तकले भनेजस्तै उनको नजरमा पनि धेरै आए अनि धेरै गए, पे्रमले फक्रिएका राता गुलावहरु । कला क्षेत्रले भरिएको, अध्ययनमा उत्कृष्ट, हरेक वाक्यमा राजनीति र साहित्यिक शब्द मिसाएर बोल्ने युवकसँग को पो आकर्षित नहोला र ? कति नै गर्दा पनि नढलेका मनभित्रका प्रेमका प्रेमिल डाँडाहरु भिमपोखरा बागलुङ्की नबीना केसी घुम्ने शिलशिलामा म्याग्दी आउँदाको पहिलो भेटमा नै प्रेमिल डाँडाहरु भत्काएर समथर बनाई प्रेमको वस्ती बसाउँन सफल भईन् । तिम्रो लत लागेपछि सवै लत छोडिदिएँ, तिम्रो नशाले छोएपछि अन्य नशाले छुनै छाड्यो मलाई र त म तिम्रो हुँ र तिमी मेरै हौ भन्ने गर्वानुभूतिले आज संसार जितेको आभाष मिलेको छ । यस्तै यस्तै भयो दुवैको मनमा । माथिबाटै छुट्टाएर पठाएको आ-आफ्नो भाग दुवै जनाले स्विकार गरे र २०६३ माघ २५ गते जीवनसङ्गिनीको रुपमा आफ्नो घरमा भिœयाए । अहिले दुवैको काखमा मायाको कोपिला छोरी प्राप्ती कार्की हुर्कीरहेकी छिन् ।  उनी जीवनमा के पो बनेनन् ? म्याग्दी बहुमुखी क्याम्पसमा आईए र विए पढ्दा ताकाका क्याम्पस टपर नै हुन् । अहिले त्यही क्याम्पसका सञ्चालक समिति सदस्य पनि रहेका छन् । क्याम्पस पढ्दै गर्दा वोर्डिङ्ग पढाए, पछि २०६३ सालमा गलेश्वर आदर्श आवासीय निमाबिलाई माविको रुपमा सञ्चालन गरि २०७१ सम्म प्रिन्सिपलको रुपमा काम गरि शैक्षिक कृयाकलापहरुलाई पनि अगाडि बढाई शैक्षिक क्षेत्रमा पनि सक्रिय रहे ।

जन आन्दोलन २०६२/२०६३ (म्याग्दी) को अगुवा बने । पत्रकारितामा समेत रुचि राख्ने उनले लामो समय साहित्यमाला नामक साहित्यिक पत्रिका र म्याग्दी सञ्चार साप्ताहिकको सम्पादन गरे । रुप्से पत्रिकाको नियमित स्तम्भकार बने । हार्मोनियम, बाँसुरी र मादल बजाउन सिपालु उनी कुनै बखत जिल्लाकै उत्कृष्ट भलिवल खेलाडी पनि हुन् । समयको महत्वलाई बुझ्न सक्ने खुवी भएर नै होला २०७२ सालमा एमआईटी सञ्चार सेवा प्रा.लि. स्थापना गरि त्यसको प्रवन्ध निर्देशक बनेका उनले सूचन तथा प्रविधिको क्षेत्रबाट पनि सेवाप्रदान गरिरहेका छन् । समाजका बिभिन्न क्षेत्रमा आबद्ध रहेका उनी “अञ्जु कार्की बचाउँ अभियान”को समेत संयोजन गरि ब्लडक्यान्सर रोगले पिडित प्रथम श्रेणीमा एसएलसी पास गरेकी राखु, पिप्ले-३ म्याग्दी निवासी १७ बर्षिया अञ्जु कार्कीलाई नयाँ जीवन दिन सफल भए । स्वर्गीय पिताको सम्झनामा “इमानबहादुर कार्की स्मृति छात्रवृत्ति कोष” स्थापना गरि अमरसिंह प्रावि पिप्ले ४ म्याग्दीका छात्र/छात्रा गरि दुई जनालाई प्रत्येक वर्ष उत्कृष्ट विद्यार्थी पुरस्कार समेत वितरण गर्दछन् । एउटा गाउँमा जन्मेको केटो आफ्नै बलबुताले उच्च शिक्षा आर्जन गर्‍यो । किर्तीपुरबाट नेपालीमा र धौलागिरि बहुमुखी क्याम्पस बागलुङबाट समाजशास्त्रमा एमए पूरा गरेसँगै पिएन क्याम्पस पोखरामा कानुनतर्फ (एल एल वी) अध्ययनरत ऊ हरेक विद्यार्थीका लागि प्रेरक व्यक्ति मान्न सकिन्छ । सिक्न चाहानेहरुका लागि उसको जीवन एउटा खुल्ला किताव पनि हो । आगामी दिनमा उनले चालेका हरेक पाईलाहरु आउने पिँढीका लागि पथप्रदर्शक बनून् । उनको साहित्यिक, राजनीतिक र सामाजिक यात्रा आगामी दिनहरुमा अझै अगाडि बढोस् हार्दिक शुभकामना, अहिलेलाई यति नै भनौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *