२२ मंसिर २०७९, बिहिवार

कार्यक्रम बनाएर आउनुहोस्, आवश्यक सहयोग गर्छौं- केसी !

म्याग्दीको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले फरक क्षमता भएका व्यक्तिहरुको उत्थानका लागि आवश्यक सहयोग गर्ने बताउनुभएको छ । आज (बुधवार) बौद्धिक अपाङ्गता अभिभावक संघ म्याग्दीले बेनीमा आयोजना गरेको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

नगर प्रमुख केसीले बौद्धिक अपाङ्गता अभिभावक संघमार्फत फरक क्षमता भएका बालबालिका तथा व्यक्तिहरुलाई चाहिने आवश्यक सहयोगका लागि कार्यक्रम बनाएर आएमा सहयोग गरिने बताउनुभयो । उहाँले नगरपालिकामार्फत गर्नुपर्ने कामहरु धेरै भएकाले कतिपय काम गर्दागर्दै पनि छुट्ने हुँदा समय समयमा जनप्रतिनिधिलाई सम्झाइरहन पनि बौद्धिक अपाङ्गता अभिभावक संघलाई सुझाव दिनुभयो । अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण तथा व्यवस्थापनमा सघाइने उहाँको भनाइ छ । 

सोही कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले नगरपालिका आफैले बनाउने आवश्यक ऐन, कानुनहरु निर्माण, संशोधन र परिमार्जन गरेरै भए पनि नगरवासीलाई सहयोग गरिने बताउनुभयो । उहाँले नगरपालिकामा निर्वाचित जनप्रतिनिधिको टिम सबैको साझा भएकाले आवश्यक सहयोग तथा सल्लाह, सुझाव उपलब्ध गराउन आग्रह गर्दै अपाङ्गता भएका व्यक्तिहरुको सहजताका लागि उचित पहल गर्ने बताउनुभयो । 

बौद्धिक अपाङ्गता अभिभावक संघका प्रतिनिधिहरुले राज्यले फरक क्षमता भएका नागरिकहरुलाई विशेष सुविधाको व्यवस्था गरेको भए पनि त्यो कार्यान्वयनको सवालमा जटिल समस्या रहेकाले जनप्रतिनिधिको ध्यानाकर्षण गराएका थिए । उक्त कार्यक्रमको अवसरमा बौद्धिक अपाङ्गता अभिभावक संघले बेनी नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई मायाको चिनोस्वरुप डायरी वितरण गरेको थियो । 

कार्यक्रममा बेनी नगरपालिका-८, बेनीका वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य, सदस्यद्वय यामबहादुर बानियाँ र जानकी विश्वकर्मा विशेष उपस्थिति रहेको थियो । कार्यक्रम बौद्धिक अपाङ्गता अभिभावक संघका अध्यक्ष जमुना पौडेलको अध्यक्षता र सचिव कृष्णसिङ बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *