१६ चैत २०७९, बिहिवार

“थाहा छैन”

कविता “थाहा छैन”
सन्तोष सुवेदी
…………..
लौ थाहा छैन ?
साँच्चै थाहा छैन ?
त्यसो भए सुन यता !

ऊ कर्मचारी हो
उसले आफ्नो हाँसो, परिवार,
समय र निर्णय बन्धकी राखेको छ ।
उसलाई ऊ जस्तै हुनै नदिनू ।

बोल्ने छ भने नबोल्ने ठाउँ दिनू
बोल्न खोज्दैन भने किन खोज्दैन ?
बोलिराख्ने काम दिनू
काममा चासो राख्छ भने
कामै नहुने ठाउँ पठाइदिनू
अनि काम चोर छ भने
कामै कामले पुरी दिनु
किनकी ऊ कर्मचारी हो ।
उसले आफ्नो मन, इच्छा
र स्वतन्त्रता बन्धकी राखेको छ ।
त्यसैले उसलाई ऊ जस्तै हुनै नदिनू ।

खुशी छ भने दु:खी बनाईदिनु
दुखी छ भने पीडा थपिदिनु
घर छोड्न रहर गर्छ भने
घर नजिकै काम दिनु
घर बस्नै पर्नेछ भने
डाडा कटाइदिनु
किनकी ऊ कर्मचारी हो ।
उसले आफ्नो परिवार, जिम्मेवारि, योजना र सपना बन्धकी राखेको छ ।
त्यसैले उसलाई ऊ जस्तै हुनै नदिनू ।

परिवारलाई समय दिनु पर्ने बेला
एक्लै बनाइदिनू
एक्लै बस्ने बानी परिसकेपछि मात्र
परिवारसँग बस्ने माहोल मिलाईदिनु
परिवार सोच्ने बेला
अरु सोच्न खटाइदिनू
अनि परिवारबाट एक्लो भएपछि
पारिवारिक समय दिनु
किनकी ऊ कर्मचारी हो ।
उसले आफ्नो भावना, परिस्थिति
अनि बाध्यता बन्धकी राखेको छ
त्यसैले, उसलाई हाँस्नै नदिनू ।

खोज्न सक्ने ठाउँमा
खोज्न नलगाउँनू
खोज्नै नसक्ने ठाउँमा
दबाब दिनु
हाँस्यो भने अल्लारे देखिन सक्छ
रमायो भने विश्वास नहुन सक्छ
उसलाई निराश बनाउनू
थकित बनाउनू, लाटो बनाउनू
बहिरो बनाउनू अनि ढुङगा बनाउनू
अनि पो भनेको ठाउँमा मिल्काउन मिल्छ ।
किनकी ऊ कर्मचारी हो ।
उसले आफ्नो जिन्दगी नै बन्धकी राखेको छ ।
…………
फेदीखोला-२, स्याङ्जा

Leave a Reply

Your email address will not be published. Required fields are marked *