बैकुण्ठ भुसाल
अपार सम्भावनालेयुक्त, सम्भावनै सम्भावना भएको सुन्दर देश नेपाल कुरुप छैन, मरुभूमि छैन । मरुभूमिमा सम्भावना देख्ने आजको युगमा, उर्वर धर्तीलाई मरुभूमि देख्ने कमजोरी कसरी भयो, किन भयो, समस्याको गाँठो कहाँनेर पर्यो, चिरफारको राँटो कहाँनेर रह्यो, आजको युवा मानसिकताले एकताकासाथ खोज्ने वेला आएको छ । आजको युग गाली, निन्दा र असभ्यताको हुनु हुँदैन, न त मत्स्य न्यायको नै हो । वाद शाहको युगको अन्त्य धेरै पहिले भइसकेको हो । अब कसैले पनि कुनै प्रकारको वाद शाहको सपना नदेखे हुन्छ । आजको युवा चेतले रकेटी उडानमा समस्याको गाँठो फुकाउनु परेको छ ।
प्रगतिशील विचारधारामा विश्वास राख्नेहरुले कालोलाई कालो र सेतोलाई सेतो भन्न सक्नु पर्दछ । अन्ध विश्वास र अन्धभक्ति प्रगतिशीलहरुका लागि व्यवहारिक हुँदैन ।
कुनै पनि देशको पहिचान स्थापित गर्ने र शोभा सौन्दर्य बढाउने भनेको त्यही देशका नागरिकहरुले नै हो । हामीसँग यति अपार नीधि हुँदाहुँदै पनि हामीले किन धर्तीलाई मरुभूमि ठान्छौँ र कस्तुरीले जस्तै सुगन्ध खोज्न टाढा टाढा भौँतारिन्छौँ ? हिजोका असल सामाजिक मूल्यहरु हामीले गुमाउँदै गइरहेछौँ । सामाजिक अन्धविश्वास र कुरीतिहरु हामीले हटाउन सकिरहेका छैनौँ । कुनै पनि राजनैतिक संगठनमा गुट उपगुटका समस्या छँदै छन् भने हाम्रा कार्यहरुमा राजनैतिक उच्च संस्कार र सहमतिको विकास हुन सकिरहेको छैन । आजपनि कुर्सी फोडाफोड, कुटाकुट र असभ्य गाली गलौजका कारण हामी कस्तो छौँ र हामीले कस्तो देश बनाउन खोजिरहेछौँ भन्ने कुरा छर्लङ्ग हुन्छ ।
व्यक्ति आलोचनामा हामी रुमल्लियौँ र युवा पुस्तालाई पनि यस्तै संस्कार हस्तान्तरण गर्दैछौँ, यसले राष्ट्रियता र राष्ट्र निर्माणको सकरात्मक ऊर्जा नकरात्मक बनिरहेको छ । जसरी राणा शासनको १०३ वर्षको क्षति कति १०३ वर्ष कुर्नु पर्ने हो, त्यस्तै आजसम्मका अवरुद्धीका क्षति कति कुर्दै जानु पर्ने हो । अव आ आफ्नो कमजोरी स्वीकार गरेर राजनीतिक दल र सम्पूणर् सरोकारवाला तह र तप्का सिङ्गो नेपाली मन एक भएर सकरात्मक ऊर्जाका साथ लाग्नु पर्ने वेला आएको छ । कतै हामीले पनि आउँदो पुस्तालाई भार र क्षतिपूर्ति गर्नुपर्ने अभिभारा छाड्यौँ भने हिजो र आजमा के फरक रह्यो र । राजनैतिक आन्दोलन र रुपान्तरणको के सार रह्यो र ? आजको आवश्यकता भनेको युवा पिँढीलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय, समसामयिकतामा दख्खल राख्न सक्ने, आलोचनात्मक, विश्लेषणात्मक चेत भएको, सकरात्मक, ऊर्जावान बनाउनु हो । भट्याउनेले जे भने पनि भट्याउने, डोर्याउनेले जता डोर्याए पनि पछ्याउने युवा शक्ति होइन ।
नेतृत्व तहमा नै वर्तमानको अशोभनीय लडाइँले सिङ्गो नेपाली मन आहत भइरहेको अवस्थालाई सबैले म म गरेर बढिरहेको दूरीलाई घटाउँदै सहमति र सहकार्यका साथ अगाडि बढ्न सकेमा कसैले पनि नहार्ने खेल खेल्न सकिन्छ । सिङ्गो देशले जित्ने जित ल्याउन सकिन्छ ।
नेपाली आमाको शितल हावाको श्वास लिने हामी, हिमाली सुन्दर झरना र कलकलाउने मूलको चिसो पानी पिएका हामी, नागवेली नदीको सानन्दी गीतमा नाँच्दै रमाउने हामी, कोमल वन फूल, सुन्दर हिमाली दृश्य, सुन्दरतै सुन्दरताको सुरम्य मधु पान गर्ने हामी किन मरुभूमि बन्यौँ ? हामी किन शुष्क बन्यौँ अनि बाह्रै मास हराभरा हुने धर्ती मातालाई मरुभूमि ठानेर मृग तृष्णा कै शैलीमा टाढाटाढा भौँतारिन्छौँ र स्वदेशमा नै भिड्छौँ, तड्पिन्छौँ र छटपटिन्छौँ यसको जवाफ खोज्ने वेला आएको छ ।
जुनसुकै क्षेत्रमा हुने स्याल हुइँया र अतिवादिताका कारण युगिन सत्य हामीले स्थापित गर्न सकेनौँ । यसले युग सापेक्ष मूल्य विस्थापित हुँदै असत्यको वोलवाला हुँदाको परिणाम नै हामी यो अवस्थामा रहिरहेका छौँ । क्षेत्रगत वादशाह र अतिवादितालाई आजको सभ्य, सुसंस्कृत समाज स्थापनाको आन्दोलनले नबढारेसम्म मानवीय स्वतन्त्रता र दासताको पूणर् रुपमा उन्मूलन हुन सक्दैन ।
देशको नेतृत्व गर्ने राजनीतिक दलको एकातर्फ आन्तरिक लडाइँ छँदैछ, अवसर र पद प्राप्तिका लागि अस्वच्छ प्रतिस्पर्धाका कारण नेता तथा कार्यकर्तामा हिनता र मनोवैज्ञानिक त्रास खडा भएको छ भने अति देवत्वकरण, दानविकरणको प्रतिष्पर्धा चलिरहेको छ । क्षमता हुनेलाई पछार्ने, क्षमता नहुनेलाई उचाल्ने र सदैव आफ्नैमात्र भजन गान होस् भन्ने हिजो र आजको प्रवृत्तिले एकातर्फ व्यक्ति पलायन र प्रतिभा पलायनको अवस्था रहि आएको छ भने अर्कोतर्फ उत्पादनको समय गाली गलौज नारा भाषण र सभा सम्मेलनमा खेर गइरहेको छ । यस्तो समस्या समाधानका लागि दलहरुले संगठनात्मक प्रणालीको पुनरसंरचना गर्नु आवश्यक छ । नेता तथा कार्कर्ताको मनोवैज्ञानिक अध्ययन, रुचि, चाहना र क्षमताको अध्ययन, जीवन शैली र जीवन वृत्तिलाई समेत अध्ययन गर्दै वैज्ञानिक व्यवस्थापकिय योजना ल्याउनु पर्दछ । हार्दिकता, सहिष्णुता, भाइचारा, परोपकारिता, सकरात्मकता, मानवता, सहृदयता विश्व बन्धुता जस्ता मानव गुढहरसलाई बिर्सेर अगाडि बढ्दा हाम्रा आदर्श मूल्य मान्यतालाई हामीले गुमाउँदैछौँ । समयमा नै नसोच्ने हो भने हाम्रो संस्कार र जीवन व्यवहार कस्तो बन्ला कल्पना समेत गर्न सकिँदैन ।
हामी आफ्नो आँगमा भैँसी हिँडेको देख्दैनौँ, अर्काको आँगमा जुम्रा हिँडेको देख्दछौँ । पर निन्दामा दिन बिताउनु हाम्रो संस्कृति बनेको छ । हामी आफूलाई आफै देवत्वकरण गर्दछौँ र अरुलाई दानवीकरण गर्दा आनन्द मान्दछौँ । आफूलाई शेर र अरुलाई भुसुना ठान्दछौँ । दया, माया प्रेम भाव करुणा, सहानुभूति बिर्सेर हामी जड बन्दै गइरहेछौँ, देश होइन हामी मरुभूमि बनिरहेछौँ ।