१७ चैत २०७९, शुक्रवार

नगरपालिकाले सुरु गर्‍यो नसर्ने रोगको निःशुल्क स्वास्थ्य शिविर !

म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा आज (आइतबार)देखि नसर्ने रोगको रोकथाम तथा प्रारम्भिक पहिचानका लागि स्क्रिनिङ शिविर सुरु भएको छ । ग्रामीण भेगका सर्वसाधारण, नागरिकलाई घरदैलोमै पुगेर नसर्ने रोगको पहिचान गरी स्वास्थ्य सेवा दिने उद्देश्यले निःशुल्क शिविर सञ्चालन गरिएको हो । 

घतान स्वास्थ्यचौकीमा आयोजित शिविरको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले पहिलो चरणमा नगरभित्र रहेका सबै स्वास्थ्य संस्थाहरुमार्फत सुगर, प्रैसरलगायत नसर्ने रोगको पहिचान गर्न शिविर आयोजना गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा स्वास्थ्यचौकीहरुमार्फत पाठेघर तथा स्तन क्यान्सरलगायत अन्य रोगको पहिचान गर्नका लागि पनि स्वास्थ्यसम्बन्धी शिविरहरु निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो । 

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले आम नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर आवश्यक पहल गरिने बताउँदै निःशुल्क स्वास्थ्य शिविरबाट अधिकतम लाभ लिन सेवाग्राहीलाई आग्रह गर्नुभयो । शिविर आयोजना गर्नुको उद्देश्यमाथि प्रकाश पार्दै बेनी नगरपालिकाको स्वास्थ्य संयोजक लिला गौतमले समयमै नसर्ने रोगको पहिचान गर्न सकेको खण्डमा समुदाय तथा परिवारमा हुने आर्थिक र मानवीय क्षतिलाई कम गरी स्वस्थ नागरिक उत्पादन गर्न सकिने बताउनुभयो । 

कार्यक्रमको अवसरमा घतान स्वास्थ्यचौकी व्यवस्थापन समितिका निवर्तमान पदाधिकारीलाई विदाई गर्नुका साथै नवनिर्वाचित जनप्रतिनिधि र पदाधिकारीलाई स्वागत गरिएको थियो । कार्यक्रममा घतानका निवर्तमान वडा अध्यक्ष एवं स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर चोखालले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम घतानका वडा अध्यक्ष एवं स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर केसीको अध्यक्षता, स्वास्थ्यचौकी इन्चार्ज जमुना शर्माको सञ्चालन र अहेव कल्पना ढुङ्गानाको स्वागतमा सम्पन्न भएको थियो । 

गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनबाट बेनी नगरपालिकामा निर्वाचित नगर प्रमुख सुरत केसीले पदभारग्रहण गर्दै स्वास्थ्यसम्बन्धी तीनवटा निणर्यमा पहिलो हस्ताक्षर गर्नुभको थियो । पदभारग्रहणका क्रममा नगरका स्वास्थ्य संस्थामार्फत प्रत्येक महिनाको एकपटक ७० वर्षदेखि माथिका ज्येष्ठनागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने, हरेक महिनाको १५ गते स्वास्थ्य संस्थाहरुमा ४५ वर्षदेखि माथिका नागरिकहरुलाई लक्ष्ति गरेर नसर्ने रोगको स्वास्थ्य शिविर सञ्चालन तथा नगर भित्रका विपन्न २ सय घर परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिने निणर्य गरिएको थियो । 

सोही निणर्यअनुसार आइतबार बेनी नगरका ६ वटा स्वास्थ्यचौकीहरुमा निःशुल्क रुपमा नसर्ने रोगको पहिचान गर्नका लागि ४५ वर्षभन्दा माथिको उमेर समूहलाई लक्षित गरेर शिविरको आयोजना गरिएको हो । शिविरमा कुल ६ सय ५० जनाले सेवा लिएकोमा सबैभन्दा धेरै पुलाचौर स्वास्थ्यचौकीमा १ सय ४४ जनाले सेवा लिएको बेनी नगरपालिकको स्वास्थ्य शाखाले जनाएको छ । 

यसैगरी सिङ्गामा सञ्चालित शिविरमा १ सय ४२ जना, घतानमा १ सय १९, ज्यामरुककोटमा ९७, रत्नेचौरमा ९३ र भकिम्ली स्वास्थ्यचौकीमा ५५ जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविर अब हरेक महिनाको १५ गतेका दिन नियमित रुपमा सञ्चालन हुने जनाइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *