१६ चैत २०७९, बिहिवार

मजदुर, किसान, महिला, दलित, उत्पीडित, लैङ्गिक, बिपन्न, विद्यार्थी, धर्म र सांस्कृतिक सम्पदाहरुका मुद्दा उठाएकै कारण म लगभग जितको नजिक पुगेको छु ।

लोकनाथ भुसाल “घायलश्री” फलेवास नगरपालिका-४, मुडिकुवाका स्थानीय हुन् । पेसाले पत्रकार तथा ज्योतिष हुन् । उनको साहित्यमा पनि उत्तिकै रुचि छ । भुसालका केही पुस्तकहरु पनि प्रकाशित भएक छन् । विभिन्न जिल्लाहरुमा उनका एकल कविता वाचन पनि भएका छन् भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक पुरस्कारहरु पनि प्राप्त गरेका छन् । उनै युवा लेखक भुसाल यो पटक फलेवास नगरपालिका-४, मुडिकुवाको वाड अध्यक्षमा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवार रहेका छन् । उनै भुसालसँग गरेको यो छोटो कुराकानी यहाँहरु समक्ष प्रस्तुत गरेका छौं ।

तपाईं साहित्य लेखिरहेको मान्छे राजनीतिमा किन आउनु भो?

= साहित्यले राजनीतिलाई चलाउने गर्दछ । बिपि कोइराला पनि पहिले साहित्यकार हुनुहुन्थ्यो अनि मात्र राजनीतिज्ञ । कोइरालाई साहित्यले सफल राजनितिज्ञ बनाएको हो । मदन भण्डारी पनि राम्रो कवि हुनुहुन्थ्यो, उहाँका हरेक शब्दहरु साहित्यले सिँगारिएका हुन्थे र सुनिरहुँ जस्तो लाग्थे । हरेक शब्दहरुभित्र सिंगो जीवन र जगत भेटिन्छन् । त्यसैले, साहित्यमा कोरिने शब्दहरु समाजमा उतार्नका लागि नै म राजनीतिमा आएको हुँ ।

तपाईंले चुनाव जित्नु भो भने साहित्य क्षेत्रमा के गर्ने सोच छ?

= मैले चुनाव जितेको खण्डमा कुनैपनि साहित्यकार, लेखक, पत्रकार अपमानित हुनुपर्ने छैन । ब्यर्थै साहित्यमा लागेँ भनेर निराशा हुनुपर्ने छैन । साहित्य सिर्जना गर्ने उपयुक्त वातावरण बनाउने छु भने साहित्यकारहरुको सम्मान र साहित्यकारहरुको परिचय पत्र दिलाएर गर्व गर्ने वातावरण बनाउने छु । वाडभित्र निष्पक्ष साहित्यिक संस्था खोलेर साहित्य लेखनसँगै अग्रज र अनुजहरुको संरक्षण तथा सम्बर्द्धन गर्ने वातावरण बनाउनेछु ।

स्थानिय चुनाव मुखैमा आयो । यहाँ वडाअध्यक्ष पदमा उम्मेद्वारी दिनुभएको छ । तयारी कस्तो छ ? जित्नुहुन्छ?

= तयारी राम्रो छ । मसँग समाजलाई नजिकबाट बुझेका बौद्धिक बर्गहरु हुनुहुन्छ । युवा साथीहरुको साथ र सहयोगले उत्तिकै उत्साहित हुँदै गएको छु । मजदुर, किसान, महिला, दलित, उत्पीडित, लैङ्गिक, बिपन्न, विद्यार्थी, धर्म र सांस्कृतिक सम्पदाहरुका मुद्दा उठाएकै कारण म लगभग जितको नजिक पुगेको छु ।

टिकट पाउन पैसा लाखौँ बगाउनु पर्छ भन्छन्, साँच्चै हो? तपाईँले पनि टिकट पाउन पैसा गर्नु पर्यो कि?

= पहिले म पनि यही सुन्थें कि राजनीतिमा अगाडि आउनका लागि पैसा लगानी गर्नुपर्छ । तर अहिलेसम्म मैले राजनीतिकै लागि भनेर आफ्नो समय बाहेक कुनैपनि किसिमको लगानी गर्न परेको छैन ।

के कारणले उम्मेद्वारी दिनुभयो । यो पदको लागि आफू योग्य छु भन्ने आधारहरू के के छन् तपाईँसँग?

= पहिलो कुरा राजनीतिलाई पेसा बनाउनेहरुलाई “राजनीति पेसा होइन सेवा हो” भन्ने अनुभूति दिलाउनका लागि नै मेरो उम्मेदवारी हो । दोस्रो कुरा युवाहरु अगाडि आउनुपर्छ भन्ने सोच र हिम्मतका कारण नै म राजनीतिमा आएको हुँ । तेस्रो कुरा मजदुर, किसान, महिला, दलित, उत्पीडित, लैङ्गिक, बिपन्न, विद्यार्थी, धर्म र सांस्कृतिक सम्पदाहरुका मुद्दाहरु सम्बोधन गर्नका लागि नै म राजनीतिमा आएको हुँ ।
सामाजिक, साहित्य र पत्रकारिता क्षेत्रबाट आएको ब्यक्ति भएका कारण पनि राजनीतिको यो पदमा बसेर काम गर्नका लागि आफूलाई योग्य सम्झेको छु ।

यहाँको चुनावी एजेन्डा के के छन् ? तपाईँले जित्नु भएमा वार्डको लागि के तेस्तो काम गर्नुहुनेछ जो अरुले गरेनन् ।

= मैले जितेको खण्डमा वाडका लागि गर्नुपर्ने कामहरु धेरै छन् तर छोटकरिमा मैले गर्नुपर्ने कामहरुको प्रतिबद्धता पत्र निम्न रहेका छन् ।
१) हरेक युवाहरुलाई निःशुल्क सीपमूलक तालिम दिने ।
२) घाटको ब्यवस्थापन गर्दै दाहसंस्कारका लागि दाउरा नि:शुल्क उपलब्ध गराउने ।
३) सुत्केरी महिलालाई सुत्केरी भत्ता र मृतकका परिवारलाई दाहसंस्कारका लागि सहयोग गर्ने ।
४) अपाङ्ग, अशक्तहरुलाई वाडको सहयोगमा निःशुल्क शिक्षा दिने ।
५) मद्यपान तथा धुम्रपानको ब्यवस्थापन गर्ने ।
६) स्वास्थ्य चौकीमा भरपुर औषधि र स्वास्थ्य स्वयम सेवकहरुद्वारा घरघरमा गएर मासिक स्वास्थ्य परिक्षण गर्ने ।
७) बृक्षारोपण तथा प्रकृति संरक्षणमा भरपुर लगानी गर्ने ।
८) आधुनिक पुस्तकालय बनाउने ।
९) खेल, कला तथा साहित्यतर्फ आकर्षित गराउन त्यस सम्बन्धि नि:शुल्क तालिम, कोष स्थापना, सम्मान तथा परिचयपत्रको ब्यवस्था ।
१०) मुडिकुवालाई वाईफाई फ्रि जोन बनाउने ।
११) पार्क निर्माण गर्ने ।
१२) बौद्धिक ब्यक्ति, कवि, लेखक तथा पत्रकारहरुलाई प्रोत्साहन तथा सम्मान गर्ने ।
१३) सरकारी भवनहरुका भित्ताहरु कलाले सजाउनु पर्ने प्रावधान राख्ने ।
१४) स्थानीय उद्योग धन्दा तथा घरेलु ब्यवसायहरुलाई प्राथमिकता दिने ।
१५) बृद्ध बा, आमाहरुलाई भजन, किर्तन भवन निर्माण गर्ने ।
१६) ३० युनिटसम्म निःशुल्क विद्युत प्रयोगको ब्यवस्था मिलाउने ।
१७) आमा समूहहरुलाई लक्षित गरि स्वरोजगारी मुलक तालिमको ब्यवस्था गर्ने ।
१८) ६० बर्स माथिका हरेक नागरिकलाई द्वेमासिक रुपमा ग्यास उपलब्ध गराउने ।
१९) वाल उद्यान र जेष्ठ चौपारी निर्माण गर्ने।
२०) वाडभित्रका सम्पदाहरु (मठ/मन्दिर, तलाउ, गुफा, चौतारी तथा धार्मिक स्थलहरुको प्रचार, सम्बर्द्धन र संरक्षण गर्दै व्यापक प्रचारप्रसार गर्ने ।
२१) अतिविपन्न परिचय पत्र वितरण गरेर खानेपानी, स्वास्थ, शिक्षा र सिपमुलक तालिमहरुमा लगानी गर्ने ।
२२) प्राविधिक शिक्षा संचालन गर्ने ।
२३) मजदुर तथा कृषक सहायता कोष निर्माण गरेर कृषि क्षेत्रमा भरपुर लगानी गर्ने ।
२४) सुविधा सम्पन्न वहुउद्देश्यीय खेल मैदान वनाउने।
२५) कार्यालयमा सजिलोसँग जनताका काम हुने वातावरण बनाउने ।
२६) वाडभित्र धार्मिक तथा सांस्कृतिक पर्यटकहरु भित्र्याउने वातावरण बनाउने !
(हरेक नागरिकको निशुल्क शिक्षा र स्वास्थ्यको जिम्मा नेपाल सरकारले लिनका लागि दवाब दिने ।)

चुनावी एजेन्डाहरू त हरेक उम्मेद्वारको राम्रानै हुन्छन् । मतदातालाई यस्तो लागिसक्यो कि, यी सब भ्रामक कुरा हुन्, चुनाव जित्ने दाउ मात्र हो । मतदाताको यो कुरालाई कसरी चिर्नुहुन्छ ?

= म समाजका समस्याहरु नजिकबाट बुझेर नै राजनीतिमा आएको ब्यक्ति हुँ । र अर्को कुरा धर्म, संस्कार र संस्कृतिमा आस्था राख्ने स्वभाव भएकै कारण ढाट्नु र झुटो बोल्नु पाप ठहर्छ भन्ने मान्यता बोक्ने ब्यक्ति भएकै कारण पनि यी एजेन्डा पूरा गर्न सक्छु भन्ने दृढता कारण जसरी पनि यी एजेन्डा पूरा गर्न सक्छु भन्ने लाग्दछ ।

चुनाव अघि गरेका वाचा पुरा नगर्ने, भोट माग्दा नमस्कार गर्ने हातहरू काम पर्दा फोन समेत नउठाउने जस्ता गुनासा जताततै सुनिन्छ । यस्तो हुँदैन भनेर तपाईँले कसरी आश्वस्त पार्नुहुन्छ आफ्ना मतदातालाई ?

= म बोल्न भन्दापनि काम गर्नका लागि आएका हुँ । युवा पुस्ता उर्जाशील भएको र त्यही उर्जा समाज रुपान्तरणमा उतार्नका लागि पनि म र मजस्ता उर्जाशील युवाहरु नेतृत्वमा पुग्नुपर्छ । अहिले सामान्यभन्दा सामान्य कामहरु गराउन हजुर, ज्यू भन्दै कर्मचारीहरुकै पाउ मल्नुपर्ने अवस्था छ । कतिपय समस्याहरु म आफैंपनि झेल्दै आएको छु । यी र यस्ता समस्याहरुबाट छुटकारा दिलाउन पनि म राजनीतिमा होमिएको हुँ ।
अन्त्यमा आफ्ना मतदाताहरुलाई के भन्न चाहानुहुन्छ ?

= म वाडको विकास गर्न र वाडभित्र हुनेगरेका समस्याहरु हटाउन अनि विभेदरहित समाज निर्माणका लागि वाड अध्यक्षको पदमा उम्मेदवारी दिएको छु । म आफ्नै कसम खाएर भन्छु “मबाट भ्रस्टाचार हुनेछैन ! निम्न बर्गका आवाजहरु मेरा महत्वका विषयहरु हुनेछन् ।” त्यसैले यो पटक यो वा त्यो पार्टी नभनेर “कलम” चिन्हमा आफ्नो मत दिएर मलाई सहयोग गरिदिनुहुन वाडबासीहरु समक्ष हार्दिक अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *