कविता
“दिवस गौडेल”
उनी अर्कैकी हुन् थाहा छ
तर पनि उनलाई प्रेम गर्ने
म हुँ दोश्रो प्रेमी !
अर्कोलाई प्रेम गर्ने मान्छेले
मलाई किन प्रेम गरोस्
अरूलाई विश्वास गर्ने मान्छेले
मलाई किन विश्वास गरोस्
सबै कुरा थाहा पाएर पनि
उनीलाई माया गर्ने
म हुँ दोश्रो प्रेमी !
चुम्बकले फलाम ताने जस्तै
उनलाई तान्ने कोही छ
माया गर्न नजान्ने मान्छे म
उनलाई आफ्नो माया देखाउन मात्र खोज्ने
तर
अर्कैको प्रेमको डोरीले
उनलाई बाधेको छ
सबै थाहा पाएर पनि
उनैलाई माया गर्ने
म हुँ दोश्रो प्रेमी !
एउटा मकैको बोटमा
दुई घोगा लागे सरी
उनका पनि दुई घोगा प्रेमी छन्
एकलाई उनले माया गर्छिन्
अर्कोले उनलाई माया गर्छन्
एउटा घोगाले माया पाएर
हरलक्क बढेको छ
अर्को घोगा मायाकै खातिर तड्पिएर
कलेटिएको छ
मायाको लागि तड्पिने
म हुँ दोश्रो प्रेमी !
उनी ऊ बिना बाँच्दिनन्
हर बिहान बास्दिनन्
म उनी बिना बाँच्दिनँ भन्ने थाहा छ
र पनि कलेटिएरै
उनीलाई माया गर्ने
म हुँ दोश्रो प्रेमी !
फलेवास नगरपालिका-४, मुडिकुवा पर्वत