एमाले अध्यक्ष ओलीप्रति लक्षित अभिव्यक्ति दिएकै कारण नेता घनश्याम भुसालमाथि कारबाही गर्न स्पष्टीकरण सोध्ने निर्णय भएपछि ‘एकता–एकता’ भन्दै हिँडेका नेताहरू अप्ठेरोमा परेका छन् ।
अर्थात्, पार्टी विभाजनका आधारभूत कारणमाथि छलफल त के विषय प्रवेश नै नहुने स्थितिमा विभाजित पार्टीलाई ओलीले सजिलै रेस्पोन्स दिने कुरा कल्पनाभन्दा बाहिरको हुने समाजवादीका एक नेताले बताए ।
‘जुन कम्युनिष्ट पार्टीमा नेतृत्वको आलोचना गर्न पाइँदैन, घटनाक्रमहरूको स्वतन्त्र ढंगले विश्लेषण गर्न र धारणा बनाउन पाइँदैन, त्यस्तो स्थितिको पार्टीसँग एकता हुन्छ भन्नु नै हाँस्यास्पद कुरा हो’, ती नेताले भने, ‘यदि, ओली सच्चिएका हुन् भने उनले घनश्यामलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने बाटो नै लिँदैन थिए ।’
अन्तर्घातको आगो
स्थानीय तह निर्वाचनमा देशभरि भएका अन्तर्घातका रिपोर्ट केन्द्रीय कार्यालयमा पुग्न थालेपछि अध्यक्ष ओलीले ती सबै रिपोर्टलाई बालकोटमा मगाएर गुपचुप पारिरहेको स्रोतले जनाएको छ ।
‘आफ्ना मान्छेलाई जोगाउनका लागि रिपोर्टहरू नै नष्ट पारिँदैछ’, एमाले स्रोतले भन्यो, ‘१० बुँदे पक्षधर मध्ये दुई–तीन जनाबाहेकलाई पन्छाउनुपर्ने उनको एकसूत्रीय अभ्यास छ ।’
पोखरा महागरपालिकाको निर्वाचनमा अन्तर्घातबारे त्यहाँका नेता खगराज अधिकारीले उपमहासचिव पृथ्बीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल र केन्द्रीय सदस्य विष्णु रिजालविरुद्ध उजुरी गरेका छन् ।
त्यस्ता उजुरी झापा, सुनसरी, मकवानपुर, रुपन्देही, कैलाली, कञ्चनपुरबाट पनि आएका छन् । आरोपितहरू प्रायः ओलीपक्षीय छन् । तर, ती उजुरीहरू नष्ट गर्ने काममा बालकोटको सक्रियता बढेको छ ।
घनश्यामपछि ओलीले पृथ्वीसुब्बा गुरुङसहित केही १० बुँदे पक्षधर नेतालाई कारबाही अगाडि बढाउने सम्भावना रहेको एमाले स्रोतले बताएको छ ।