१७ चैत २०७९, शुक्रवार

“देब्रे हातमा ब्रेक, दाहिने हातमा एक्सेलेटर !”


अमर न्यौपाने
………………
चौध वर्षको किशोर उमेरको नदी बढ्दै थियो । प्रेम र बैँसका कुरा सुन्न आतुर थिएँ। एक दिन रेडियोबाट अचानक एउटा गीत सुनेँ–
यो सम्झिने मन छ म बिसूं कसोरी
तिमी नै भनिदेऊ ए जाने निठुरी !
एकैछिनमा गीत सकियो तर, मनमा भने हरबखत गुञ्जिरह्यो । कहिलेकाहीं त राति सपनामा पनि यही गीत सुन्न थालेँ । रेडियोमा फेरि यो गीत कहिले बज्ला भनेर यो एउटा गीत सुन्न मैले सयौँ अरू गीत सुन्न थालेँ । यही एउटा गीतले अरू थुप्रै गीत सुन्ने र मन पराउने बनाइदियो मलाई ।
पछि सोचें, यति मिठो गीत गाउने त नारायणगोपाल हुन्, लेख्ने को होलान् ? अर्को पटक गीत सुन्दा रेडियोबाट नै थाहा पाएँ, गीतकार रहेछन्- दिनेश अधिकारी।
आफ्नै मनलाई मुटुबाट झिकी फूलको थुंगालाई पूजाको थालीमा राखेझैँ राखेर कसरी भन्न सकेका होलान् गीतकारले- “यो सम्झिने मन छ म बिर्सु कसोरी ?”
त्यही बेलादेखि म कवि दिनेश अधिकारीको फ्यान भएँ। त्यतिखेर रेडियोको नाममा रेडियो नेपालमात्र थियो । रेडियो नेपालले गीतकारको नाम भनेर आफ्नो धर्म पूरा गर्थ्यो जब कुनै गीतको गीतकार रेडियोले ‘दिनेश अधिकारी’ भन्थ्यो म गीत सुन्न अझ सचेत हुन्थें ।
सुनेरमात्र पुगेन । मलाई उहाँका गीतमा सङ्गीत र स्वरविना नै सङ्गीत र स्वर खोज्न मन लाग्यो। यदि गीत उत्कृष्ट छ भने पढ्दाखेरी पनि गीतमा आफैँ हृदयमा सङ्गीत बज्नुपर्छ र स्वर गुञ्जनुपर्छ, जुन सङ्गीत र स्वर संसारकै उत्कृष्ट हुन्छ ।
२०५५ सालतिर होला, मैले पहिलो पटक उहाँको गीतसङ्ग्रह पढ़ें- ‘आफ्नै मन आफ्नै आँगन’ ।
अँगेनीको ओदान हो विधवाको छाती
दिनभरि पोलिराख्छ, बल्न थाल्छ राती !

रक्सी बेचें, आलु बेचें, बेचें च्यूरामासु
सबैभन्दा धेरै बिक्यो जोबनको हाँसो !

“कहिले पेट भर्ने हो
कहिले भोटो फेर्ने हो
हाम्रो गाउँको ज्यामी कान्छो
आँसु पिउँदै मर्ने भो”
पढ्दा पनि उत्तिकै आनन्द आयो मनमा । गीत पढ्दै जाँदा मनले गीतअनुसार आफ्नै किसिमको सङ्गीत दियो, स्वर दियो । अर्को अचम्म त के भने धेरै गीतहरू पढिन्जेल गीत लागे पनि पढिसकेपछि कथा भएर मनमा छापिन्थे। “अँगेनीको ओदान हो….” मा एउटी तरुनी विधवाको कथा पाएँ। ‘रक्सी बेचें, आलू बेचें…” मा एउटी सुन्दरी भट्टी पसल्नीको कथा पाएँ। तरुनी भएदेखि बूढी हुँदासम्मको कथा एउटा गीतमा अटेको छ ।
रूप गीतको तर त्यसको प्रभाव गीत र कथा दुवैको । यो विशेषताले गीतलाई अझ प्रभावी बनाउँदो रहेछ। यिनै गीतहरू समेटेर एउटा एल्बम आयो, जहाँ दिनेश अधिकारीका मात्र गीत थिए । शक्तिबल्लभको एकल सङ्गीत। ‘अनुभूति’ शीर्षकको त्यो गीतिएल्बम मेरो एकान्तको साथी बन्यो ।
त्यसपछि मैले उहाँका कविताको किताब पनि खोज्न थालेँ । ‘धर्तीको गीत’, ‘आदिम आवाज’ र ‘अतिरिक्त अभिलेख’ पढ़ें। ‘हर्कबहादुर’ देखि ‘बिहे एक’ र ‘बिहे दुई’ सम्मका कविताहरू, प्रायः जुन कवितामा पनि आख्यान । एकदम सरल ।
कहिलेकाहीँ म मेरी नपढेकी आमालाई दिनेश दाइका कविता सुनाउँथेँ। आमा गज्जबले बुझ्नुहुन्थ्यो । कविता अनुसारको भाव आमाको अनुहारमा झल्किन्थ्यो। सरल कविताको शक्ति भनेकै तरल हुनु हो। तरल ठोसभन्दा बलियो हुन्छ। त्यसैले त पानीले ढुङ्गा फोर्न सक्छ तर ढुङगाले पानी फोर्न सक्तैन ।
‘बिहे एक’ र ‘बिहे दुई’ कविता कण्ठै आउँथ्यो। अहिले पनि आउँछ। साठी सालतिरको कुरा हो। खाली पिरियडमा मैले शिक्षक-शिक्षिकाहरुलाई यसै सुनाएँ । यो कविताबाट प्रभावित भएर एक जना मिसले त मलाई नै भुतुक्कै हुनेगरी मन पराइन् । दिनेश दाइ सामुन्ने भएको भए के हुन्थ्यो होला ? मैले भनेँ- “यो कविता दिनेश अधिकारीले लेख्नुभएको हो।” तैपनि त्यो मनपराइ ममाथि नै खनियो ।
खासमा त्यो कविताले उनीभित्रको रागलाई जगाइदिएको हो र दिनेश दाइलाई मन पराइएको हो ।
मैले मन पराएका कवि या कलाकारहरूलाई भौतिक रूपमा कतिखेर भेटौँ भन्ने कहिल्यै लागेन । भेट्ने प्रयास पनि गरिनँ। अलिकति परबाट भने हेर्न मन लाग्थ्यो । कवि दिनेश अधिकारीलाई पनि मैले धेरै पटक त्यसरी नै हेरेको थिएँ । यत्तिमै म सन्तुष्ट थिएँ।
विष्णुविभु घिमिरे र दिनेश अधिकारीले संयुक्त रूपमा लेख्नुभएको ‘समय’ शीर्षकको कविता, जुन ०३८ साल माघ २२ गते राष्ट्रपुकार साप्ताहिकमा छापिएको रहेछ । यही कविताका कारण उहाँहरूलाई तात्कालीन व्यवस्थाले मुद्दासमेत लगाएको रहेछ। त्यही बेला उहाँहरूले सँगै श्यामश्वेत फोटो पनि खिच्नुभएको रहेछ । त्यो फोटो कवितासहित, सायद ०५६ सालमा, कान्तिपुरमा छापिएको थियो । त्यो फोटो र कविता मलाई यति प्रिय लाग्यो कि मैले पत्रिकाबाट काटेर आफ्नो डायरीमा टाँसें अहिले पनि डायरीमा होला ।
०५५/०५६ सालतिर हो क्यारे । नेपाल टेलिभिजनमा दिनेशदाइ र भाउजू दुवैको अन्तर्वार्ता हेर्न पाएँ । खुब रमाइलो लाग्यो । आफूलाई भाग्यमानी सम्झिएँ । किनभने उहाँलाई मैले आफूले मात्र हेर्न पाएको थिएँ। टेलिभिजन श्यामश्वेत भए पनि उहाँका कुराहरू रङ्गीन थिए। अनुहारको भाव र भावुकता पनि रगीन थियो । उहाँको बोल्ने कला र कुराबाट पनि म असाध्यै प्रभावित भएँ ।
२०६९ साल, महिना असोजजस्तो लाग्छ । कालिका एफएमले आयोजना गरेको चितवनको कार्यक्रममा दिनेशदाइ सँगसँगै मञ्चमा बस्नेमा परियो । राजेश्वर देवकोटा पनि हुनुहुन्थ्यो ।
त्यहाँ भेट्दा र बोल्दा यस्तो लाग्यो, आजसम्म मैले सँगालेर राखेको प्रेम मैले एकैसाथ खन्याएँ । म धेरै बोल्नै सकिनँ। हेरिरहें । उहाँको अनुहार हेर्दा मनोलोकमा कहिले ‘यो सम्झिने मन छ म बिर्सु कसोरी’ बजिरह्यो, कहिले ‘रक्सी बेचें, आलु बेचें, बेचें च्युरा मासु’ बजिरह्यो । कहिले ‘हर्कबहादुर’, कहिले ‘बिहे एक’ र ‘दुई’ गुञ्जिरहे ।
एउटा अग्लो मानिस । छमकट्टको शरीर । झन्डै कृष्ण वर्णको भन्दा हुने रूपरङ्ग । हँसिलो अनुहार । छोटा र साना दाँत । बीचमा दन्तद्वार। जुन मैले उहीबेला टेलिभिजनमा देख्ता नै याद गरेको थिएँ । ठिक्कका ओठ । ओठमाथि पातला जुँगा । एउटा परिपक्व र प्रौढतातिर यात्रा गरिरहेको उमेर तर कुराकानी र व्यवहारमा एकदम जवान । व्यक्तित्व र सृजना दुवै उस्तै प्रभावकारी हुँदा सुनमा सुगन्ध हुँदोरै’छ ।
त्यसपछि दिनेश दाइसँग विभिन्न कार्यक्रममाा भेट हुन थाल्यो । उहाँ सरकारी सेवाबाट निवृत्त हुनुभएकाले कार्यक्रममा भेट हुन सजिलो भएको रहेछ।
कुरैकुरामा अशेषदाइले भन्नुभयो, “दिनेश त एकदम सोचविचार गरेर काम गर्ने मान्छे हो । बाटो हेरेर मोटरसाइकल कुदाउने । उसको देब्रे हातमा ब्रेक हुन्छ, दाहिने हातमा एक्सेलेटर । कहाँ ब्रेक लगाउनुपर्ने हो, कहाँ एक्सेलेटर घुमाउनुपर्ने हो, सब थाहा छ उसलाई ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *