ऊ
आज पल्लो घर
चिच्चाउँदै रोइरहेको छ ।
अस्ति भर्खर घरको भित्ता
रातो माटो
सेतो कमेरोले पोतिँदा
मख्ख पर्दै हाँसेको त्यो घर
आज
आफ्नै मान्छेको
नमिठो गाली सुनेर
पल्लो घर
चिच्चाउँदै रोइरहेको छ ।
हिजो
नौमती बाजाको धुनमा
छमछमी कम्मर भाँच्दै
नाचेको घर
आज
सिस्नो पानीको झटारो
लाठीको बज्र सहन नसकी
आज
पल्लो घर
चिच्चाउँदै रोइरहेको छ ।
हिजो
झपक्क बलेको
मुसुक्क हाँसेको घरमा
नौमति र रतौलीको धुनसँगै
दियोको प्रकाशले बाटो देखाउँदै
लक्षिन भित्राएकी
लक्ष्मी समान बुहारीले
आज
उनीले आफूसँगै
लिएर आएको
एक बोरा लक्ष्मीले
घरको सन्दुक नभरिँदा
लक्ष्मी बनाएर भित्राएकी बुहारीमाथि
नमिठो बचनसँगै
लट्ठी, कुचो, चप्पल बर्सिदा
पल्लो घर
चिच्चाउँदै रोइरहेको छ ।
…………..
फलेवास नगरपालिका-४, मुडिकुवा पर्वत !