फलेवास नगरपालिका-४, मुडिकुवाका एक स्थानीयलाई राहत दिलाउने आश्वासन देखाएर घर भत्काइएको तर अहिलेसम्म पनि राहत उपलब्ध नगराइएको पीडितले गुनासो गरेका छन् । फलेवास नगरपालिकाका पूर्व उपमेयर मन्जु अधिकारीले राहात दिलाइदिने आश्वासन दिएर आफ्नो घर भत्काइएको तर अहिलेसम्म पनि कुनै राहात आफूले नपाएको मुडिकुवाका स्थानीय मनबहादुर नेपालीले बताए ।
खाडी मुलुक गएर पसिना बगाई जोडेको पैसाले फलेवास नगरपालिका-४, मुडिकुवामा एक घर सहितको जग्गा किनेको र उक्त घरले वरिपरिका स्थानीयलाई असर गरेको भन्दै आफूलाई राहात दिलाइदिने सर्त अनुरुप उपमेयरकै सल्लाहमा आफैले घर भत्काएको तर अहिलेसम्म कुनै राहात नपाएको नेपालीको भनाई रहेको छ ।
“मैले किनेको घर आफ्नै हातले भत्काएँ तर अहिलेसम्म मलाई कुनै राहात दिइएन” घर भत्काइएपछिको खाली जग्गा देखाउँदै नेपाली भन्छन् “हामीले नै भोट हालेर जिताएका उपमेयरले त यसरी जनतालाई दु:ख दिन्छन् भने अरु कस्को भर पर्नू?” मुडिकुवाका पूर्व वाड अध्यक्ष टिकाराम गौडेल र सचिव पोषक पौडेललाई पनि यो विषयमा जानकारी गराएको तर हामीले केही गर्न नसक्ने भन्दै पटकपटक पन्छिने गरेको पीडित मनबहादुर नेपाली बताउँछन् । नेपाली भन्छन् “मलाई अब सिंगो घर पाउँला भन्ने आस त छैन, घर भत्काउँदा लागेको ज्यामी खर्च मात्र पाएपनि धन्य हुने थिएँ ।”
यस विषयमा वाड फलेवास नगरपालिकाका प्रवक्ता तथा मुडिकुवाका वाड अध्यक्ष अच्युत तिवारीसँग कुरा गर्दा यो विषयमा आफूलाई केही जानकारी नभएको र बुझेर मात्र प्रतिक्रिया दिने बताए ।