२२ साउन २०७९, आइतवार

बंगलादेशकै सबैभन्दा लामो पद्मा पुल निर्माणमा नेपाली इन्जिनियर !

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले जुन २५ शनिबार देशकै सबैभन्दा लामो पद्मा पुलको उद्घाटन गरिन्। ६ दशमलव १५ किलोमिटर लामो चार लेनको डबलडेकर यो रेल र रोड ‘ब्रिज’ निर्माण सम्पन्न हुँदा आमबंगलादेशी जति खुसी छन्, त्यतिकै खुसी छन्–नेपाली जियोटेक्निल इन्जिनियर डा. हेमनाथ घिमिरे। 

‘पुल निर्माण गर्ने कन्सल्ट्यान्टको लिस्टमा नेपालको झण्डा समावेश भएको देख्दा अत्यन्त खुसी लागेको छ, मेरो व्यवसायिक जीवनका लागि यो अविस्मरणीय दिन भएको छ,’ हाल बंगलादेशमा रहेका घिमिरेले ह्वाट्सएपमार्फत् कुराकानी गर्दै भने। बंगलादेश सरकारको ३ दशमलव ८७ बिलियन आन्तरिक बजेटमा निर्माण भएको यो पुलमा अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा, नेपाललगायत २४ मुलुकका विज्ञहरुले काम गरेका थिए। 

पुल उद्घाटनपछि बंगलादेशकी प्रधानमन्त्री हसिनाले सबै मुलुकका विज्ञहरुसँग सामूहिक तस्बिर खिचाइन्। पुल निर्माणमा योगदान गर्ने विज्ञहरुलगायत सबैलाई उनले धन्यवाद दिइन्। त्यही दिन खुसीको अनुभूति बाँड्दै फेसबुकमा तस्बिरसहित उनले स्टाटस लेखे, ‘यो मेगा परियोजनामा जियोटेक्निकल विज्ञका रुपमा काम गर्न पाउँदा धेरै खुसी र गर्व महसुस भएको छ। मलाई यसभन्दा बढी के कुरामा गर्वानुभूति भएको छ भने विज्ञ मुलुकहरुको सूचीमा नेपाल र नेपालको झण्डा सूचीकृत भएको छ।’ 
एसिई–एसजे–स्मेक नामक अस्ट्रेलियाली कम्पनीमार्फत् घिमिरेले सन् २०१४ नोभेम्बरदेखि २०१८ फेब्रुअरीसम्म पद्मा पुल निर्माणका क्रम जिओटेक्निकल विज्ञका रुपमा काम गरेका थिए। उनको काम माटोलगायत अन्य भौगर्भिक वस्तुहरुको परीक्षण गरेर प्राविधिकहरुलाई गाइडलाइन प्रदान गर्नु रहेको थियो। माटो परीक्षणपछि मात्र पुललाई बलियो बनाउन कस्तो वस्तुहरु प्रयोग गर्ने भन्ने निक्र्योल हुन्छ।  

त्यसपछि बीचका केही वर्ष स्वतन्त्र परामर्शदाताका रुपमा काम गरेका उनले पछिल्ला केही महिनायता फेरि पद्मा प्रोजेक्टमा जियोटेक्निकल इन्भेस्टिगेटरका रुपमा काम गर्दै आएका थिए। पद्मा पुल निर्माण सम्पन्न भएर उद्घाटन भएसँगै उनको जिम्मेवारी र दायित्व सकिएको छ। उनी केही सातापछि नेपाल फर्किदैछन्। 

भारतीय भूमिमा बग्ने गंगा नदीलाई नै बंगलादेशमा पद्मा नामले पुकारिन्छ भने ब्रह्मपुत्रलाई जमुना भनेर सम्बोधन गरिन्छ। गंगा, ब्रह्मपुत्र र मेघना नदीहरुको मिलन भएपछि बन्ने नदी प्रणालीको चौडाइ ५ देखि १० किलोमिटर रहेको छ। यो संसारकै तेस्रो ठूलो नदी प्रणाली हो। त्यही नदीमाथि निर्माण भएको पद्मा पुलले बंगलादेशको शारियतपुर र मदारीपुरलाई जोड्ने र यो देशकै ऐतिहासिक र गौरवशाली योजना भएको बंगलादेश सरकारले जनाउँदै आएको छ। 

घिमिरेले स्मेक कम्पनीमार्फत् सन् २००६ देखि नै एक्सपर्टका रुपमा विभिन्न मुलुकमा काम सुरु गरेका हुन्। उनले पूर्वी टिमोर, अफगानिस्तान, लाओस, मलेसियालगायत मुलुकमा जियोटेक्निल इन्जिनियरका रुपमा काम गरिसकेका छन्। 

बाहुनडाँडादेखि होक्काइडोसम्म

हेमनाथको पुर्ख्यौली थलो लमजुङको बाहुनडाँडा हो, जसलाई पुस्तुन पनि भनिन्छ। उक्त गाउँ स्वर्गीय राष्ट्रकवि माधव घिमिरेको पुख्र्यौली थलो पनि हो। अहिले नयाँ संरचनाअनुसार उक्त गाउँ मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ४ मा पर्छ। हो, त्यही गाउँमा ५६ वर्षअघि उनी जन्मिएका हुन्। 

स्थानीय चन्द्रोदय निमाविमा उनले कक्षा ४ सम्म अध्ययन गरे। २०३२ सालमा खुला प्रतिस्पर्धाबाट बूढानीलकण्ठ स्कुलमा कक्षा ४ मा अध्ययन गर्नका लागि उनले छात्रवृत्ति प्राप्त गरे। उनले २०३९ सालमा बूढानीलकण्ठ स्कुलबाट एसएलसी उत्तीर्ण गरे। एसएलसीपछिको उच्चशिक्षा अर्थात् आइएस्सी उनले अमृत साइन्स क्याम्पस (अस्कल) बाट पूरा गरे। ‘त्यसबेला बूढानीलकण्ठ स्कुलमा क्याम्ब्रिज युनिभर्सिटीको ए लेभलको पढाइ सुरु भएको थिएन, उपत्यकाका विद्यार्थीले साइन्स पढ्नका लागि अस्कल, त्रिचन्द्र, पाटन कलेज रोज्नुको विकल्प थिए,’ उनी सम्झिन्छन्।

२०४४ सालमा उनले कोलम्बो प्लानअन्तर्गत भारत, कोलकाता युनिभर्सिटीको बंगाल इन्जिनियरिङ कलेज (जसलाई अहिले आइआइइएसटी भनिन्छ) मा इन्जिनियरिङ पढ्न छात्रवृत्ति पाए। त्यही कलेजबाट उनले २०४८ सालमा ‘माइनिङ इन्जिनियरिङ’ विषयमा बिई सिध्याएपछि नेपाल फर्किएर लोक सेवाको परीक्षा दिए। लोकसेवा उत्तीर्ण गरेपछि उनले खानी तथा भूगर्भ विभागमा पाँच वर्ष ‘माइनिङ इन्जिनियर’का रुपमा काम गरे।

सन् १९९८ मा थाइल्यान्डको बैंककस्थित एआइटीबाट उनले इन्जियिरिङ र अप्लाइड जियोलोजीमा स्वर्ण पदकसहित मास्टर्स डिग्रीको पढाइ पूरा गरे। ‘रक मेकानिक्स’मा पिएचडी गर्न सन् २००० अक्टोबरमा उनी जापानको होक्काइडो युनिभर्सिटी भर्ना भए। सन् २००४ मा मेमा ‘स्ट्रक्चरल एन्ड जियोटेक्निकल इन्जिनियरिङ’ (रक्स मेकानिक्स) मा पिएचडी सिध्याएर उनी नेपाल फर्किए। ‘त्यसपछि दुई वर्ष नेपालमा मुग्लिन–नारायणगढ सडक खण्डमा काम गरेँ, त्यही बेला अस्ट्रेलियाली कम्पनीसँग सम्झौता भएपछि विदेशमा काम गर्ने अवसर जुरेको हो,’ उनी भन्छन्। सन् २०१० सम्म विदेशका पुल, रेल्वे आदि प्रोजेक्टमा काम गरिसकेपछि उनी नेपाल आए। 

त्यसपछि लमजुङ विद्युत विकास कम्पनीमा महाप्रबन्धकका रुपमा उनले दुई वर्ष काम गरे। सन् २०१२ पछि भने उनी कामको सिलसिलामा फेरि विदेश गए। 

‘विदेशमा राजनीतिक हस्तक्षेप हुँदैन’

घिमिरेले स्वदेश तथा विदेशका विभिन्न कम्पनी तथा निकायमा विज्ञका रुपमा रहेर काम गरिसकेका छन्। विदेशमा विज्ञका रुपमा काम गर्दा प्राविधिक विषयमा अडिग भएर काम गर्न सकिने उनको अनुभव छ। 

‘विदेशमा राजनीतिज्ञहरुले विज्ञका कुराहरु सुन्छन्, आफ्नो व्यक्तिगत लाभहानिका लागि महत्वपूर्ण परियोजनामा हस्तक्षेप गर्दैनन्,’ उनी सुनाउँछन्। उनको विचारमा विकास निर्माणका काममा नेपालको परिदृश्य भने नितान्त फरक छ। यहाँ एउटा विज्ञले प्राविधिक पक्षमा एकदमै स्वतन्त्र भएर काम गर्ने माहोल नभएको उनको धारणा छ।

‘नेपालका परियोजनामा प्राविधिकभन्दा पनि अन्य पक्ष हाबी हुन्छ। खासगरी राजनीतिक हस्तक्षेपले गर्दा हामीकहाँ काम गर्न गाह्रो छ। विकासका आयोजनामा राजनीतिक हस्तक्षेपले मुलुक दुरावस्था भयो,’ उनी भन्छन्। नेपालमा सडक, पुल, सिँचाइलगायत ठूलो परियोजनाको संरचना कमसल हुनुमा राजनीतिक हस्तक्षेप कारक रहेको उनको भनाइ छ। 

घिमिरेका अनुसार नेपालका इन्जिनियर दक्ष र क्षमतावान भएकाले उनीहरुबाट बढीभन्दा बढी काम लिन सकिन्छ। नेपालका इन्जिनियरले नसक्ने भौतिक संरचना निर्माणका लागि मात्र बाहिरी मुलुककमा विज्ञहरुसँग परामर्श लिन उपयुक्त हुने उनको सुझाव छ। ‘सरकारले यहीँका विज्ञ र प्राविधिकहरुलाई हौसला दिएको खण्डमा उनीहरुले धेरै उत्कृष्ट कामहरु गर्न सक्छन्,’ उनी थप्छन्। 

साहित्यिक र आध्यात्मिक पाटो

अन्तर्राष्ट्रिय जगतमा ख्यातिप्राप्त जियोटेक्निल इन्जिनियर घिमिरेको साहित्यिक यात्रा निरन्तर चलिरहेको छ। कवि र लेखकको विशिष्ट परिचय रहेको छ उनको। उनको ‘देशको माटो’ तथा ‘छातीभित्र देश दुख्दा’ गरी दुई कविता संग्रह एवं ‘बादलपानी’ तथा ‘महिना र ऋतु’ गरी दुई बाल कविता संग्रह प्रकाशित छन्। 

उनका केही भिडियो–गीत पनि सार्वजनिक भएका छन्। ती गीतहरुमा रचना रिमाल, आनी छोइङ डोल्मा र न्ह्यू बज्राचार्य स्वर दिएका छन्।  

पछिल्लो समय अध्यात्मप्रति उनको झुकाव बढ्दो छ। सकारात्मक सोच र प्राकृतिक जीवनशैली मानिसका लागि अपरिहार्य रहेको उनको ठम्याइ छ। हाम्रो वैदिक संस्कृति तथा परम्परामा निहित वैज्ञानिक पक्षहरुबारे खोजबिन गरेर उनी त्यसलाई प्रकाशमा ल्याउन चाहन्छन्। 

योग, ध्यानको अभ्यासले जीवनमा वास्तविक खुसी ल्याउने उनी बताउँछन्। ‘मैले आफ्नो व्यवसायिक जीवनका साथै आफूभित्र केही खोज्ने जमर्को गरिरहेको छु, त्यसले मलाई शान्ति र अपरिमित आनन्द प्रदान गरेको छ,’ उनी भन्छन्।  

भविष्यको योजना

अस्ट्रेलियाली स्मेक कम्पनी र उनीबीच सन् २०२५ सम्मका लागि सम्झौता भइसकेको छ। उनले उक्त कम्पनीका लागि जियोटेक्निकल विज्ञका रुपमा वर्षको ६–७ महिना परामर्श उपलब्ध गराउनुपर्ने हुन्छ। अब चाहिँ त्यसबाहेकको समय घरपरिवारसँगै बिताउने उनको योजना छ।

‘अझै जीवनका धेरै कुराहरु बुझ्न बाँकी छ, चेतनाको विस्तारका लागि सकारात्मक जीवनशैली अतिआवश्यक छ। समय मिलेसम्म सकारात्मक चिन्तन र आध्यात्मिक जीवनशैलीमै केन्द्रित रहनेछु। आफूले सिकेका कुरा र अनुभव अरुलाई बाँड्न चाहन्छु,’ उनी योजना सुनाउँछन्। भारत कोलकाताका एकजना सहपाठीेको संगतले आफूमा आध्यात्मिक रुझान बढेको उनको भनाइ छ। 
 
जीवनलाई हेर्ने कुरामा हरेक व्यक्तिको आ–आफ्नो दृष्टिकोण हुन्छ। घिमिरे जीवन वास्तवमा अमूल्य निधि भएको धारणा राख्छन्। ‘जीवनमा जे कुरा उपलब्ध छ, त्यसमा सन्तुष्ट हुनुपर्छ। सकारात्मक सोचले मात्र परिवार, समाज र देशलाई योगदान दिन सकिन्छ,’ दार्शनिक पारामा उनी भन्छन्। 

किताबी पढाइ र सर्टिफिकेटले व्यक्तिको बौद्घिक स्तर बढाउन मद्दत गरे पनि योग, ध्यानको माध्यमबाट मन र मस्तिष्कलाई स्वस्थ राख्न सकेमा मात्र चेतनास्तर बढाउन सकिने उनको अनुभव छ। ‘आगामी दिनमा स्वस्थ र तन्दुरुस्त रहने तरीका अझै सिक्ने सोच छ। आफैंले चिन्ने र चेतनाको स्तर बढाउने काममा केन्द्रित हुनेछु,’ उनी भन्छन्।  

Leave a Reply

Your email address will not be published.