१२ असार २०७९, आइतवार

म मजस्तो छैन !

दिवस गौडेल

नीलो आकाशलाई
कालो बादलले छेकेर
ठूलो गर्जनसँगै
झरेको पानी जस्तै
तिमी बन्यौ प्रिया
र झर्यौ ममाथि
भेल बनेर !

किसानले पर्खी बस्ने
बर्खाको पानी जस्तै बन्यौ तिमी
वर्षिदा खुसी भएर भगवान सम्झिदै
स्वगत गर्छन्
म हिउँदको पानी बनें
रिसाउँछन् मसँग
गाली गर्दै मलाई
दौडिन्छन् पानी भन्दा अघि !

तिमी गर्मी याममा परेको पानी हौ
सबैलाई खुसी बनाउने
म त जाडो यामको पानी जस्तै भएँ
सबै तर्किने
खुसी बाढ्न जानेकी तिमी
दुःख बाढ्न जन्मेको म !

हो हामी फरक भयौं
तिमी सबैको
म कसै न कसैको
त्यसैले त
बर्खासँग हिउँद
गर्मीसँग जाडो नमिले जस्तै
हाम्रो मिलन हुँदैन !

तर थाहा छ प्रिया
बर्खा छ र त हिउँदको महत्त्व छ
गर्मी छ र त जाडोको अस्तित्व छ
त्यसैले त
तिमी छौ र म छु
तिमी छैनौ त्यसैले मेरो अस्तित्व छैन
बर्खा र हिउँदको माया जस्तै
गर्मी र जाडो को सम्बन्ध जस्तै
तिमी नहुँदा
मेरो अस्तित्व छैन
म मजस्तो छैन !
…………
मुडिकुवा, पर्वत ।

Leave a Reply

Your email address will not be published.