१७ चैत २०७९, शुक्रवार

रघुगंगाको बजेट रु ४६ करोड ८६ लाख २५ हजार !


 म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक बर्षको बजेट छलफल सहित पारित गरिएको हो ।
सभामा उपाध्यक्ष पुनले सामाजिक सुरक्षा भत्ता बाहेक कुल विनियोजन मध्ये चालुतर्फ ३२ करोड ९० लाख ७५ हजार र पुँजीगततर्फ १३ करोड ९५ लाख ५० हजार बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । सशर्त अनुदान अन्तरगतका धेरै कार्यक्रमहरु चालु खर्च अन्तरगत समावेश गरेकाले चालु बजेटको प्रतिशत बढी देखिएको गाउँपालिकाले जनाएको छ ।
बजेटमा नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु ८ करोड ९३ लाख, संघीय विभाज्य कोषबाट प्राप्त हुने राजश्व वाँडफाँटको ८ करोड ८५ लाख ९५ हजार, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु ९४ लाख ८२ हजार, प्रदेश राजश्व वाँडफाँटको रु ६७ लाख १९ हजार, गण्डकी प्रदेशबाट समपुरक अनुदान अन्तरगत रु ५० लाख, शसर्त अनुदान अन्तरगत रु ५० लाख, आन्तरिक राजश्वबाट रु ६५ लाख ८३ हजार, संघीय सशर्त अनुदान रु २० करोड ११ लाख, संघीय समपुरक अनुदान पूजीँगत तर्फ रु ७४ लाख संघीय विशेष अनुदान रु २ करोड ६० लाख प्राप्त हुने स्रोत अनुमान गरिएको छ । त्यसैगरि बजेटमा चालु आर्थिक बर्षको असार मसान्तसम्म खर्च भई बाँकी रहने अनुमानित नगद मौज्दात रु २ करोड ३४ लाख ४६ हजारलाई समेत समावेश गरिएको छ ।

आर्थिक विकासतर्फ कृषिमा रु १ करोड २४ लाख, पशुपालनतर्फ रु ५८ लाख, उद्यमशिलता, श्रम तथा रोजगारमा रु २८ लाख ४० हजार बजेट विनियोजन भएको छ । स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रलाई समेटेर सामाजिक विकासतर्फ रु २४ करोड ५९ लाख ५० हजार बजेट विनियोजन भएको छ । सडक, पुल, खानेपानी, भवन लगायतका पूर्वाधार विकास क्षेत्रमा रु ८ करोड ९५ लाख बजेट विनियोजन भएको छ । त्यसैगरि वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ रु १ करोड ७० लाख बजेट विनियोजन भएको छ । सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रको लागि रु २ करोड ६९ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च तर्फ रु ८ करोड २० लाख बजेट विनियोजन भएको छ ।
गाउँ सभामा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले भौतिक पूर्वाधार विकास संगै सामाजिक, आर्थिक रुपान्तरण, शिक्षा र स्वास्थ्यको गुणस्तर र अवस्था सुधारका लागि नीति तथा कार्यक्रममा जोड दिइएको बताउनुभयो । गाउँपालिकाभित्र रहेको कृषि, पशुपालन, लघुउद्यम क्षेत्रको सम्भावनाको उजागर गर्न र युवाहरुलाई आकर्षित गर्ने नीति लिइएको छ भने धार्मिक र पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माण र प्रचार प्रसारमा जोड दिने नीति रघुगंगाले लिएको छ  ।
गाउँसभाबाट पारित भएको नीति तथा कार्यक्रम र बजेटलाई प्रभाबकारी कार्यान्वयन गर्दै समृद्ध र विकसीत रघुगंगा गाउँपालिका निर्माणको अभियानमा केन्द्रित हुने प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

गण्डकीपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *