बेनी नगरपालिकाले “विपदमा मेयर” कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगर कार्यपालिकाको पहिलो बैठकले आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने गरि “विपदमा मेयर” कार्यक्रम सञ्चालन गर्ने निणर्य गरेको हो ।
नगर कार्यपालिकाको पहिलो बैठकको निणर्य सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता रमेशकुमार श्रेष्ठले नगरपालिकाभित्र विपद्जन्य घटनाहरुका पीडितलाई सहयोग गर्न “विपदमा मेयर” कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनु भयो । निणर्यको १५ नम्बर बूँदामा लेखिएको छ, “बेनी नगरपालिकाभित्र घट्ने विभिन्न किसिमका विपदजन्य घटनाहरुबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्न र विपद् व्यवस्थापन, उद्धार तथा प्रतिकार्यका लागि आवश्यकता अनुसार स्रोत जुटाई “विपदमा मेयर” कार्यक्रम सञ्चालन गर्ने ।” दुःख/सुखमा स्थानीय सरकार सारथी बन्नुपर्छ भनेर नै यो अवधारण अघि बढाइएको नगर प्रमुख सुरत केसीले बताउनुभयो ।
पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले महिला सशक्तिकरणका लागि “आमा समूहसँग उपमेयर” कार्यक्रम समेत सञ्चालन गरिने जानकारी दिनुभयो । नगरभित्रका महिला तथा आमा समूहहरुको क्षमता विकास तथा आयआर्जन लगायतका गतिविधिहरु सञ्चालन गरी सशक्तिकरण गर्न “आमा समूहसँग उपमेयर” कार्यक्रम सञ्चालन गरिने भएको हो । आमा समूहका भवनहरु सामाग्री भण्डारण गर्ने थलोको रुपमा मात्रै प्रयोगमा आएकाले त्यसलाई सीप र क्षमताको विकास गरि आयआर्जन गर्ने थलोको रुपमा विकास गर्न “आमा समूहसँग उपमेयर” कार्यक्रम सञ्चालन गर्न लागिएको उपमेयर ज्योति लामिछाने पौडेलले बताउनुभयो । निणर्यको १६ नम्बर बूँदामा लेखिएको छ, “बेनी नगरपालिकाभित्र रहेका विभिन्न महिला तथा आमा समूहहरुको क्षमता विकास तथा आयआर्जन लगायतका गतिविधि सञ्चालन गरि सशक्तिकरण गर्न “आमा समूहसँग उपमेयर” कार्यक्रम सञ्चालन गर्ने ।”
त्यसैगरि नगरपालिकाले मजदुरको हितका लागि मजदुर डेस्क र मजदुर सहायता कोष स्थापना समेत गर्ने भएको छ । नगरपालिकाभित्र रहेका मजदुरहरुको सेवा सुविधा एवं सुरक्षाको प्रत्याभूति दिलाउन मजदुरको छुट्टै डेस्क र सहायता कोष स्थापना गर्न शुरुमा कोषमा नगरपालिकाले रु पाँच लाख रकम जम्मा गर्ने र त्यसबाट आपत्विपद परेका मजदुरहरुलाई राहत दिइने भएको हो । मजदुर डेस्कले मजदुरहरुको विवरण सूचिकृत गरी रोजगारदाताहरुका लागि आवश्यक पर्ने जनशक्ति समन्वय गर्न समेत भूमिका खेल्ने जनाइएको छ ।
त्यसैगरि नगरपालिकाले नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन कार्यविधि, रुख कटान सम्बन्धी कार्यविधि निर्माण गर्ने, मनसुन विपद समाधान गर्न सजिलै डोजर, ट्रिपर, ट्यक्टर उपलव्ध गराइने, बगरहरुबाट ढुङ्गा, गिटी, बालुवा सङ्कलन एवं उत्खनन्का लागि प्रारम्भिक वातावरणिय परिक्षण गरिने, बेनी बजारको शिरमा (बेनी गलेश्वरको विच) सङ्कलन गरिने फोहोरलाई स्थान्तरण गरिने, नगरपालिकाको प्रवक्तामा वडा नम्बर ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठलाई तोक्ने जस्ता कार्यहरुको निणर्य गरिएको छ ।
बैठकले नगरपालिकाको बिषयगत समितिहरुलाई समेत पूणर्ता दिएको छ भने सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर तथा विद्यार्थी संख्या अभिवृद्धिका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न शिक्षा अधिकृत कमलप्रसाद ढकाल संयोजक, जामुनाखर्क माविका प्रअ सोमनाथ ढुंगाना, बेनी सामुदायिक माविका अध्यक्ष सम्मर बहादुर थापा, स्रोत व्यक्ति जयराम सुवेदी र नगरपालिकामा क्रियाशील पेशागत संघ/संगठनका तर्फबाट तीन सदस्य रहेको कार्यदल गठन गर्ने निणर्य गरेको छ । पदमबहादुर पुनको संयोजकत्वमा आर्थिक विकास, चक्रबहादुर केसीको संयोजकत्वमा सामाजिक विकास, कृष्णबहादुर बानियाँको संयोजकत्वमा पूर्वाधार विकास, अणबहादुर खड्काको संयोजकत्वमा वन वातावरण तथा विपद् व्यवस्थापन, उत्तमकुमार कर्माचार्यको संयोजकत्वमा सुशासन तथा संस्थागत विकास समिति गठन गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ ।