अनशन बस्ने काम शान्तिपूणर् कार्यक्रम भएपनि आधुनिक हतियारको शक्तिभन्दा कम छैन । कतिले आफ्नो नीजि स्वार्थ पूर्तिका लागि अनशन बस्ने गरेका छन भने कतिले प्रणालीलाई सपार्नको लागि बस्ने गरेका छन् । जे, जहाँ र जो भएपनि आखिर अनशन आफ्ना माग सम्वोधन गराउँने अन्तिम विकल्पको रुपमा देखापरेको छ । सोमबार विहानै बेनी नगरपालिका-७,बिरेन्द्रचोकको सहिद स्मारकको छेउमा एकजना ब्यक्ति पलेटी कसेर बसेको देखियो। देख्नेहरु कतिले त उनलाई माग्न बसेको पनि भने । उनको छेउमा एक ब्यानर पनि थियो । ब्यानर पढेपछि थाहा भयो कि स्वर्गीय राजा विरेन्द्रको सालिक पुनःनिर्माणको माग गदैं उनी अनशन बसेका रहेछन् । अनशन बसेका ब्यक्ति स्थानीय टेकबहादुर केसी थिए ।
सोमबार विहान ब्यानर सहित अनशनमा बसेका केसीको मागलाई टोलसुधार समितिमार्फत वडा हुँदै नगरकार्यपालिकाबाट प्रक्रियागत रूपमा पूरा गर्ने प्रतिबद्धतासँगै मेयर सुरत केसीले जुस पिलाएर अनशन तोडाउन सफल भए । २०४३ सालमा बनाइएकोे सालिक माओवादीले बेनी आक्रमण गर्दा समेत जोगिएको थियो तर साढेएक दशक अगाडि तत्कालिन दोस्रो जनआन्दोलनका बेला भत्काइएकोे स्वर्गीय राजा बिरेन्द्रको सालिक पुनःस्थापनको चर्चा समेत सेलाउदै गएको अवस्थामा एक्कासी केसीको अनशनले पुनः सालिक बन्नुपर्छ र बन्नु हुँदैन भन्ने नयाँ बहस सुरू भएको छ । स्वतन्त्र नागरिकको नामबाट बिरेन्द्रको सालिक पुनःस्थापन गराउने माग राख्दै बसेको अनशनले सालिक स्थापनाको विषयमा नयाँ बहस सिर्जना गराएको हो ।
स्वतन्त्र नागरिकको हैसियतले करिब १२ घण्टासम्म अनशन बसेका केसी राप्रपाका कार्यकर्ताको रुपमा चिनिन्छन् तर पार्टीसँग समन्वय नगरी अनशन बसेका कारण पार्टी भन्दापनि प्रशासन, नगरका जनप्रतिनिधि र स्वतन्त्र ब्यक्तिहरु उनको प्रशंसक भएका छन् । “सालिक स्थापना गर्ने मेरो माग सुनुवाई भएन भने अर्को पटक यही ठाउँमा अनिश्चितकालिन अनसन बस्छु” केसीले भने । अनसनस्थलमा पुगेका अधिकांसले केसीको कामलाई सकारात्मक भन्दै प्रशंसा समेत गरेका छन् । सालिक राखिएको स्थानलाई हाल “सहिद स्तम्भ” नामाकरण गरिएको छ ।
नवनिर्वाचित मेयर सुरत केसीले माओवादीले बेनी आक्रमण गरेका बेलामा छियाछिया परेको पोल काठमाण्डौबाट फिर्ता ल्याउने घोषणा गरेसँगै वडा नं ७ ले समेत पोल वडाभित्रै राख्ने स्थानको खोजी गर्ने निणर्य गरेको छ भने यही अवस्थामा बिरेन्द्रको सालिक पुनःस्थापना गर्ने कि नगर्ने भन्ने विषयले समेत राम्रै स्थान पाउने देखिन्छ । विरेन्द्रको नयाँ शालिक बनाएर राख्न आर्थिक स्रोतको अभाव हुने भएकाले सालिक स्थापनाको नयाँ प्रक्रियाका बारेमा तत्काल केही भन्न नसक्ने वडा नम्बर ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए । “टोलबाटै वडासम्म निवेदन माग गरिएको छ, ती निवेदनहरु हामी कार्यपालिकासम्म पुर्याउँछौं” वडा अध्यक्ष श्रेष्ठले भने ।
राजा विरेन्द्र आजका नेताहरु भन्दा कैयौं गुणा राष्ट्रवादी, देशभक्ति र शान्तिप्रेमी रहेछन् भन्ने आजको राजनितिक घटनाले पुष्टि गर्दै आएको र उनको राष्ट्रवादकै कारण हजारौं सेनाको सुरुक्षा घेराभित्र रहँदापनि हत्या गरिएको हो। त्यसकारण राजा बिरेन्द्र पनि सहिद नै हुन्, उनको सालिक राख्दा केही फरक पर्दैन भन्ने एक पक्षको भनाई रहेको छ । अर्को पक्ष भने व्यक्तिगत हिसावले अनसन वस्ने व्यक्तिको आस्थाप्रति आफ्नो श्रद्धा भएपनि पुरानो विरेन्द्रचोक इतिहास भइसकेको अवस्थामा अब गणतन्त्र चोक नै उचित हुने भन्दै राजाको सालिकको विरोध समेत गरेका छन् ।
विश्व अनि नेपालमा अनशनको शुरुवात कहिलेबाट भयो भन्ने कुनै सही तथ्याङ्क र अभिलेख नभएपनि आवश्यकतालाई पुरा गर्नका लागि प्रयोग गरिएको एक स्वरुपको रुपमा यसको प्रयोग भएको मान्न सकिन्छ । अधिकार प्राप्ति तथा आधारभूत आवश्यकता परिपूर्तिको लागि अनशन बस्ने गरिएपनि अनशन बसेर माग पूरा भएका उदाहरण भने न्यून रहेका छन् ।