मोदी गाउँपालिका-८ चित्रेकी विष्णु गुरुङ ६० वर्षको उमेरमा विद्यालय जान थालेकी छिन्।
स्थानीय जनसिद्ध माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत गुरुङ साक्षर हुन नसकेकै कारण विभिन्न समस्या भोगेपछि बुढेसकालमै भए पनि पढ्ने रहर पूरा गरेकी हुन्। ‘ऊ वेला पढ्ने उमेरमा पाखपाखै दौडियो’, उनी भन्छन्, ‘अहिले ढिलो भए पनि पढ्न रमाइलो भइरहेको छ।’
विष्णुका श्रीमान् सुकबहादुर गुरुङ मोदी -८ कै वडाध्यक्ष हुन्। श्रीमती विद्यालयमा भर्ना हुनेबारे उनीहरूबीच सल्लाह भएको थिएन। आफू कार्यालयबाट फर्किएर घरमा पुग्दा पढेर आएको सुनाउँदा अचम्ममा परेको उनको भनाइ छ। शिक्षा आर्जन गर्नका लागि उमेरले केही गर्दैन भन्ने कुरा देखाउन पनि उनको कामले अरुलाई प्रेरणा मिल्ने सुकबहादुर बताउँछन्।
‘स्कुल भर्ना हुन्छु भन्ने घर सल्लाह नै थिएन। वडाबाट फर्किँदा लौ म त कक्षामा १ मा भर्ना भएर आएँ, भन्नुभयो। म त अचम्ममा परेँ’, उनले भने, ‘यसले अरू निरक्षर प्रौढलाई पनि राम्रो सन्देश जान्छ भन्ने लागेको छ।’
आफ्ना नाति नातिनाले अध्ययन गर्ने तहमा बसेर उनीहरूसँगै खेल्दै रमाउँदै गरेर सिक्दा झनै रमाइलो हुने गरेको विष्णुको अनुभव छ। ‘गाउँमा कति हो कति पाहुना आउँछन्, लौ आमा यो पढ्नु, यो हेर्नु भन्दा मलाई केही पनि आउँदैन।’
विष्णु जिल्लाको नमुना हामेस्टे रहेको चित्रेमा आएका धेरै पाहुनालाई खुवाउने, बसाउने र गाएर रमाइलो बनाउने गर्छिन्। ‘पाहुनाले केही पढ्न दियो भने आफूलाई केही पनि नआउने,’ उनी भन्छिन्, ‘मलाई त रमाइलो भइरहेको छ। मेरै कक्षामा पढ्ने नाति नातिनातिना पनि आमा भन्दै झुम्मिन आउँछन्। उनीहरूले पनि नजानेको कुरा सिकाउँछन्।’
विष्णु भर्ना भएसँगै विद्यालयमा वातावरण रमाइलो बनेको र अरू साना उमेरका विद्यार्थीहरू पनि सिकाइको लागि उत्प्रेरित भएको विद्यालयका प्रधानाध्यापक एकनारायण तिमिल्सिना बताउँछन्। पुराना पुस्ताका व्यक्तिहरूले अझै पनि अध्ययनमा चासो देखाउनुले समाजमा पठन संस्कृतिको विकास हुने र त्यसले हरेक विद्यार्थीलाई अध्ययनशील बनाउने उनको भनाइ छ।
यो उमेरमा विद्यालय जाँदा कुनै संकोच नलागेको बताउने विष्णु अध्ययनले आफूमा निखार ल्याइरहेको बताउँछिन्। आफू समाजमा उदाहरण बन्ने प्रयास गरेको र अन्य धेरै निरक्षरको प्रेरणा बन्न खोजेको उनको भनाइ छ।