१७ चैत २०७९, शुक्रवार

आज हरिशयनी एकादशी, अर्थात् तुलसी रोप्ने दिन !

आषाढ शुक्ल एकादशीमा मनाइने हरिशयनी एकादशी पर्वको हिन्दू धर्ममा ज्यादै ठूलो माहात्म्य रहेको छ । यसलाई स्मार्तानाम् एकादशी र वैष्णवानाम् एकादशी गरी दुई दिन मनाइन्छ। यस दिनमा तुलसीको मठमा तुलसी रोप्ने गरिन्छ । हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नजिकको तीर्थमा गएर स्नान गर्ने चलन छ ।
आषाढ शुक्ल पक्षकी शयनी एकादशी महान् पुण्यमयी, स्वर्ग एवम् मोक्षदायिनी, सबै पापलाई नाश गरिदिने उत्तम व्रत हो । यस एकादशीका दिन कमलपुष्पले कमलनयन भगवान् विष्णुको पूजा गरी जसले व्रत लिन्छ उसले तिनै लोक र तिनवटै (ब्रह्मा, विष्णु महेश्वर) सनातन देवताको पूजा गरेको फल प्राप्त गर्दछ । हरिशयनी एकादशीको दिन हरिको एक रूप राजा बलिकहाँ रहन्छन् र अर्को रूप क्षीरसागरमा शेषनागको शय्यामा शयन गर्दछन्। कार्तिक शुक्ल पक्षको प्रबोधिनी एकादशीका दिनमा जागा हुन्छन् । शयनी एकादशीदेखि प्रबोधिनी एकादशीसम्मका चारमास मनुष्यले धर्मानुचरण गर्नुपर्दछ । शयनी एकादशीको व्रत अनुष्ठान गर्नेले परम गति प्राप्त गर्दछ। शङ्ख, चक्र, गदाधारी भगवान् विष्णुको भक्तिपूर्वक पूजा गरी रात्रि जागरण गर्नुपर्दछ । द्वादशीका दिनमा “ॐ नमस्ते वामनाय” मन्त्र १०८ पटक जाप गरी दुबो र घिउको आहुति दिनुपर्दछ । दीपदान, पलाशको पातमा भोजन गर्दै भूमिमा शयन गर्दै चौमासा व्यतीत गर्ने व्यक्ति विष्णुप्रिय हुन्छन् । श्रावणमा साग, भदौमा दही, आश्विनमा दूध र कार्तिकमा दाल त्याग गर्नुपर्दछ । भनिएको पनि छ –
“श्रावणे वर्जयेच्छाकं दधि भाद्रपदेतथा ।
दुग्धमाश्वयुजि त्याज्यं कार्तिके द्विदलं त्यजेत् ॥”
यी चौमासाभर ब्रह्मचर्यको पालन गर्नाले परमगति प्राप्त हुन्छ । शयनी र बोधिनीको बीचमा पर्ने कृष्ण पक्षका एकादशीहरूमा व्रत वस्तु गृहस्थहरूका लागि उत्तम छन् । शुक्लपक्षका एकादशीको व्रत सबैले लिनु उत्तम छ ।
हिन्दूहरू तुलसीलाई विष्णुको प्रतीकको रूपमा मान्दछन् । यस विषयमा स्वस्थानी व्रत कथामा यस्तो उल्लेख छ- “एकपटक महादेव र असुरराज जालन्धरका विचमा भयानक युद्ध भयो । । जालन्धरकी पत्नी वृन्दा पतिव्रता नारी भएकीले जालन्धरलाई कसैले पराजित गर्न नसक्ने वर पाएको थियो । यो कुरा महादेवले थाहा पाएपछि उनले भगवान् विष्णुलाई जालन्धरको रूप धारण गरी उनको घरमा गएर वृन्दाको सतीत्व हरण गर्न अनुरोध गरे। विष्णुले महादेवको अनुरोध स्वीकार गरी जालन्धरको भेषमा वृन्दाकहाँ गएर उनको सतीत्व हरण गरे । त्यसै क्षण महादेवले जालन्धरलाई मारिदिए। त्यसपछि बल्ल बिष्णुले छल गरेको कुरा वृन्दाले थाहा पाइन् र उनले विष्णुलाई श्राप दिँदै भनिन्- “तपाईलाई पत्थर हुनु परोस, रुख हुनु परोस, घाँस हुनु परोस, झारपात हुनु परोस् ।” विष्णु वृन्दाको श्रापअनुसार पत्थरमा शालिग्राम, रुखमा पीपल, घाँसमा कुश, झारमा तुलसी भएर रहे । त्यसैले यी सबै वस्तुलाई हिन्दूहरूले विष्णुकै रूपमा पुज्दै आएका छन् ।
आषाढ शुक्ल एकादशीका दिनदेखि हरि भगवान् चार महिनासम्म क्षीर शयन गर्दछन् । त्यसैले हरिशयनी एकादशी हो । यस दिनदेखि शयन गरेका हरि भगवान् मार्गशुल्क एकादशीका दिनमा कोल्टे फेर्छन् र त्यस दिनलाई हरिपरिवर्तिनी एकादशी भनिन्छ । भगवान् विष्णु सुतेपछि सारा जगत् सुत्दछ र उनी जागेपछि सारा जगत जाग्दछ भन्ने मान्यता छ। विष्णु जागा हुने दिनलाई हरिबोधिनी एकादशी भनिन्छ र यो कार्तिक शुक्ल एकादशीको दिन हो । हरिशयनी एकादशीमा रोपेको तुलसीको विवाह हरिबोधिनी एकादशीका दिन सम्पन्न गरिन्छ र यसो गर्दा सहस्र कन्यादान गरेसरह पुण्य मिल्दछ भन्ने विश्वास रहेको छ । जसरी शैव धर्ममा बेलपत्रको महत्व छ । त्यसरी नै वैष्णव धर्ममा तुलसीको महत्व छ । जुन घरमा तुलसी रोपिएको छ वा तुलसीकाठको सङ्ग्रह हुन्छ त्यस घरमा कलियुगको पाप फैलिंदैन भन्ने विश्वास गरिन्छ ।
हरिशयनीको दिनलाई चतुर्मास एकादशी पनि भनिन्छ । काठक गृहसूत्रअनुसार यो व्रत लिनेहरू चार महिनासम्म एकै स्थानमा रहनुपर्दछ । तामा, चाँदी वा सुनको विष्णुको प्रतिमा बनाएर चार महिनासम्म प्रतिदिन पूजा गर्नुपर्दछ र पूजा गरेपछि प्रतिमालाई तकियामा टाउको राखेर शय्यामा सुताउनुपर्दछ । त्यस अवधिमा गरिब, साधु, वा ब्राह्मणलाई भोजन वा दान दिनुपर्दछ । तेल दान गरेमा शत्रु नाश हुन्छ, फूल दान गरेमा स्वर्ग प्राप्ति हुन्छ । रातो गाईको गोबर गहुँत, दूध, दही, घिउ आदिको मिश्रण (पञ्चगव्य) बनाएर दान गरेमा शरीर शुद्ध र सुन्दर हुन्छ । दूध दान गरेमा वंश वृद्धि हुन्छ । पातमा भोजन गरेमा तीर्थस्थलमा स्नान गरेसरह पुण्य प्राप्त हुन्छ। यस अवधिमा अरूले दिएको भोजन गर्नुहुदैन । यी ४ महिना वा चौमासाभरि मासु, माछा, अण्डा, मादक पदार्थ, कुभिन्डो, वयर, बेल, अमला, लसुन, प्याज, मुला, गाजर, लौका, भन्टा, चिचिन्डो आदिको पनि निषेध गरिएको छ । कार्तिक महिनाभरि तुलसीको माला लगाउने, तुलसीको पूजा गर्ने, तुलसीका पात वा डाठलाई नजिकमा राख्ने गर्नु भनेर हाम्रा पूर्वजहरूले भनेका छन् । जसको अनुसरण अद्यापि भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *