ध्रुवराज लुइँटेल
म वैदिक सनातनी हिन्दुको धर्मगुरु हुँ, अगुवा हुँ, ठेकेदार हुँ, पण्डित हुँ, पुरोहित हुँ, साधु-सन्त हुँ, फलानो संस्थाको अध्यक्ष हुँ भन्नेलाई यो लेख राम्रोसँग पढ्न अनुरोध छ ।
हाम्रो तथ्यांक संकलनप्रती आपत्ती जनाएर इसाईको प्रचारप्रसार गरेको भनेर गम्भीर आरोप लगाउनेले यो बुझ्नपर्यो कि हाम्रो इसाईकरण बिरुद्धको अभियान किन भैरहेको छ? हामी किन आफै स्थलगत तथ्यांक संकलनमा छौँ? थाहा पाएर पनि हाम्रो बिरोध हो कि थाहै नपाएर हो बुझ्न सकिएन।
अहिले म जुन गाउँपालिकामा उभिएर यो लेख पोस्ट गर्दैछु के तपाईंलाई थाहा छ यहाँको अवस्था कस्तो छ? कहिल्यै बुझ्ने कोसिस गर्नुभयो कसरी यो सिङ्गै गाउँपालिका इसाई बन्यो? यो क्षेत्रमा भोलि तपाईहरुले भागवत भन्छु, पुराण लगाउछु, कर्मकाण्ड गर्नलाई यजमान छन्, मठ-मन्दिर छन् दर्शन गर्न जान्छु, मेरो संस्थाको बिभाग बनाउँछु भन्नुहोला तर हिस्स बुढी खिस्स दाँत, हातमा लाग्यो शून्य बाहेक अरु केही पाउनुहुने छैन।
किन?
धादिङको रुबिभ्याली जसमा टिप्लिङ गापा, सेर्तुङ गापा, लापा गापाको सम्पुर्ण भुभाग मिलेर बनेको छ पुर्णरुपमा इसाईको क्षेत्र बनिसक्यो। तपाईं यी गापामा तिलक र अक्षता लगाएर जानुभयो भने तपाईलाई परग्रहको प्राणी हो जस्तै गरेर हेर्छन्। गुम्बा, मन्दिर भत्किएर जिर्ण भएका छन्। यहाँ कोहि पनि बुद्धिस्ट माने पढ्न आउँदैन, कुनै हिन्दु मन्दिरमा पुजा गर्न संख-घण्ट बजाउन आउँदैन किनकी सबै इसाई भैसके: एकजना पनि वैदिक सनातनी छैनन्।
मन्दिरको अवस्था कस्तो छ थाहा छैन तपाईंहरुलाई, गुम्बाको अवस्था कस्तो छ थाहा छैन तपाईंहरुलाई, कतिवटा मन्दिर गुम्बा छन् कति चर्च छन् पनि थाहा छैन तपाईंहरुलाई। संरक्षण चाहिँ साधु-सन्तको, पण्डित -पुरोहितको, धर्मगुरु-अगुवाको हुनुपर्छ यो हामी सबैलाई थाहा छ तर यी सम्पुर्ण जनहरुले पनि मठ-मन्दिर, चैत्य, गुम्बाको संरक्षण गर्नुपर्छ कि पर्दैन? मठ-मन्दिर नै नरहे वैदिक सनातनी नै नरहे हाम्रो गुरुकुल के काम? संस्था के काम? अभियान के काम? यसको जवाफ पहिला मलाई दिनुहोस्। राजनीति कै लागी धर्म उचाल्ने भए बरु अन्य बिषयबाट राजनीति गर्दा फाइदा होला।
आखिर धादिङ जिल्लामा पनि रुबिभ्याली नै सबैभन्दा पहिला इसाईकरणको चपेटामा किन पर्यो?
रुबिभ्याली नामबाटै प्रष्ट हुन्छ कि यो गापामा रुबि पाइन्छ। ७७ जिल्ला मध्ये धादिङको रुबिभ्याली गापामा विश्व कै दुर्लभ मानिने बहुमुल्य खनिज रुबि पाइन्छ। प्रशस्तरुपमा पाइन्छ यहाँ। संसारमा पाइने रुबिहरु मध्ये धादिङमा पाइने रुबि गुणस्तरमा नम्बर १ मा पर्छ यो प्रमाणित भैसकेको छ। प्राकृतिक खनिजमा धनी भएकै कारण यसको उत्खनन् र निर्यातको लागी पश्चिमाले इसाईमा अन्धभक्त बनाउने काम गरेको थियो गरेको छ र गर्ने नै छ। फलस्वरुप हाम्रो हातबाट बहुमुल्य रुबिको धनी रुबिभ्याली गुमिसक्यो। यो जिल्लामा आज वैदिक सनातनी छैनन्, भोलि रुबि रहदैन र पर्सी हामी सबै सकिन्छौ। म यो अभियानमा सकेसम्म अनवरत लागिरहन्छु, जागरण ल्याउने कोसिस गरिरहन्छु र अभियान चलाइरहने छु तपाईंहरु मेरो बिरोध गरेर बस्नुहोस मेरो अभियान रोकिनेवाला छैन। सके साथ दिनुस् नसके तपाईंको हैसियत अनुसार मेरो खुट्टा तानेर बस्नुस।नमस्कार!