वर्ष २०७८ को ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ शान्ति प्रियवन्दनाको कवितासङ्ग्रह ‘जिल खाइरहेको एक्काइसौँ शताब्दी’लाई दिइने निर्णय भएको छ । साहित्यपोस्टको सम्पादन मण्डल तथा स्तम्भकारहरू बैठकले निर्णायकहरूबाट प्राप्त अङ्कलाई अनुमोदन गर्दै ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार २०७८’ कवितासङ्ग्रह ‘जिल खाइरहेको एक्काइसौँ शताब्दी’लाई दिने निर्णय गरेको हो ।
साहित्यपाेस्टले पुस्कक प्रकाशन गरेर साहित्यमा प्रवेश गरेका डेब्यु लेखकहरूलाई हरेक वर्ष ५०–५० हजारका दरले पुरस्कार दिँदै आएकाे छ ।
२०७८ वर्षभरि प्रकाशनमा आएका २४ डेब्यु काव्यकृतिहरू पुरस्कारका लागि प्राप्त भएका थिए । वर्षभरि छापिएका ती काव्यकृतिहरूबाट साहित्यपोस्टसँग आबद्ध पत्रकार, विधागत सम्पादक, साहित्यकार एवं शुभेच्छुकहरू गरी १२ जनाको समूहले ‘पहिलो नौ पुस्तक‘ छानेका थिए ।
वर्षका उत्कृष्ट नाै डेब्यु काव्यकृतिहरूमा रोशन तिमिल्सिनाकाे कविताकृति “चिरिएका पैताला”, शरद पोखरेलको कविताकृति “मरूभूमिका डुङ्गा”, पेशलकुमार लुइटेलको कविताकृति “पोल्टाभित्र डिही”, केवल बिनाबीको कविताकृति “यादहरूको सङ्ग्रहालय”, हरिमाया अधिकारीको गजलकृति “छोपिएको भाग्यरेखा”, शान्ति प्रियवन्दनाको कविताकृति “जिल खाइरहेको एक्काइसौँ शताब्दी”, डा. वीरेन्द्र केसीकाे कविताकृति “आमाको काखमा दुखेको देश”, अजित उत्सवको कविताकृति “आकाशगङ्गाको किनार” र शशी भट्टराई श्रेष्ठको “निर्मल तलाउमा तरङ्ग” पर्न सफल भएका थिए ।
‘हामीलाई प्राप्त नयाँ लेखकका काव्य विधाका ती पुस्तकहरू आफैँमा कमजोर थिएनन् । तर त्यसमध्ये यो वर्षका उपलब्धिका रूपमा उत्कृष्ट चार काव्यकृति छनौट गर्यौँ ।’ साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला भन्छन्, ‘ती चारमध्ये एउटा पुस्तक छान्नुपर्ने हाम्रो बाध्यता थियो । निर्णायकहरूको अन्तिम रोजाइमा जिल खाइरहकी एक्काइसौँ शताब्दी परेपछि हामीले उक्त कवितासङ्ग्रहका सर्जक शान्ति प्रियवन्दनालाई पुरस्कृत गर्ने निर्णय गरेका हौँ ।’
साहित्य पोष्ट