२३ साउन २०७९, सोमवार

कविता “आमाघर !”


–यश लामा

आमा आफैँमा घर हो

आमाको अङ्गालो
प्रत्येक छोराछोरीको
थाप्लो लुकाउने छानो हो
कि विकृत हावापानीले
छुनसम्म नसकोस् कहिल्यै पनि ।

ढोका आमाको मुस्कान हो
जो अथकित उभिरहन्छ
स्वागतका निम्ति ।

विश्वासको खाँबो
मेरुदण्ड हो आमाको
जहाँ बुइँ चढेर
हेरेका थियौँ हामीले पनि
हिमाल पारीको देश ।

ती झ्यालहरु
आँखा हुन् आमाघरको
जहाँ असहाय र टुहुराहरु खोजिरहेछन्
फ्लोरेन्स नाइटिङगेल ।

आमाको छाती घरको भित्ता हो
जो हरदम सहिरहन्छ
वचनका गोलीहरु ।

सिङ्गै टाउको धुरी हो घरको
जहाँ झुण्डिरहेका हुन्छन्
जिम्मेवारीका झोलाहरु ।

घरको बार्दली भन्नु नै
नाक हो आमाको
जुन दिलदेखि शोभाका लागि बनाइन्छ ।

भुइँ,
आँसु र पसिना पुछ्ने रुमाल हो
जो पट्याएर राख्नुहुन्छ आमाले
मस्तिष्कको बगलीमा ।

आँगन सिङ्गो
अनुहार हो आमाको
जहाँ खेलिरहन्छन्
जापनिज् केटाकेटीहरुले
घडी, मोबाइल र कम्प्युटर बनाउने खेल ।

हो
आमा आफैँमा घर हो
जहाँ सिक्ने गर्छौँ हामी
संस्कारको पाठ ।

त्यसैले मलाई
बबरमहल र रानी दरबारभन्दा
कयौँ गुणा प्रिय लाग्छ आमाघर ।

Leave a Reply

Your email address will not be published.