१६ चैत २०७९, बिहिवार

कार्ल मार्क्स बलात्कारी भन्ने सरिताको धारणाप्रति मेरो बिमती थियो र छ: सुमिना !

लेखक तथा समिक्षक “सुमिना” यसरी लेख्छिन्:

ब्यक्तिको मुद्दालाई लिएर सिङ्गो विचारमाथी हिलो छ्याप्ने र आफ्नो भनिने विचारमाथी प्रश्न उठाएकै कारण उसको न्यायिक प्रक्रियालाई जटिल बनाउने यी दुबै घातक प्रवृत्ति हुन् ।

मार्क्सवादी दर्शन हाम्रो समयको , समाजको मातहतमा कत्तिको महिलाको मुद्दामा संवेदनशील छ ? न्यायमैत्री छ ?
यसमा केही व्यक्तिका घटनालाई लिएर कुनै दर्शनमा प्रहार गर्नु दरिद्रता हो तर नेपाली मार्क्सवादीहरू महिला हिंसाको मुद्दामा कस्तो सोच राख्छन् र व्यवहार गर्छन् भन्ने प्रश्न उठ्नु स्वभाविक छ । र त्यसको न्यायिक जवाफ दिन पनि मार्क्सवादीहरू नै अरुभन्दा अगाडि हुन जरुरी छ ।

यदि कसैले आफूमाथी हिंसा भयो भन्छ भने हाम्रो मुख्य भुमिका हुन्छ सर्भाइभरको कुरा सुन्ने र त्यसमा संवेदनशीलता देखाउने ।
सर्भाइभरको अवस्थिती, इच्छा र हिंसाको प्रकृतिलाई मध्यनजर गर्दै त्यसले माग्ने न्यायिक प्रक्रियाको निम्ति सघाउ गर्ने र पहल गर्ने ।

यहाँ हामी कति अनुहारहरू छौँ ? जो सर्भाइभरको कुरा सुन्यौँ ,संवेदनशीलता देखायौँ र न्यायको निम्ति पहल गर्यौ ? या सर्भाइभरसँग मीठो मिठो कुरा गरेर आश्वासनले थामथुम पारेर सत्य तथ्य खोज्नुको सट्टा उल्टै सिधै गलत ठहर गरेर संका उपसँकाका प्रश्न तेर्सायौँ ? भित्र भित्र आरोपित बचाउ अभियानको षड्यन्त्र रच्यौं ? या छानवीन प्रक्रियामा सघाउ पुर्याउन सक्ने भौतिक पुर्वाधार मौखिक साक्षी प्रमाण र बयान नै बदलेर जतिबेला सर्भाइभरलाई सवैभन्दा बढी जसको बयानको जरुरत थियो गबाहलाई नै गायब पारेर न्यायको प्रक्रियालाई अझ जटिल र कठिन बनायौँ ? या कतै अतालिएर बाटोघाटो रुदै हिड्न बाध्य बनाएर आफू भने मस्त कुनै कुनोमा सम्पर्कविहिन भएर मुख लुकाएर बस्यौँ ?

यति भैसकेपछी पनि के अझै हामी आफूलाई जोगाउने सहि सावित गर्ने नैतिक हैसियत राख्छौँ र ? आफूलाई र आफू निकटका मान्छे गिरोहलाई जोगाउनु भन्दा अघि एकपटक सबैले आ -आफ्नो अनुहार हेरौँ र ‘म’ ‘म’ भनौँ ।

चाहे आरोपी कुनै दर्शन, वाद र विचार पक्षी होस् या प्रतिपक्षी न्याय न्याय हुन्छ । यदि ऊ हाम्रो सत्रु या वर्गदुश्मन नै हो भनेपनी ऊ अन्यायमा छ भने हामी निडर उसको पक्षमा उभिन सक्नु हाम्रो न्यायिक पक्षधरता होइन र ? कि दर्शन वाद र विचार आफ्नो र परको को आधारमा न्यायिक धारणा बन्ने हुन्छ ?
“विचार र आन्दोलन वचाउने नाउमा मार्क्सवादीहरू आन्दोलनभित्रै हिंसाको पक्षपोषण गर्छन् यो संस्कृतिकै एउटा पार्ट बनेर हुर्किरहेको छ” भन्दै मार्क्सवादी दर्शनका प्रवर्तकरूलाई नियमित सँगठित आक्रमण गरिरहने पुँजीवादी षड्यन्त्र र प्रतिक्रियावादिहरूको आरोप निराधार सावित गर्न बर्तमानले फेरि एकपटक हाम्रो अघि अर्को परिक्षा तेर्साएको छ । हामी व्यक्तिको पछि सति जाने कि न्यायको पक्षमा उभिने ?
अन्यथा सर्भाइभरले भनेजस्तै मार्क्सवाद महिलाको निम्ति सान्दर्भिक छ कि छैन ? यो ‘ह्वाटको’ चिन्ह चिन्ह नै बनेर रहनेछ । कहिँकतै इतिहासको प्रमाण पेस गरेर बर्तमानको प्रश्नउत्तर हल हुँदैन , बरु बर्तमानले बर्तमानसँग नै परिणाम मागिरहेको हुन्छ ।
विश्वमा सबैभन्दा पहिले महिला हकहितको निम्ति लडेको र महिला अधिकार सुनिश्चित गरेको मार्क्सवादी दर्शन हाम्रो समयको , समाजको मातहतमा कत्तिको महिलाको मुद्दामा संवेदनशील छ ? न्यायमैत्री छ ? जवाफ मागिरहेको छ ।

अर्कोकुरा व्यक्तीलाई लागेको आरोप र उठेको प्रश्न र त्यसमा केहि समुहहरूले दिएको प्रतिक्रिया र धारणालाई लिएर सिंगो दर्शनमाथी हिलो छ्याप्ने र समस्त मार्क्सवादीहरूलाई हिंसा संरक्षक, यौन पिपासु, स्त्रीलम्पट र बलात्कारिको छविले चित्रीत गर्ने जुन परिपाटी फैलिएको छ त्यो भने विभिन्न पुर्वाग्रह र विपक्षीहरूको “मौकामा चौका हान्” भन्ने मान्यताबाट गाइडेड बाहेक अरु केही होइन । व्यक्ती गलत या अपराधी हुन सम्भव छ त्यसमा मार्क्सवादी र गैरमार्क्सवादी बेतुकको तर्क हो ।

यद्यपि सहि र गलतको निस्कर्षमा पुग्नु अघि आरोपितको कुरा भने अवस्य सुन्नुपर्छ । बुर्जुवा भनिने न्यायलयहरूले पनि त्यो अवसर दिन्छन् भने हामी सामाजिक न्यायका सरोकारवालाहरूलाई त्यसबाट भाग्ने छुट हुने कुरै भएन ।
आरोपितले राखेको तथ्य र स्पष्टीकरण तार्किक भएमा हामीले आलोचनात्मक दृष्टिले हेर्न पनि सक्नुपर्छ न कि वैचारिक पुर्वाग्रहको नजरले । अपराधका पनि प्रकृति हुन्छन् कतिपय गल्तिहरू क्षमायोग्य छन् भने त्यसलाई अतिको नजरले हेर्ने र आजीवन ऊसलाई सामाजिक जीवनबाट बहिस्कार नै गर्ने नभएर एउटा न्यायिक प्रक्रियापछि पुन ऊ समाजमा स्थापित हुनसक्ने आधारलाई पनि जीवित राख्नु न्यायसंगत हुने गर्दछ ।

कार्ल मार्क्स बलात्कारी भन्ने सरिताको धारणाप्रती मेरो बिमती थियो ,छ । तत्काल त्यसको प्रतिवाद पनि गरिएको हो , गरिनेछ । त्यसको बहस छँदैछ ।
त्यही मार्क्सलाई बलात्कारी भनेकी सरितामाथी यदि हिँसा भएको हो र छ भने म उनको पक्षमा हरहालतमा उभिन्छु । यहि मेरो पक्षधरता हो । दर्शन विचार वाद तेरो र मेरोको लेपनले कुनै हिंसाको ढाकछोप हुनु हुँदैन । तँ मार्क्सवादी बिरोधी होस् तँ माथी हिँसा हुनुपर्छ हामी तेरो पक्षमा बोल्दैनौँ भनेर रमिता हेर्न मार्क्सवादीहरूलाई सोभा दिन्छ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *