पर्वतको फलेवास नगरपालिका-६, देविस्थानमा अवस्थित जिल्लाकै पहिलो क्याम्पस पर्वत बहुमुखी क्याम्पसमा फलेवास नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसको आयोजनामा फलेवासका नगरप्रमुख गंगाधर तिवारी,उपप्रमुख शोभा कुमारी क्षेत्री लगायत ११ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य तथा वडा सदस्यहरुलाई आइतबार स्वागत तथा भेटघाट गरिएको क्याम्पस प्रमुख हेम शर्मा रेग्मीले जानकारी दिनुभयो । कार्यक्रम बोल्दै प्रमुख अतिथि नगरप्रमुख गंगाधर तिवारीले पर्वत बहुमुखी क्याम्पसले शिक्षाको क्षेत्रमा अतुलनीय भुमिका निर्वाह गरेको बताउदै क्याम्पस दिगो संचालन र गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । नगरको गौरवको रुपमा रहेको क्याम्पसलाई थप व्यवस्थित गर्दै शैक्षिक उन्नयनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नगर उपप्रमुख शोभा कुमारी क्षेत्री, कार्यपालिका सदस्य नेत्र बिक,नगरका प्रवक्ता तथा वडा नं. ४ का वडा अध्यक्ष अच्युत तिवारी, वडा नं.६ का वडा अध्यक्ष नवीन श्रेष्ठ, ५ का वडा अध्यक्ष नारायण लामिछाने,१० का वडा अध्यक्ष अम्बर बहादुर क्षेत्री, ,काबा अध्यक्ष भवानी शर्मा, दामोदर शर्मा लगायतले बोल्नुभएको थियो । क्याम्पस संचालक समिति अध्यक्ष हरि कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख हेम शर्मा रेग्मीको स्वागत मन्तव्य र संचालन क्याम्पसका प्राध्यापक अर्जुन बहादुर क्षेत्रीले गर्नुभएको थियो ।