२४ साउन २०७९, मंगलबार

बूढो मन

कविता

विद्याश्री सिंह
“बूढो मन”


होइन होइन
म दुखी भएको होइन।
मलाई कसैले दुखाएको पनि होइन।
मात्रै छाती चस्किएको झैँ, हुन्छ बेलाबेलामा
श्वास रोकिएको झै, हुन्छ बेलाबेलामा!

सन्तानहरु ठुलो भएको देख्दा
‘बा’ को मन सानो हुदोरहेछ साइला!
सानो मन स- साना कुराहरुमा दुख्ने पनि रहेछ।

तलाइ याद छ? साइला
‘ठुले’ ले ठूलो हुने बेलासम्म पनि बोल्न सकेन भनेर
कम्ता दुखी थिए म
तर हेर्न
हिजो ‘ठुले’ ले ठूलो स्वरमा बोल्यो भनेरै मेरो मन दुख्यो!
बूढो मन त, कसैले बोलिदिदा पनि दुखिदिने रहेछ।

अहो!
कस्तो चकचके थियो माइलो
यो चाहिन्छ, त्यो पनि चाहिन्छ भनेर सताउथ्यो।
मलाई,कमिजको गोजि उल्टाएर के छ देखाउनु भन्थ्यो।
आमा लाई, पटुकीको गाठो फुकाएर कति छ दिनु भन्थ्यो।
कसैलाई नभनेरै हेर्न भ्याउथ्यो
शिरानीका भुइँ हरु,डसनाका खोलहरु

तर आज,
उसलाई मेरो कमिजको गोजिमा के छ भन्ने कुराको वास्ता छैन। उसलाई मेरो कमिजमा गोजि छ/ छैन भन्ने कुराको पनि वास्ता छैन।

हिजो दुनियाँभरका कुरा गरेर हैरान पार्छ भनेर कराउथे
आज म संग कुरै गर्दैन भनेर चित्त दुख्छ!
बूढो मन त कम बोलिदिदा पनि दुख्दो रहेछ।

‘ठुले’ ठूलो भयो ठूलो स्वरमा बोल्छ!
‘माइलो’ ठूलो भयो बोल्नु पर्ने जति पनि बोलिदिदैन!

मलाई चिन्ता लाग्दैछ साइला
अब त छोरी पनि ठुली हुदैछे!

पहिलो पटक सानी लाई काखमा लिदा
छोरी कहिले काखभरीकी होलि सोच्थे!
उसलाई हात समाएर उभिन सिकाउदा
कहिले आफै दौडन सक्ली जस्तो लाग्थ्यो!

आजकल
दौडाएर आफ्नो भाग्य कुन आगनमा बिसाउछे होला?
भन्ने सुर्ताले पिरोल्छ!

काखमा नबस भन्दा मन दुखाउथी
छेउमा नबस भन्दा,रोइदिन्थी
‘अब घरमै पनि बस्नु हुन्न’ भनेको दिन
कसरी सम्हाल्छे होला आफुलाई?
यहीँ सोचेर मलाई सम्हालिन गाह्रो हुन्छ।
बूढो मनलाई बियोगले धेरै तर्साउदो रहेछ।

मलाई आफ्नो संसारै भन्ने ‘जहान’ आज संसारमै छैन।
सधैं कराउथी, मैले भनेको मानिन भनेर!
धेरै फकाउथि, मैले भनेको मानिदिओस भनेर!
कहिले यो भएन भनेर सुनाउथी
कहिले यस्तो हुनुपर्छ भनेर सिकाउथी

घर छाडेर जाने बेलामा सधैं
‘बच्चाहरूको ख्याल राख्नु है’भन्थी
संसार छाडेर जाने बेलामा,
बच्चाहरु लाई ‘बा को ख्याल राखे है’ भनेर गइ!

बुढी त पिर नगर्नु!
तैले ” ‘बा’ को ख्याल राख्नु ” भनेको
ख्याल छ हाम्रा सन्तानहरु लाई

त्यसैले,
ठुले ले ठूलो स्वरमा सम्झाउछ मलाई
माइला ले अब मलाई सम्झाउनु पर्दैन भन्छ
सानी लाई पनि अब स- साना कुराहरू सिकाउनु पर्दैन।
तर बूढो मनलाई त सजिलो ले पनि बिझाउदो रहेछ।

बा को काख बच्चा हरुको लागि मात्रै रहेछ
बा को काध बच्चा हरुको लागि मात्रै रहेछ
बच्चाहरु ‘बच्चा’ रहुन्जेल मात्रै ‘बा’ बच्चाहरुको हुदोरहेछ।

हिजो हाम्रो हो भनेर चिनाएको गैरी खेत आज
जेठो अनि माइलाको भएको छ।
काल्लो जेठोले लाउछ, आलि माइलाको भागमा छ।
म पनि आज जेठो र माइलो को बा भएको छु।
चप्पल च्यातिदा जेठो को हुन्छु।
टोपी फाट्दा माइलाको हुन्छु।
जमिन बाडिएर सबैको भागमा परेको छ।
जमिन परेकाहरुको भागमा म पनि परेको छु।
सबै संग घर छ सबैको घरमा म छु।
तर बूढो मन त बाडिदा पनि दुख्दो रहेछ।
बाड्नेहरु लाई बाडिन गाह्रो हुने रहेछ!

छाला चाउरीदै जादा मन कोमल हुँदै जाने रहेछ।
बचनले पनि दुखाइ दिने!
हेराइले पनि रुवाइदिने!

चुडिनै लागेका चप्पल, खिइदै गएका गोडा
च्यात्तिनै लागेको टोपि,खुइलिदै गएको तालु
टुक्रीदै गएका सम्बन्धहरु,पातलिदै गएका दौँतरीहरुले
जब मलाई ‘म डुब्नै लागेको घाम हु’ भनेर सम्झाउछन्,
सोच्छु!
घाम डुब्नु भनेको घरमा अध्यारो हुनु हो।
फेरि सोच्छु!
घाम डुब्नु भनेको घरका लाई आराम हुनु पनि हो।
बुढो मन छुटेका कुराहरु सम्झेर रुदो रहेछ।
बूढो मन छुट्ने कुराहरु सम्झेर पनि रुदो रहेछ।

हेर्न साइला
मान्छे आउँने बेलामा पनि रुन्छ!
जाने बेलामा त मान्छे झनै रोइरहने रहेछ।

तर,
म रोएको छैन
म ठिक छु।
मात्रै,
छाती चस्किएको झैँ हुन्छ बेलाबेलामा
श्वास रोकिएको झैँ हुन्छ बेलाबेलामा
सबै मासिएको झैँ हुन्छ बेलाबेलामा
आफैं सकिएको झैँ हुन्छ बेलाबेलामा
बेलाबेलामा बुढो मनलाई यस्तै बिमार ले सताउने रहेछ।

साच्चै म ठिक छु!
मात्रै ……

तस्बिर : सामाजिक संजाल

Leave a Reply

Your email address will not be published.