लोकनाथ भुसाल “घायलश्री”
सम्पर्क: ९८४७१३८७०६
ज्योतिष शास्त्र समाजको दर्पण हो । यो शास्त्रलाई परम्परादेखि चल्दै आएको रुढिवादी र अन्धविस्वास हो भन्ने पनि गर्दछन् तर जसले जे भनेपनि सत्यकुरालाई कसैले पनि अस्विकार गर्न सकिँदैन । ‘हामी हिन्दुहरु वेद संसारको सबैभन्दा श्रेष्ठ र मानव लिखित साहित्य मान्छौं । वेदले पनि ज्योतिष शास्त्रलाई आफ्नो आँखाको रूपमा हेर्ने गर्दछ ।
ज्योतिष शास्त्र पाश्चात्य ज्योतिषहरूको अंकजाल तासको पत्ति या सीसाको टुक्राको आधारमा गरिने भबिष्यवाणी होइन र यो शास्त्रमा त्यस्तो कुनै जादुगर चमत्कार पनि छैन । आफ्नो ठाउँमा ज्योतिषशास्त्र विज्ञान झै खरो उत्रिन्छ किनकी यसमा पनि गणितलाई नै मुख्य आधार मानिन्छ । यस शास्त्रका पनि मुख्य दुई विधाहरु छन् (१) गणित ज्योतिष (२) फलित ज्योतिष । तिथी, वार, नक्षत्र, योग, करण मिलाएर पंचाङ्ग बन्दछ । ग्रह सातओटा हुन्छन् । राहु र केतुलाई छायाँ मान्दछौं । स्वयं राहु र केतुले फल प्रदान गर्दैनन्, आफूसँगै रहेका गहहरुलाई सहयोग पुर्याउँदछन् ।
रावण, भृगू, शुक्र, जैमुनि, वशिष्ठ आदि १६ ऋषिहरूको सहयोगमा ज्योतिष शास्त्रको उत्तपति भएको हो । सकल व्रम्हाण्डलाई ११ भागका बिभाजन गरी १२ राशि र १२ लग्न स्थापना गरे भने जन्म लिने प्राणीको जन्म समयमा आकाशको पूर्विय क्षितिजमा जुन राशि रहन्छ त्यसलाई लग्न भनिन्छ भने, गर्भाधान समयलाई चन्द्र लग्न भन्ने गरिन्छ । सूर्य, लग्न र चन्द्र तीनै लग्नबाट अध्ययन गरेको खण्डमा व्यक्तिको भूत, वर्तमान र भविष्यको नजिक पुग्न सक्दछौं । कुनै पनि जन्म कुण्डलीमा चार केन्द्र स्थान हुने गर्दछन् । ती सबै स्थानको उत्तिकै महत्व छ र ती मध्ये पारिवारिक शुख, यौन भाव, व्यापार शुख, प्रेम शुख, विवाह लग्न कुण्डलीको सप्तम स्थानबाट हेर्ने गरिन्छ । पारिवारिक शुख प्राप्त गर्नको लागि पारिवारिक, यौन र प्रेम शुख प्राप्त गर्नु आवश्यक मानिन्छ । विवाह एउटा सम्झौता हो । हिन्दुशास्त्र अनुसार विवाहलाई आठ भागमा विभाजन गरिएतापनि आधुनिक दृष्टिकोणबाट विवाहलाई दुई किसिमले हेर्ने गरिन्छ । (क) परम्परित बिवाह (ख) प्रेम बिवाह । कर्मकाण्ड प्रकृया अपनाई गरिने विवाह परम्परित हो भने कुनै विधि विधान नअपनाई सामाजिक मूल्य र मान्यताको बिचार नगरी केवल आकर्षणलाई प्रणय आधार मानेर गरिने विवात प्रेम विवाह हो र यस विवाहभित्र धर्म जाति र रंग नमिल्न पनि सक्छ ।
हाम्रो समाजमा अझैपनि प्रेम विवाह (आकर्षण) लाई सहजै स्विकार गरिसकेको अवस्था छैन र परम्परित अथवा मागी विवाह गर्ने चलन अधिक रहेको पाइन्छ । मागी विवाह गर्दा र विवाहको शुभ समयको लागि हामि आफुले जाने बुझेका ज्योतिषविदहरू कहाँ पुगेर परामर्श लिने गर्दछौँ । बर-बधु दुवैका जन्म कुण्डलीहरूको अध्ययन गरी ज्योतिषले आफ्नो तर्फबाट सुझाव दिने गर्दछन् । त्यतिवेला ज्योतिष विदहरूले मूख्यतः सप्तम स्थान, सप्तमेश, शुक्र र वृहस्पति ग्रहको अध्ययन गर्न आवश्यक मानिन्छ । विशेषत प्रेम या विवाहको सम्वन्धमा, मंगल, शुक्र र चन्द्रको अवस्था पनि बुझ्न आवस्यक देखिन्छ किनकी मंगल उर्जाप्रदायक, शुक्र काम क्रिडाकारक र चन्द्रमा मनोभावनाका कारक ग्रहहरू हुन् ।
सप्तम स्थानमा मंगल ग्रह भए सतमंगल दोष लाग्दछ तर केन्द्रमा शनि भएमा मंगल दोष न्यून भएर जान्छ । केन्द्रमा सिंह, वृश्चिक, मकर या कुम्भमा मंगल भएमा दुई विवाहको दोष लाग्दछ । सप्तम भावको स्वामी पापग्रह भएर सप्तम भावमा रहेमा पनि वहुविवाह हुन्छ । एक्लो शुक्र या गुरु सप्तम भावमा बसेमा श्रीमान/श्रीवतीविच बढी मतभेद उत्पन्न गराउँदछ किनकी भाव कारक ग्रह एक्लै बस्नु राम्रो मानिदैन ।
बुथ र शनि निच अवस्थामा सप्तम भावमा भएमा श्रीमानलाई नपुंशक गराउने संभावना रहन्छ । शनि या सूर्य सप्तम स्थानमा भए प्रथम प्रेमी या पतिले छाडिदिनेछ । स्त्रिको सप्तम भावमा शनि चन्द्र भए दोस्रो विवाहबाट सुख प्राप्त हुन्छ । पुरुषको कुण्डलीमा यस्तो अवस्था आए विवाह नै हुँदैन र भएपनि सन्तान शुख न्यून रहन्छ । पापशुभ दुवै ग्रह भएमा दोस्रो विवाह सफल रहन्छ । सप्तमेश अष्टम र अष्टमेश सप्तममा भएमा पनि उसको विवाह लामो समय टिक्ने अवस्था रहदैन । मंगल राशि या नवांश भएमा उसको पुरुष या स्त्रि एकदमै लम्पट हुनेछ । सप्तममा चन्द्र, शुक्र र मंगल तीन ग्रह रहेमा पतिको अनुमतिमा परपुरुषसँग अनैतिक सम्बन्ध राख्दछिन् अथवा स्त्रिको चरित्र थाहा हुँदाहुँदै पनि पुरुषले स्त्रीलाई स्विकार गरिरहन्छ । सप्तममा शनि, लग्न या चतुर्थ भावमा मंगलग्रह आठ अंशसम्म छ भने त्यो स्त्री बुढेशकालसम्म पनि कुमारी नै रहन्छे । सप्तमेश द्वितीयश वा द्वादश स्थानमा भएमा, द्वितीयेश वा द्वादशेश तृतिय स्थानमा भएमा उक्त पुरुष या स्त्री जहाँ पुग्यो त्यहि सम्वन्ध स्थापित गर्न सफल रहन्छ । चन्द्रको साथमा राहु ग्रहको युति या दृष्टि भएमा, विजातिय स्त्री मिल्दछे। सूर्प-राहुको संयोग ग्रहण योग मानिन्छ । सप्तममा यो योग परेमा निम्न स्तरिय स्त्रीको साथ मिल्दछ । शनिबाट पीडित सूर्यले वैवाहिक सम्बन्धमा असर पारी दोस्रो विवाहको संकेत गर्दछ भने दोस्रो विवाहपनि असफल हुने गर्दछ । सूर्य राहुको युतिले वैवाहिक जीवन असफल रहन्छ । सप्तमेश चर्तुथ या दशौंमा भए जातककी स्त्री अटेर र बशमा नरहने हुन्छे । मंगल-शुक्र सातौं भएर धनु राशिमा वृहस्पति र राहु, आठौंमा सूर्य-चन्द्रमा भएपनि जातक युवा अवस्थामा विजातिय बन्दछ । सप्तमेश र द्वितीययेश शुक्र भएर त्रिक स्थानमा जति ग्रह रहन्छ जातका त्यतिनै स्त्रीहरू नष्ट हुन्छन् र विवाहको समयमा पनि समस्या उत्पन्न हुने गर्दछ भने बुढेशकालमा पनि विवाहको अवसर प्राप्त हुन्छ । सूर्यमाथि सप्तममा पापग्रहको दृष्टि छ या वक्रि छ भने पहिले पतिले त्याग्नेछ अथवा सम्बन्ध विच्छेद हुनेछ । त्यसमा बृहस्पति या शुक्रको दृष्टि पुगेमा पुनः विवाह हुन्छ । लग्नबाट गोचरमा वृहस्पति जब १,५,९,११ स्थानमा आइपुग्छन तव विवाहको अवस्था आइपुग्छ । सप्तमेश था द्वितीयेशको अन्तरदशामा विवाहको योग बन्दछ, चन्द्र या शुक्रबाट सप्तम घरको मालिकको दशामा जब शुक्रको अन्तरदशा आउँछ तब विवाहको अवसर प्राप्त हुन्छ ।
हामी सप्तम स्थानबाट मृत्यु पनि हेर्ने गर्दछौं। मारक ग्रहको दशामा मृत्यु हुने गर्दछ अथवा हामी यसरी बुझौंकी लग्नेशको महादशामा द्वितीयेश या सप्तमेशको अन्तर, सप्तमेशको महादशामा अष्टमेशको अन्तरदशामा मृत्यु हुने गर्दछ । सातौं सूर्य, दशौं शनि र चौथोमा मंगल भए शस्त्र, अग्नी अथवा राजाद्वारा मरण हुन्छ। सातौं मंगल, लग्नमा शनि- चन्द्र भए मेशिनद्वारा मरण हुन्छ । सूर्य, शनि र राहु सातौंमा भए सर्पद्वारा भय हुन्छ । सातौं राहु, आठौं शनि र छैठौंमा मंगल भए दुलही नाश गर्ने हुन्छ । सप्तम मंगल, त्यसमाथि शनि, सूर्य या राहुको पूर्ण दृष्टि छ भने विवाहको छोटो समयमा नै उसको प्रेमी या लोग्नेको मृत्यु हुन्छ । सप्तम भाव पापग्रह युक्त वा दृष्ट छ भने निचो ग्रहले पूर्ण दृष्टि राखेको छ भने उसको विवाहमा अनेकौ समस्याहरू उत्पन्न हुने गर्दछ । प्रायगरी अन्तरजातिय विवाह हुन्छ र आफूभन्दा निकै कम उमेरकासँग विवाह हुन्छ । बृहस्पति र र शुक्र चर्तुथेशको साथमा सप्तममा भए नपुंशक योग लाग्दछ । शनि सातौं भएर त्यसमाथि पापग्रह युक्त, सूर्यको पूर्ण दृष्टि परेमा पनि व्यक्ति नपुंशक बन्दछ । सूर्य -शनि र षष्ठेष छैठौंमा स्थित होस्, सप्तम चन्द्रमाथि बुधको पूर्ण दृष्टि भएमा पनि उसको स्त्री गर्भवती हुने सम्भावना कम रहन्छ । सप्तम् मंगल भएर, पापग्रहले युक्त या दृष्ट चन्द्रमा लग्नमा भएमा आमालाई कष्ट गर्दछ । सप्तम मंगलमाथि निचो शनि या बृहस्पतिको पूर्ण -दृष्टि भएमा जातक पागल बन्दछ । लग्न या सातौंमा सूर्यादी सबैग्रह भएमा शकट योग बन्दछ। शकट योगमा जन्मेको व्यक्ति गाडी अथवा गाडीबाट आफ्नो जीवन निर्वाह गर्दछ ।
फलेवास नगरपालिका-४, मुडिकुवा पर्वत ।