२०६५ जेठ १५ गते बसेको प्रतिनिधी सभाको बैठकले राती ११:२५ बजे संविधान सभाको जेष्ठ सदस्यको नाताले सभाको पहिलो बैठकको अध्यक्षता गर्दै कुलबहादुर गुरुङले सरकारको प्रस्तावमा भएको मतदानको परिणाम सुनाएका थिए । यसरी नेपालमा गणतन्त्रको घोषणा भएको थियो । साथै नेपालमा राजतन्त्रको अन्त्य भएको तथा राजा ज्ञानेन्द्रलाई १५ दिन भित्र नारायणहिटी दरवार छोड्न पनि भनिएको थियो । यसरी दरवार छोड्न आग्रह गरिए पछि राजा ज्ञानेन्द्रले सहस्र स्विकार गरेर २०६५ जेठ २९ गते नारायणहिटी दरवार छोड्ने घोषणा गरेका थिए । राजदरवार छोडे पनि देश छोडेर जाने सोच नबनाएको घोषणा पनि वहाँले सम्बोधनकै क्रममा गरेका थिए ।
यसरी देशमा २३९ वर्ष लामो राजतन्त्रको अन्त्यको घोषणा भइसकेको तथा जेठ १५ मा नै १५ दिन भित्र राजदरवार खाली गर्न गरिएको अनुरोधलाई स्विकार गर्दै राजाले २०६५ जेठ २९ गते साँझ ५ बजे नारायणहिटी दरवारमा पत्रकारलाई जानकारी गराएका थिए । सो सम्बोधनको क्रममा राजाले, “मैले देश छोडेर जाने सोच बनाएको छैन। म मातृभूमिमै बसी मुलुकको वृहत्तर हित र शान्तिका लागि योगदान पु-याउन चाहन्छु। यसको लागि सबैको सहयोग हुनेनैं छ भन्ने आशा लिएको छु ।” भनेका थिए । साथै नियतीले अचानक दाजुको परिवारमा परेको बज्रपातले आफू राजा भए पछि पदीय दायित्वले ब्यक्त गर्न नपाएको भन्दै राजाको पदबाट मुक्त भइसकेको हुँदा भन्न चाहेको भन्दै भनेका थिए, “मैले हिजो पदीय दायित्वका कारण व्यक्त गर्न नसकेको तर मेरो अन्तरआत्मामा गुज्रिरहेको केही कुरा इश्वरलाई साक्षी राखी आज म पत्रकार मित्रहरू मार्फत नेपाली दाजुभाइ, दिदीबहिनी एवं अन्तर्राष्ट्रिय समुदाय समक्ष राख्न चाहन्छु। नियति नै भन्नुपर्ला म एउटा अबोध बालक छँदा मेरो शिरमा पहिर्याइएको श्रीपेच चुपचाप थाप्ने बाध्यता बाहेक मेरो न चाहना थियो, न त इच्छा, न त कुनै भूमिकाको गुञ्जायश नै थियो । त्यस्तै ०५८ साल जेठ १९ गते राति दोस्रोपटक फेरि एउटा अकल्पनीय त्रासदीपूर्ण घटना राजदरबारमा घट्दा मेरो पूजनीय दाजु भाउज्यू लगायत आफ्ना आत्मीय परिवारको वीभत्स विनाश भएको र ती प्रिय आदरणीय परिवारजनका शवमा आँसु बगाएर मन हलुका पार्ने मौका समेत पाउन नसक्ने परम्परा र कर्तव्यको जञ्जीरमा बाँधिन विवश मेरो अन्तरवेदना शब्दमा व्यक्त गर्न सक्दिन । यसै अवस्था र घटनालाई लिएर केही र कतिले अत्यन्त निर्विवेक र निर्दयतापूर्वक म र मेरो परिवारमाथि लगाएका कठोर आरोप र लाञ्छनालाई हामीले सहनुबाहेक न कुनै उपाय नै थियो, न त हाम्रो तर्फबाट बोलिदिने नै कोही थिए। तत्कालीन परिस्थिति र घटनाबाट फाइदा उठाउन म र मेरो परिवारप्रति पूर्वाग्रही भई विभिन्न माध्यमबाट म र मेरो परिवारलाई बदनाम गर्ने काम निरन्तर रूपमा भइरह्यो, जुन मेरो लागि अति दुःखदायी थियो र छ पनि। दरबारमा घटेको घटनामा परी घाइते भएका राजपरिवारका अन्य जीवित सदस्यहरू अझै पनि जीवितै छन्। उनीहरू त्यसका प्रत्यक्ष साक्षी पनि हुन्। सोही घटनामा घाइते भई बाँचेकी मेरी श्रीमतीको शरीरमा प्रँविधिक कारणले निकाल्न नसकिएका गोलीका टुक्राहरू अझै रहेका छन् । यस सम्बन्धमा उपचारमा संलग्न चिकित्सकहरूबाट सत्यतथ्य पनि बाहिर आएकै थियो । उच्चस्तरीय छानबिन आयोगले घटनाबारे सत्यतथ्य जनसमक्ष ल्याएकै हो । समस्त नेपाली जनता र राजसंस्था शोकविह्वल रहेको अवस्थामा यस्तो प्रकारसँग आक्षेप लगाउनु मानवीय समवेदनासँग मेल नखाने तथा राजसंस्था प्रति नेपाली सामु रहेको सद्भावलाई बिगार्ने र मात्र दुर्भावना फैलाउने रणनीति रहेको देखिन्छ।” यसको साथै राजाले आफूले बिदेशमा कुनै चलअचल सम्पति जम्मा नगरेको पनि जानकारी गराए । तथा “परम्परागत रूपमा शाहवंशीय राजाहरूबाट प्रयोग भई शाहवंशको विरासतको रूपमा रहेको श्रीपेच र राजदण्ड चिरकाल पर्यन्त सुरक्षित रूपमा राख्ने गरी संरक्षणका लागि आजकै मितिमा नेपाल सरकारको जिम्मामा रहनेगरी मैले हस्तान्तरण गरेको छु।” भन्दै राजतन्त्रको चिनो पनि देशलाई हस्तान्तरण गरेको घोषणा गरेका थिए ।
यसरी राजाबाट दरवार छोड्ने घोषणा गरे पछि नारायणहिटी दरवारको चारै ढोका बाहिर सर्वसाधारण जनता तथा गणतन्त्रका हिमायतीहरु राजाको बहिर्गमनको प्रतिक्षा गरेर बसेका थिए । साथै प्रहरीले पनि बलियो सुरक्षा दिएर राखेका थिए ।
यता राजा नारायणहिटीबाट बहिर्गमन पछि आउन लागेको आफ्नै भवन निर्मल निवासमा पनि सम्पूर्ण तैयारी गरिसकेको थियो । राजाको आगमनमा त्यहा पनि प्रतिक्षामा दरवारका आफन्तहरु प्रतिक्षारत थिए । केही पत्रकारहरु राजाको आफ्नो निजी निवास हेर्न पुगेका थिए । राजाको शयनकक्ष तथा टेबल कुर्चीको अवस्था हेर्दा कुनै राजर्षी ठाँटवाटको अनुभुती हुदैनथ्यो ।
अन्तत निकै ढिलो गरि राती ८:४५ बजे बा १ च ५६२४ नं. को कालो मर्सिडिज कारमा राजा तथा रानीको बहिर्गमन नारायणहिटीबाट भयो । सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा सेनाले सुरक्षाका साथ बाहिरिएका राजाको सामानको रुपमा एउटा गाडीमा केही झोलाहरु देखिएको थियो ।
बहिर्गमनको समय राजा ज्ञानेन्द्र तथा रानी कोमलको अनुहारमा कुनै पनि किसिमको अफसोस थिएन । खुशीले निस्केका थिए । राजनिती गर्ने नेता तथा उनका आसेपासेले राजा प्रति जस्तो किसिमको लाञ्छना लगाएको भए तापनि दरवारबाट बहिर्गमन हुँदा अनुहारमा कुनै पनि अफसोस वा चिन्ता वा ग्लानी देखिदैनथ्यो । जे भयो जनताको चाहनाले भयो भन्दै सम्पूर्ण अवस्थालाई सहस्र स्विकार गरेका थिए । तर केही गणतन्त्रका हिमायती बाहेक अन्य जनताको मनमा भने पीडाको अनुभुति भएको थियो ।
आखिर ६२-६३ को आन्दोलनको मर्म तथा उद्धेश्य के यहि नै थियो त । जनताले राजतन्त्र हटाउनको लागी नै नारा जुलुस र आन्दोलन गरेका थिए त । प्रश्न गम्भीर छ । यसको जवाफ खोज्यौ भने केही का सहमतीका जवाफ आउलान् तर अधिकांशका जवाफमा नकारात्मक नै हुनेछ ।
नारायणहिटी दरवारलाई संग्रहालय बनाइए पछि राजाका शयनकक्ष तथा अन्य कक्षहरुको भ्रमण गर्दा आमजनताको धारणा केही बदलियो । राजा पनि हामी जस्तै साधारण जीवन नै जिउने रहेछ ।