१३ मंसिर २०७९, मंगलबार

लोककवि हलधरलाई सम्मान !

सामाजिक सञ्जालामा चर्चित भारतीय लोककवि हलधर नागको बारेमा विभिन्न टिकाटिप्पणीहरु आइरहेका छन् । उनले अहिले पाएको भनिएको पद्मश्री पुरस्कार जो साँचो होइन । उनले यो पुरस्कार २०१६ मा नै प्राप्त गरेका हुन् ।

तीनजोर लुगा, एकजोर भाँच्चिएका रबरका चप्पल, एउटा अत्यन्तै थोत्रो चस्मा र ७३२ रुपैयाँ पुँजीका मालिकलाई भारतको ठुलो सम्मान पद्मश्री पुरस्कार प्रदान गरियो !

सादा लुगा, सेतो धोती, गम्छा र बनियान लगाएका, कुनै सञ्चार माध्यमले फेला नपारेका यी हुन् भारतीय लोककवि हलधर नाग।

तीन कक्षासम्म पनि नपढेका हलधरमाथि पाँच शोधार्थीहरुले PHD गरेका छन्। केबल किताबबाट लिएको शिक्षालाई मात्र शिक्षा भन्न मिल्दैन। यो त यौटा यस्तो शैली हो, जसलाई मानिसले आफ्नो प्रतिभाद्वारा तिखारेर प्रमाणित गर्दछ।

लोककवि हलधर नाग उडिसाका हुन्। उनी कोसली भाषाका प्रसिद्ध कवि हुन्। उनले रचना गरेका सयकडौं कविताहरु र बिसौं महाकाव्यहरु उनलाई कण्ठै छ।

संभलपुर विश्वविद्यालयमा उनको रचनाको एक संकलन ‘हलधर ग्रन्थावली-२’ लाई पाठ्यक्रम बनाइने भएको छ। सादा पहिरन, सेतो धोती र गन्जी लगाउने यिनी प्रायः नाङ्गो गोडामा रहन्छन्।

हलधर नागको जन्म १९५० मा बारगढ जिल्लाको एक गाउँले गरीब परिवारमा भयो। केबल तीन कक्षा मात्र शिक्षा लिन पाएका यिनले आफ्नो पिताको मृत्युपछि पढाई छोड्नु परेको थियो। त्योबेला उनी दश बर्षका थिए।

पिताको देहावसानपछि उनको आर्थिक अवस्था बिग्रँदै गयो। उनले परिवारको जिम्मेदारी आफ्नो काँधमा लिएर सानै उमेरमा एक मिठाई दुकानमा भाँडा माझ्ने काम गर्नुपर्‍यो।

करीब दुई वर्षपछि उनले स्थानीय उच्च विद्यालयमा १६ वर्षसम्म भान्सेको काम गरे। पछि उनको भेट एक बैंकरसँग भयो। उसँग रु. १,०००।- ऋण लिएर एक सानो दूकान खोलेर स्कूले केटाकेटीको खानेकुरा बेच्दथे।

त्यसैबेला नागले १९९० मा आफ्नो पहिलो कविता ‘धोडो बरगच’ ( द ओल्ड बनयान ट्री) लेखेका थिए। त्यो कविता स्थानीय पत्रिकामा प्रकाशनको लागि पठाए। रचना प्रकाशित हुन थालेपछि अरु उत्साह मिल्यो।

उनले आस-पासका गाउँहरुमा गई कविता सुनाउन थाले। जसबाट सकारात्मक प्रतिक्रिया मिल्दै गयो। उडीसामा लोक कवि रत्नको नामले बिख्यात हलधर नागका कविताहरु धेरैजसो प्रकृति, समाज, पौराणिक कथा र धर्ममा आधारित हुन्छन्। उनी लेखनको माध्यमले सामाजिक सुधारलाई जोड दिन्छन्।

नाग भन्छन् – “मेरो विचारमा कविता वास्तविक जीवनसँग मेल खाने र त्यसमा समाजिक सन्देश हुनु आवश्यक छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *