१२ मंसिर २०७९, सोमवार

श्रावणमा ब्रत र शिवलिङ्गको अर्थ !

बबिता बस्नेत
‘साउन महिनाभरि माछामासु नखाउँ भनेर…’, ‘अरुबेला मुख छाडिन्छ, साउनको बहानामा मुख बारुँ भनेर..’, ‘साउनभरि त नखाने…’, श्रावण महिना लागेपछि आफन्त र साथीभाइले यस्तो भन्ने गरेको धेरैले सुन्नुभएको होला । अरुबेला बार्नुनपर्ने साउनमै किन त ? कतिले थाहा पाएर र कतिले थाहै नपाइ साउन महिना बार्ने गरेका छन् । कतिले चाहिँ साउन बार्नेहरूलाई परम्परावादी भन्दै खिसीट्युरी पनि गर्ने गरेका छन् । साउनको सोमबारलाई विशेष महत्वका साथ लिएर ब्रत बस्ने गरिएको छ । साउनको सोमबार नै किन त ? यसका बारेमा खासै चर्चा नभए पनि साउनको सोमबार गरिने शिवलिङ्गको पूजाको भने आलोचनात्मक चर्चा गर्ने गरिएको छ ।
श्रावण महिनालाई भगवान् शिवको महिनाको रूपमा मानिन्छ । शिवका धेरै नाममध्ये एक सोम हो । सोमको अर्थ हुन्छ आफैंमा मदहोस हुनु, हराउनु । श्रावणमा सूर्य दक्षिणायनमा जाने हुँदा प्रकृतिमा यसको बेग्लै महत्व छ । मानवजीवन र प्रकृतिबीच गहिरो सम्बन्ध छ । मानिसको शरीर पञ्चतत्वले बनेको हुन्छ भन्ने हाम्रो शास्त्रीय मान्यता छ, जल, वायु, पृथ्वी, अग्नी र आकाश । यसको अर्थ सारा ब्रह्माण्ड हाम्रो शरीरभित्रै छ । हाम्रो शरीरमा पानी ७२ प्रतिशत, पृथ्वी १२ प्रतिशत, वायु ६ प्रतिशत, अग्नी ४ प्रतिशत र बाँकी अकाश अर्थात् मष्तिष्कले भरिएको हुन्छ भनिन्छ । यी पाँच तत्वको सन्तुलन नै मानिसको शरीर हो । शरीर, मष्तिष्क, मन, भावना र उर्जा फरक कुरा हुन्, मष्तिष्कले यी सबैलाई निर्देश गरिरहेको हुन्छ । स्वस्थ शरीरका लागि जीवनशैली महत्वपूर्ण कुरा हो । हामी के खान्छौँ मात्र होइन हामी के सोच्छौँ भन्ने कुराले पनि ठुलो अर्थ राख्छ । साउन महिना यही जीवनशैलीसँग सम्बन्धित छ ।

खासमा भगवान् र दानवलाई जसरी ब्याख्या गरिएको छ यी दुवै मानिसभित्रै छन् । मानिस आफ्नो शत्रु र मित्र उ आफैं हो । भगवान् र दानव दुवैको चरित्र मानिसभित्र हुन्छ, कुन चरित्रलाई घटाउने र कुनलाई बढाउने भन्ने पनि मानिसमै निहित छ ।
साउनमा ब्रत बस्ने, शाकाहारी खाना खाने कुरालाई महत्व दिइएको छ । लामो समय पेट खाली राख्नु नै ब्रत बस्नु हो । हाम्रो हिन्दु धर्म, संस्कृतिमा ब्रतको महिमा ठुलो छ । विभिन्न अवसरमा ब्रत बस्ने गरिएको छ । धर्म-संस्कृतिसँग जोडिएका ब्रतलाई हामीले महत्व दिन छाड्दै गर्दा र ब्रत बसे पनि भन्न अप्ठ्यारो मान्दै गर्दा पछिल्ला दिनमा विदेशीहरूले अभ्यासमा ल्याएको ‘१६ घण्टे फास्टिङ’को भने हामी ठुलो प्रशंसक र अभ्यासकर्ता भएका छौँ । हामीमध्ये कतिले बडो गर्वका साथ ‘म त अहिले त्यो सिक्स्टीन आवर फास्टिङमा छु’ भन्छौँ । शब्द त्यही हो, अर्थ उही हो, ‘फास्टिङ’ भन्दा हामीलाई सभ्य र आधुनिक लाग्छ, ब्रतभन्दा पुरातन र धार्मिक । त्यसैले ब्रत बसेको छु भन्नु भन्दा म त फास्टिङमा भन्न हामीलाई सहज लाग्छ । अहिले पश्चिमाहरूले ल्याएको फास्टिङ हाम्रो त शिव-पार्वतीकालमै थियो । पार्वतीले ब्रत बसेर शिवजीलाई प्राप्त गरेकी थिइन् । पार्वती ब्रत बसेर स्लिम फिट भइ आकर्षक भएकी थिइन् भन्न पनि मिल्छ होला । यसको अर्थ स्लिम फिट हुनेहरू मात्रै आकर्षक हुन्छन् भन्नेचाहिँ होइन । अहिले १६ घण्टे फास्टिङ पनि मानिसहरूले प्रायः स्लिम फिट हुनकै लागि गरेको देखिन्छ । यस्तो फास्टिङ गर्नेमा महिला पुरुष, अन्य लिङ्गी सबै छन् । मानिस आफूले आफैलाई स्वनियममा बाँध्नका लागि ब्रतको अवधारणा आएको हो भनी बुझ्न गाह्रो पर्दैन ।
साउन महिना ब्रत बस्ने या शाकाहारी खाएर आफ्नो शरीरलाई सहज बनाउने मात्र नभइ ध्यान गरेर आफूलाई शान्त राख्ने महिना पनि हो । अल्पहार, ब्रत, ध्यान जस्ता कुरा भगवानका नाममा गरिए पनि यी मान्छेका लागि राम्रो हुने कुरा हुन् । तिम्रा लागि राम्रो हुन्छ भन्दा कसैले गर्नेवाला थिएन त्यसैले ब्रत बस्दा भगवान् खुशी हुन्छन् भनियो । आफू के कुराले खुशी हुन्छु भन्ने भन्दा मानिसलाई भगवान् के गर्दा खुशी हुन्छन् ? भन्ने ध्याउन्न बढी हुने हुँदा भगवान्लाई खुशी पार्नकै लागि भए पनि मानिसहरू स्वनियममा बस्ने गरेको देखिन्छ । खासमा भगवान् र दानवलाई जसरी ब्याख्या गरिएको छ यी दुवै मानिसभित्रै छन् । मानिस आफ्नो शत्रु र मित्र उ आफैं हो । भगवान् र दानव दुवैको चरित्र मानिसभित्र हुन्छ, कुन चरित्रलाई घटाउने र कुनलाई बढाउने भन्ने पनि मानिसमै निहित छ । आफूले आफैलाई चिन्ने प्रक्रिया ‘ध्यान’का प्रवर्तक भगवान शिवलाई मानिन्छ । साउन महिना बार्नुको अर्थ तामसी भोजनबाट मुक्त भइ ध्यानमार्फत आफूले शून्यको अनुभूति गर्नु हो ।
आफ्नो सोच र मनोभाव या भावनालाई वशमा राख्न सक्ने केही छ भने त्यो ध्यान नै हो । शिव भगवान्का अनेक महिमा बाहिर आए पनि योग र ध्यानको यो महत्वपूर्ण पक्षलाई हामीकहाँ धेरै चर्चा गर्ने गरिएको छैन । श्रावणमा शिवको पूजा आराधनासँगै शिवलिङ्गको पनि चर्चा गर्ने गरिएको छ । कतिले शिवलिङ्गलाई पुरुषको निजी अङ्गसँग तुलना गरेर हिन्दु धर्म-संस्कृतिको मजाक पनि उडाउने गरेका छन् । संस्कृतमा लिङ्गको अर्थ प्रतीक हुन्छ । स्त्रीलिङ्ग महिलाको गोप्य अङ्ग नभइ महिलाको प्रतीक हो र पुलिङ्ग पुरुषको प्रतीक । शिवलिङ्गको अर्थ शिवको प्रतीक, श्रृष्टिकर्ताको प्रतीक जसको कुनै अन्त्य हुँदैन अर्थात् अनन्त ! श्रृष्टि अन्त्यको परिकल्पना गरिएको छैन, यो अनन्त छ । शिवलिङ्गको पूजाको अर्थ प्रकृतिको पूजा हो, अनन्तकालसम्म रहने श्रृष्टिको पूजा हो ।

कतिले शिवलिङ्गलाई पुरुषको निजी अङ्गसँग तुलना गरेर हिन्दु धर्म-संस्कृतिको मजाक पनि उडाउने गरेका छन् । संस्कृतमा लिङ्गको अर्थ प्रतीक हुन्छ । स्त्रीलिङ्ग महिलाको गोप्य अङ्ग नभइ महिलाको प्रतीक हो र पुलिङ्ग पुरुषको प्रतीक । शिवलिङ्गको अर्थ शिवको प्रतीक, श्रृष्टिकर्ताको प्रतीक जसको कुनै अन्त्य हुँदैन अर्थात् अनन्त !


मानिस पदले शक्तिशाली हुने होइन, सोचले शक्तिशाली हुने हो । तपाईं मनभित्रबाट डर-त्रासमुक्त हुनुहुन्न भने वरिपरि बन्दुक बोकेका सुरक्षाकर्मीले केही गर्न सक्दैनन् । आफूभित्र शान्ति र आत्मविश्वास बढाउने एक मात्र माध्यम ध्यान नै हो । शान्ति जीवनको अन्तिम लक्ष्य होइन, आधारभूत कुरा हुनुपर्छ भनेर सद्गुरुले बारम्बार भनेको सुनिन्छ । यो आधारभूत कुराको खोजीको सुरुवात महादेवबाट भएको हो । शिवकथामा पार्वतीले जे माग्यो त्यही बरदान शिवजीले दिएको, तर ध्यानचाहिँ तिमी आफैँ गर भनिएको उल्लेख छ । ध्यान अरूले गरिदिएर हुने भए जिन्दगी बुझेका कति मानिसले वरिपरिका मानिसलाई आफूजस्तै बनाउने थिए होलान्, तर यो सम्भव छैन ।
हिन्दूधर्ममा देवीदेवताको कुनै कमी छैन, ३३ कोटी छन् । जन्म र मृत्युबीचका संस्कारहरूमा पूजा गरिने देवीदेवताको सूची लामो छ । हिन्दूधर्म धर्म मात्र नभएर संस्कृति पनि हो । हिन्दूधर्ममा पुजिने हरेक देवीदेवताका आ-आफ्ना गुण र विशेषता छन् । त्यसमध्ये देवका पनि देव मानिने महादेव शिव विशेष हुन् । साउनको महिना शिवलिङ्गको पूजा गर्ने अर्थात श्रृष्टि, प्रकृतिको पूजा गर्ने र आफूभित्रको संसारलाई चिन्ने महिना हो । शिव शून्यका प्रतीक हुन् । जीवन शून्यबाट सुरु भएर शून्यमा अन्त्य हुन्छ । बीचका अनेक तामझाम सीमित समयका लागि हुन् । जीवनको यो सत्यलाई स्वीकार गर्दै श्रावणलाई सेलिब्रेट गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *