स्वस्थानी रिजाल
म पनि सुतें उनीपनि सुतिन्
म छट्पटिएं ,
दुई घडीको अन्तर थियो सायद
उनी निद्रादेवीको काखमा निश्चिंत लुटपुटिईन्
दिनभरीको गिट्टी कुटाई
एक गिलास घरपालुवाको भर,
न सरकार को कर नत लोग्ने कै डर।
“म” रातभरी योजना वनाउँछु
दिनभरी सुत्छु,
उनी रातभरी सुत्छिन्
एकाविहानै काम शुरू गर्छिन्,
म सिस्नुको धुलो किन्ने गर्छु ग्रोसरीवाट,
उनी सिस्नुका ताजा मुन्टा टिप्छिन्
जंगलको नर्सरीबाट,
म अनुगमन गर्दै पुगें उनीकहाँ
गिट्टीका स-साना थुप्रा वालुवाका स- साना रास्,
जग्गा र घर जोड्ने नियत थिएन उनको,
स-साना बाबु नानीको ड्रेस किन्ने र स्कूल फि तिर्ने आश
भन्दैथिईन् “ कहिले पुलिसको डर, कहिले ठेकेदारको भर
कहिले लोकल गुन्डाको कर”
“खै हजुर ज्यान जोखिममा हालेर कति बाँच्नु !”
“मर्न नसकिने केटाकेटी साना छन्,
बुढालाई टि. वि. लागेको छ,
जांच्ने अस्पतालमा पैसा मागेको छ।”
“तपाई काम रोक्नुहुन्छ,
नरोकौं जरिवाना ठोक्नुहुन्छ,
रातदिन मेसिनवाट उठाउनेलाई रोकटोक छैन ?
हातले खोस्रेर खानेलाई ऐन बनेको छ रे ,
ठेकेदारहरू नै नेता भएको मेरो देशमा
धनीलाई मात्र चैन गर्ने छुट भनेको छ रे”
हामी हातले उठाउँछौ, तोकिदिनुस् कर पनि दिन्छौं,
देशलाई बचाउनु परे कुलेलाम ठोक्दैनौं,
अग्र पंक्तिमा उभिन्छौं,
याद राख्नुस् ठेकेदारका सन्तान विदेशमा छन्,
अप्ठेरो परेछ भने विदेशमै कुद्छन्।
हामी त रैथाने, भए खाने नभए जाने,
ठुलाहरू त झन् भएपनि खाने नभए पनि खाने।
……………….
उप प्रमुख कुस्मा नगरपालिका
(मजदुरको कुरामा आधारित)
२०७९ आसाढ २० गते।