२२ साउन २०७९, आइतवार

तुइन – नेपालीहरुको बिबशता

सुनिल उलक

नदी वा खोलाको दुइ किनारमा बलियोसंग लट्ठा वा रुखमा बलियोसंग डोरी कसेर घुर्रो वा घिर्लिङको सहायताले नदी वारपार गर्ने एक प्रकारको पुललाई तुइन भनिन्छ । हेर्दा सस्तो र सजिलो भए पनि यसको सहायताले नदी तर्नु नेपालीहरुको बिवशता हो । सरकारले पर्याप्त बजेट उपलब्ध गरेर झोलुङ्गे पुलसम्म पनि नबनाइदिँदा स्थानिय जनताले बाध्य भएर स्थानिय श्रोत र साधनले कम खर्चमा तुइन राख्ने गर्दछन् ।

केही दिन अगाडि पश्चिम नेपालमा एक नेपाली भारतीय एसएसबी द्वारा तुइन काटिएको कारण महाकाली नदीमा खसेर मृत्यु भएको समाचारले प्राथमिकता पायो । तर ब्याँस गाँउपालिकाको बाध्यताका कथाहरु भने कतै लेखिएन । आफ्नै देशमा बसेर आफ्नो गाउँबाट सदरमुकाम आउन महाकाली नदी तरेर भारतीय बाटो प्रयोग गरेर झुलाघाटबाट फेरी नेपाल प्रवेश गरेर सदरमुकाम पुग्नु पर्ने बाध्यता छ । साथै अर्को समस्या मालघाटबाट अनधिकृत रुपमा भारत प्रवेश गर्न भारतीय एसएसवीले दिदैन । जसले गर्दा त्यहाँका जनता अस्थाइ तुइन राख्ने गर्दथे । नेपाली भूभागमा पक्की रुपले तुइनको एक छेउ बाँधिएको भए पनि भारतीय सिमामा भने रुखमा बाँधेर राखिन्थ्यो । सिमामा ड्युटीमा रहेका एसएसवीले यसरी बाँधिएका तुइन काट्ने गर्दथे । तर त्यस दिनको दुखद घटनाले तुइन तर्दै गरेका जयसिंह धामी महाकालीमा बेपत्ता भए ।

वर्षेनी तुइन चुडिँदा तथा तुइनबाट खसेर सयौको मृत्यु हुने गर्दछ । कतिपय स्थानमा साना साना भाइबहिनीहरु साँझबिहान नै तुइनको यात्रामा बिद्यालय जीवन बिताउन बाध्य छन् । तुइन पुलको बिकल्प हो तर पूर्णरुपमा असुरक्षित भने होइन । तर हाम्रो देशमा पर्याप्त सुरक्षाको मापदण्ड पालना नगर्ने, तुइनका लट्टा कमजोर हुने, डोरी खिइएर कमजोर हुने र कहिलेकाँही क्षमता भन्दा बढीले यात्रा गरिदिँदा पनि तुइन चुँडिएर नदीमा खसेर ज्यान गुमाउनुपर्ने हुन्छ ।

ओली सरकारको समय नेपालबाट तुइन बिस्थापन गर्ने अभियानको शुरुवात भएको थियो । तर यो कागजमा मात्र सिमित रहन पुग्यो । देशभर करिव २०० तुइन रहेको जिकिर गरिए पनि वास्तविक संख्या यो भन्दा धेरै नै हुनुपर्छ । करिव ६ लाख रुपैयाको लागतमा एउटा पक्की तुइन बनाउन सकिन्छ । सरकारले तुइन मुक्त देश बनाउने घोषणा गर्नु भन्दा कमजोर र अस्थाइ तुइनहरु रहेको स्थानमा पक्की र बलिया तुइन बनाउन तर्फ लागेको भए पनि अनाहकमा ज्यान गुमाउनेको संख्या न्यून हुने थियो । तर सरकारले आफ्ना योजनालाई प्राथमिकता दिन “तुइन प्रतिस्थापन कार्यविधि २०७३” ले नयाँ तुइन निर्माणमा नै रोक लगायो । सरकारले न त देशभर रहेका तुइन बिस्थापन गर्न सक्षम भयो । न त कमजोर तुइन भएको स्थानमा नयाँ तुइन निर्माण गर्न नै दियो ।

यहाँ राखिएको तस्विर आजभन्दा ५० वर्ष अगाडिको हो । बझाङ चैनपुरको यो तस्विरमा एक युवा तुइनको सहायताले सेती नदी तर्दै गरेको देख्न सकिन्छ । त्यतिबेलाका तुइनहरु अझै असुरक्षित हुने गर्दथे । यहाँ नदीको दुइ किनारमा बलिया चारवटा डोरीलाई एकसाथ बाँधेर मोटो बनाइएको छ । त्यसमा V आकारको काठ राखेर त्यसको दुइ किनारमा अर्को डोरी बाँधिएको छ । यहिँ डोरीमा शरिरलाई अल्झाएर आफ्नै हातको सहायताले अगाडि बढ्नु पर्दछ । निकै कठिन लाग्दछ हेर्दा पनि । उर्लदो सेतीको बेग तल सुनिन्छ भने गलेका हातहरुले पनि बिश्राम लिन नपाउने बाध्यता छ । आँखा अगाडि मृत्युको आभास बोक्दै यात्रा गर्नुपर्दछ । नदी किनारमा तुइनको प्रतिक्षामा बसेकाहरु देख्न सकिन्छ । नजिकै एक बृद्ध असहज यो यात्रालाई नियालिरहेका छन् ।

Leave a Reply

Your email address will not be published.