आर के अदिप्त गिरि
यदि कुनै नदी बग्दैछ भने
त्यसमा आँटको डल्ला लुकाउन चाहन्छु
रोडा फ्याँक्नु चाहान्छु, खुट्टा डुबाउन चाहन्छु
नुहाउन चहान्छु, पौडन चाहान्छु, तैरिन चाहन्छु
अंजुलीमा भरेर पिउन चाहन्छु
यदि कुनै दुधको नदी बग्दैछ भने
त्यसलाई कालो आँखीभौले धेरै बेर ठम्याउन चाहन्छु
पिउन पनि चाहन्छु केही घुट त्यसबाट
तर त्यसले कुल्ला गर्न चाहन्न
अनि खुट्टा झन् कदापि डुबाउन चाहन्न
यदि कुनै पसिनाको नदी बग्दैछ भने
त्यसमा केही फुल बहाइदिन चाहन्छु
भिजाउन चाहन्छु आफ्नो जिउको लुगा
त्यसमा आफ्नो पसिना पनि मिलाउन चाहन्छु
अनि सुकाउन चाहन्छु त्यस नदीलाई
पंखले हम्किएर।
यदि कुनै आँसुको नदी बग्दैछ भने
त्यसलाई हेरेर रोइदिन चाहन्छु
छेउ समाएर त्यस आँखासम्म पुग्न चाहन्छु
एउटा रुमाल बोकेर
त्यसको नुनिलोपनलाई समेटेर नुनको टुक्रा बनाउन चाहन्छु
अनि ती टुक्क्राहरूलाई एक एक गरि आगोमा हाल्न चाहन्छु ।