२२ साउन २०७९, आइतवार

पोखराको महेन्द्र पुलको इतिहास !

पोखराको कोठे साँघु (हाल महेन्द्रपुल)

उहिले देखी नै पोखरा वारी र पारी भन्ने गरिन्थ्यो । हामीले वारी भनेको सेती नदीको पश्चिमको भूभाग थियो भने पारी भनेको सेती नदीको पूर्वी भूभाग थियो । त्यसरी नै सेतीका पूर्व बस्नेले पनि आफूलाई पोखरा वारीका बासिन्दा भन्थे ।

सेती वारीपारी गर्नको लागी प्राकृतिक ढुङ्गे साँघु थियो । पोखराको दक्षिणमा टुटुङ्गा निर रहेको ढुङ्गेसाँघुको इतिहास भने जङ्गबहादुरका जिजुबाजे अहिराम (कतै कतै असिराम) कुँवरसंग गाँसिएको छ । कास्कीका अन्तिम राजा सिद्धीनारायण शाहको शासनकालमा कास्कीका राजाका भारदारी रहेका अहिरामको बिर्ता यहि ढुङ्गेसाँघु थियो । अहिरामले कास्की त्यागेको तीनसय वर्ष पछि पनि पोखरामा रहेका राणा बाबुसाहेवहरुले हैकम देखाउँदै २०१४-१५ सालसम्म पनि त्यहिका किसानले रोपेको धान काट्न पुग्दथे ।

सेती तर्ने अर्को साँघु चोरसाँघु थियो । घारीपाटनमा रहेको यो साँघु पोखरामा विमानस्थल शुरु भएपछि निकै चल्तीको रुपमा थियो । विमानस्थलबाट पोखराको बजार क्षेत्र आउन त्यसबेला यहि चोर साँघुबाट सेती पारी जाने र हिडेर रानीपौवाबाट साँघुमुख आँउथे । साँघुमुख आउनको लागि सेती नदीमा साँघु बनाइएको थियो, जसलाई कोठेसाँघु भनिन्थ्यो ।

कोठेसाँघुको इतिहासमा भने बि.सं. १८२० को दशकमा बनाइएको देखिन्छ । कास्कीका अन्तिम राजा सिद्धीनारायण शाहले राज्य बिस्तारको क्रममा पोखराको पूर्वमा रहेको अर्घौ पौवा आक्रमण गर्न सेतीमा साँघु बनाएका थिए, जसलाई कोठेसाँघु भनियो । कोठेसाँघु तरे पछि साँघुको मुखैमा रहेको बजारलाई साँघुमुख भनियो ।

तर कोठे साँघु बन्नु अगाडि पनि सेती नदी तर्नको लागि साँघु बनाइएको थियो । चौधौ शताब्दीको शुरू तिर कास्कीमा घले राज्य हुदा नै लमजुङ तथा अन्य स्थानबाट कास्कीमा आउन जानको लागी सेती नदीमा ठूला ठूला मुढा तेर्स्याएर पुल बनाएका थिए । अहिले लामीछाने गुरुङ भनिने ल्हेमेहरुले बनाएको पुल हुँदा त्यस पुललाई ल्हेमे चाँ भनिन्थ्यो । समय कालसंगै कास्कीमा घले राज्य पछि मगर र मगर पछि पनि शाह राज्य हुनु र घलेहरु लेक तिर नै सिमित हुँदै जानुले पनि गुरुङहरुको बसोबासमा कमी आउन थाल्यो ।

ल्हेमेचाँ भन्ने र बुझ्ने समुदाय बिस्तारै घट्दै जानु र कास्कीका राजाले नयाँ साँघु बनाएर कोठेसाँघु नाम दिन थाले पछि ल्हेमेचाँ भन्ने शब्द पनि हरायो । अहिले ल्हेमेचाँ भनेर थाहा पाउनेहरु पनि भेट्न कठिन भइसकेको छ ।

गुरूङहरूको प्राचीन थलो मंगोल भए पनि तिब्बतको ‘क टु’ हुँदै क्होला सोँथरमा आठौ शताब्दी तिर बसाइँ सरेका थिए । क्होला सोँथर कास्कीमा पर्ने हुदा कास्की नै गुरूङहरुको मूल थलो मान्नुमा अत्युक्ति नहोला ।

गुरुङहरुको धार्मिक ग्रन्थ ‘प्येताँ ल्हुताँ’ मा भएका ऐतिहासिक तथ्यहरू गुरूङ समुदायले बाहिर ल्याएमा धेरै जानकारी प्राप्त हुने थियो ।

२०१७ सालको परिवर्तन पछि पोखरामा अञ्चलाधिसको रूपमा भूदेव राइको आगमन भयो । भूदेव राइ तिनै ब्यक्ती थिए जसलाई राजा महेन्द्रले २०१५ को चुनावमा बि.पि. कोइरालाको बिरूद्ध क्षेत्र नं. ३२ मोरङ दक्षिणमा उठाएका थिए ।

यिनै भूदेव राई पोखरा आए पछि कोठेसाँघु रहेको ठाउँ देखि केही उचाइमा पक्की पुल बनाईयो । जसलाई हाल महेन्द्र पुल भनेर चिनिन्छ । २०२० सालतिर निर्माण थालिएको पुल पनि बिस्थापित भएर हाल अर्को पुल बनिसकेको छ । खरो स्वभाबका भूदेव राइले महेन्द्रपुलको निर्माण कार्यमा सहयोग गर्न कमसेकम एक दिन साँघुमुख, बास्तोलाथर, रानिपौवाका कहलिएका साहु, महाजन तथा सर्वसाधारण जनतालाई पनि ढुङ्गा बालुवा बोक्न लगाएका थिए ।

साघुमुख र रानीपौवामा धेरै कांग्रेस छन् भन्ने थाहा पाएका उनले यहाँका ब्यापारीले पुल बनाउन आर्थिक सहयोग गर्न चाहेका थिए । तर यिनले ब्यापारीसंग पैसा लिएनन् उल्टो ढुङ्गा बालुवा बोक्न लगाए । जनश्रमदानको महत्व सिकाउँदै कजाए ।

उनकै समयमा बास्तोलाथर देखी विमानस्थलसम्म जाने बाटो बनाए । साथै सरकारी कार्यालयहरुको ब्यबस्थापन एउटै ठाउँमा हुनुपर्छ भन्दै पार्दीको जग्गा अधिग्रहण गरेर सरकारी कार्यालयहरु सबै पार्दीमा सार्ने चाँजोपाँजो मिलाए । तर यो कामको शुरुवात भने उनको सरुवा भईसकेपछि शुरु भयो ।

यहाँ राखिएको तस्विर त्यहि कोठेसाँघुको हो जसको अस्तित्व बि.सं. २०२० सालसम्म थियो ।

सुनिल उलाक

Leave a Reply

Your email address will not be published.