२२ साउन २०७९, आइतवार

‘मैले नदेखेका बी.पी.कोइराला सम्झँदा !’

विन्दु ढकाल

सिग्मंड फ्रायडको पुस्तक ‘द इन्टरप्रटेशन अफ ड्रीम’मा भनिएको छ कि–‘हाम्रो अतृप्त इच्छाहरुको प्रतिविम्व नै सपना हो ।’ हो बी.पी.कोइरालाले पनि नेपालीका लागी देखेको सपना सायद यस्तै थियो । अर्थात समाजवाद ।

लेभी स्ट्रसले भनेका छन कि –‘सामाजिक संरचनालाई अनुभवजन्य वास्तविकताका रुपमा लिन सक्नुपर्छ ।’ हो बी.पी.कोइरालामा समाज र अनुभवजन्य वास्तविकतालाई ग्रहण गर्नसक्ने क्षमता थियो । लेभी स्ट्रस जो एक फ्रान्सेली मानवशास्त्री थिए ।

राजनीतिक बन्दीका रुपमा लामो समय निर्वासन र जेल जिवन विताएका बी.पी.कोइरालाको लेखनमा सिग्मडं फ्रायडको प्रभाव झल्किन्छ । बी.पी. कोइरालाले नेपाली समाजका लागी देखेको सपना (हाम्रै मौलिकतामा आधारित)समाजवाद थियो ।
फ्रायड र कोइरालाको लक्ष्य फरक भए पनि परिस्थिति उस्तै उस्तै थियो । हिटलरको अत्याचारका कारण फ्रायड बेलायत निर्वासनमा बस्नु पर्ने अवस्था आएको थियो । यता राणा र राजाहरुको बर्बरताका कारण कोइराला भारत निर्वासनमा बस्नु पर्यो । लक्ष्य फरक फरक र परिवेश अलग भए पनि फ्रायड र कोइराला बीच केही समानता पनि पाएँ मैले । जीवनको उत्तरार्धमा दुवै क्यान्सर पीडित पनि थिए ।

सामाजिक संरचना कुनै भौतिक अस्तित्वको अवस्था नभएर यो त विचारहरुको उत्पादन पो हो त । तर हाम्रो देशमा विभिन्न कारणले सामाजिक संरचना यतिबेला लगभग तगंभगं अवस्थामा पुगेका छन् ।

मेरो पुस्ताले भौतिक रुपमा त देख्न पाएनौं तर सामाजिक संरचनामा उनको विचारलाई हामीले पढ्यौं र आउने पुस्ताले पनि पढ्नेछ ।
रेकर्ड अनुसार नेपालका पहिलो जन निर्वाचित प्रधानमन्त्री भए उनि । मितिका हिसावले आज उनै बी.पी. कोइरालाको स्मृति दिवस हो ।
बी.पी. कोइरालाले अख्तियार गरेको मेलमीलापको नीति हाम्रो समाजको मियों थियो कुनै कालखण्डमा । अहिले मेलमीलापको विषय समाजबाट धेरै पर धकेलिएको महशुस हुन्छ । यति नै बेला फेरी बी.पी.को विचार खड्केको आभास हुन्छ । यसो हुनु अहिलेको समाजको उपज पनि हो ।
बी.पी. कोइरालाले परिकल्पना गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद उनको दिमागी संरचनामा जन्मेका विचार थिए । ति विचारहरुले उनको उच्च कोटिको दिमागी संरचनालाई प्रतिविम्वित गर्छन् ।

अस्तित्ववादी नेता कोइराला भावना शून्य विचारका पक्षपाति भने थिएनन् । कोइरालाका लिखित दस्तावेजलाई केलाउने हो भने यो सहजै बुझ्न सकिन्छ । बाँच्नका लागी दर्शन आवश्यक पर्छ भन्ने मान्यता राख्ने कोइरालाले मर्नका लागी दर्शनको कुनै उपयोगीता नरहने विचार अघि सारेका थिए । त्यही विश्वासका साथ राजनीतिलाई जीवनको अभिन्न पाटोका रुपमा अघि बढाए ।
समाजवादी विचारका एक प्रणेता थिए कोइराला । लामो समय भारतमा निर्वासन जीवन विताएका कोइराला त्यहाँ अँग्रेज विरुद्धको भारत छोडो आन्दोलनमा समेत सक्रिय रहे । त्यही पृष्ठ भूमिले उनलाई प्रजातन्त्र स्थापनका लागी बल पनि मिल्यो । तर उनको समाजवादी उचाइका अगाडी कतिपय भारतीय नेतृत्व इष्र्या पनि गर्दथ्यो ।
नेपालमा चलिरहेको जहानीया राणा शासनका विरुद्ध उनको भूमिका एउटा सुनौलो इतिहांस बनेर दर्ज छ । प्रजातन्त्रको स्थापनाका लागी जन स्तरबाट क्रान्ति आवश्यक भएको ठहर सहित कोइराला अघि बढेका थिए । तर क्रान्ति गर्दा हिंसाको बाटो सजिलो हुने भएपनि कोइराला हिंसाको बाटो अंगालेर क्रान्ति नगर्ने मान्यता अघि सार्दथे ।

मैले वी.पी. कोइरालाले लेखेको कतै पढेको थिएँ –‘राजनीति चारैतीरबाट बन्द हुन्छ, तर कला चारै तर्फ खुल्ला ।’ निर्वासनका दौरान सायद यो अनुभुति आयो होला भन्ने म अनुमान लगाउँछु । भारतमा बस्दा त्यहाँका शासक र राजनीतिज्ञहरुबाट पनि थिचोमिचो सहनु पर्दा उनमा यो विचार आयो होला । त्यसैले उनले जीवनको अर्को बाटो पनि पैलाए । त्यो थियो साहित्य ।
मलाई फेरी कतै पढेको सम्झना आयो कोइराला सानै उमेर देखी पश्चिमा जगतका पुस्तक खुबै रुचिका साथ पढ्ने गर्थे भन्ने कुरा । अध्ययनले नै मानिसको ब्यक्तित्वलाई निखार्छ भनेको साँच्चि कै हो भन्ने कुराको ज्वलन्त उदाहरण पनि हुन कोइराला ।
बी.पी. कोइरालाका साहित्यीक कृतिहरु श्वेत भैरवी,नरेन्द्र दाई,सुम्निमा,तीन घुम्ती,दोषी चस्मा,जेल जर्नल र आत्म कथा चर्चित छन् । तर उनको हिन्दी लघु कथा ‘वहा’ मा गजवको सरलता छ । प्रेम चन्द जो हिन्दुस्तानका चर्चित ब्यक्तित्व हुन,उनकै पत्रिका हंसमा कोइरालाको लघु कथा हिन्दी भाषमा पहिलो पटक प्रकाशित भयो । यता शारदा पत्रिकामा प्रकाशन भएको पहिलो रचना ‘चन्द्रवदन’ थियो ।

एउटा मानिसले उस्को संसारलाई उस्कै दिमागी संरचनाका आधारमा नै बुझ्ने गर्दछ । मैले पनि बी.पी. कोइरालालाई त्यही आधारमा बुझ्ने प्रयास गरें । आशा गरौं उनै कोइरालाले देखेको समाजवादको सपना कुनै दिन अवश्य पुरा हुनेछ ।

Leave a Reply

Your email address will not be published.