प्रज्वल अधिकारी
मलाई लाग्छ-
यो कविता पछि जातीयता बिरुद्ध कविता लेखिने छैन
यहाँ भनिएको मलाई म होइन
यो त कविताले आफैलाई गरेको सम्बोधन हो
सार्कीकामीदमाईनेवारब्राह्मणराईलिम्बुसबैसबै सुद्रबैस्यक्षेत्रीब्राह्मण सबैलाई
यो कविताले एउटै डिको मुनि राखिदिएको छ
र यो डिको समता, सद्भाव र भातृत्वको हो
यो कविता भित्र-
यी जातहरू एकापसमा कहिल्यै लड्ने छैनन्
तपाईंलाई रिस उठ्यो ?
मसँग कि, कविसँग कि यो कवितासँग ?
मसँग हो भने,
तपाईंलाई जात जात लडाएर तमासा हेर्न मात्र मन छ
किनकी तपाईंलाई मेरो जात थाह छ
कविसँग हो भने
कविको कुनै जात नै हुन्न
कवितासँग हो भने बुझ्नु
अक्षरसँगको रिस घातक हुन्छ
यो कवितामा म-
मनोज लुहार र मनोज भण्डारीलाई
एउटै थालमा भात पस्किदिन्छु
प्रज्वल अधिकारीको जनै खोलेर
कृष्ण बिस्वकर्मालाई लगाइदिन्छु
रोशन परियारको आवाजमा मौन आवाज मिसाइदिन्छु
श्रवण मुकारुङ र
नवराज लम्सालको नाक खोलेर साटिदिन्छु
नवीन प्यासिका आँखा झिकेर शरद पोख्रेललाई र
शरद पोख्रेलका आँखा नवीन प्यासिमा लगाइदिन्छु
वीक्रम पवन परियारको रगत र
बाबु त्रिपाठीको रगत घोलेर पुनः नसामा पठाइदिन्छु
तपाईंलाई
यो मन परेन भनेर कसलाई गाली गर्नुहुन्छ ?
मलाई ?
कविलाई कि कवितालाई?
म जसले यो कविता लेखेको नै हैन
किनकि- आम मान्छे कविता लेख्नै जान्दैन
कविलाई हो भने
कविता लेखिसक्नासाथ मरिसकेको कविको
मृत शरीरलाई के सराप्नु
कवितालाई हो भने बुझ्नुस्-
अक्षरमाथीको गाली घातक हुन्छ
र बुझ्नुस्,
यहाँ उल्लेखित नाम
तपाईंले चिनेका नाम होइनन्
यो कविता जात सम्बन्धि भएर पनि
यहाँ, एनजीओ आइएनजीओको चलखेल छैन
माथी उल्लेखित नामथरले
तपाईंलाई पिरोल्यो भने नपिरोलिनुहोस्
यि नाम थरहरू- कविताले आफै लिएर आएका हुन्
यति लामो भुमिका पछि मलाई लाग्छ-
मैले भन्न खोजेको मुल बिषय तपाईहरूले बुझिसक्नुभयो
बुझ्नुभएन भने तपाईंले जानाजान नबुझेको हो
मान्छेले यति सामान्य कुरा
आफै बुझ्छन् भन्ने मेरो बुझाई हो ।